दुई अध्यक्ष मिल्छन् : नेम्वाङ, शक्ति बाँडफाँटको झगडा मात्रै : श्रेष्ठ

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक कलहले यतिबेला कोरोना महामारी र सलह कीराबाट हुने क्षतिलाई नै ओझेलमा पारिदिएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट एकसाथ राजीनामा दिन पार्टीभित्रैबाट दबाब बढेपछि नेकपाभित्रको आन्तरिक राजनीतिले सबैलाई तरगिंत पारेको छ।

यही असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले सरकार र पार्टी सञ्चालनमा असक्षम भएको भन्दै राजीनामाका लागि ओलीमाथि दबाब बढाउँदै लगेका छन्। पछिल्लो समय प्रधानमन्त्रीको कार्यशैलीले पार्टी पङ्क्तिभित्रै असन्तुष्टिको चरम आकार ग्रहण गरिसकेको छ।

अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले यसपटक प्रधानमन्त्री ओलीलाई गलाएरै छाड्ने नीति लिएको देखिन्छ। यसअघि पार्टीको विवाद समाधान गर्न विशेष भूमिका खेल्दै आएका सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भुसालहरू पनि अहिले प्रधानमन्त्रीप्रति सन्तुष्ट देखिएका छैनन्। अमुक व्यक्तिका कारण मन्त्रीहरुले समेत प्रधानमन्त्रीलाई भेट्न नपाउने स्थिति बनेपछि ओलीनिकट नेताहरुले नै उनलाई फराकिलो हुन सुझाएका छन्। 

पार्टी फुट्दैन, ओलीले दुवै पद छोड्नु पर्दैन : नेम्वाङ

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पार्टी एकता भंग हुने र ओलीले पदबाट राजीनामा दिनसम्मको स्थिति नआउने दावी गर्छन्। दुई फरक-फरक पार्टीका अध्यक्षले एकता घोषणा गरेकाले दुबै अध्यक्षले आगामी महाधिवेशनसम्म कुनै पनि अध्यक्षको राजीनामाको प्रसङ्ग ल्याउन नमिल्ने उनको तर्क छ। 

'तत्कालीन नेकपा एमालेले केपी ओलीलाई र माओवादी केन्द्रले प्रचण्डलाई पार्टी अध्यक्ष बनायो, उहाँहरु दुईजना मिलेर पार्टीलाई एकताको प्रकृयामा लैजानुभएको हो, थाहाखबरसँग कुरा गर्दै नेम्वाङले भने, ‘अहिले एकताको प्रकृया टुंगोमा पुगेको छैन, एकताको महाधिवेशन गरेर पार्टीलाई एकताबद्ध गरी अघि बढाउने महत्वपूर्ण घोषणा पनि भइसकेको छ, पार्टी एकताको प्रकृया नटुंगिदै यसबीचमा कोही एक अध्यक्षको राजीनामाको प्रसंग आउँदा त्यसले सिंगो पार्टी एकता प्रकृयालाई क्षति पुर्‍याउँछ, दाहाल र ओलीले जे कुरा गरेपनि मिल्नुको विकल्प छैन।’ 

प्रधानमन्त्री ५ वर्षका लागि निर्वाचित भएकाले अहिलेको कार्यकाल ओलीले नै चलाउने र कमीकमजोरी भए सुधारेर अघि बढ्नुपर्ने नेम्वाङ बताउँछन्। अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पटक-पटक 'म दोहोर्‍याएर कक्षा पढ्दिन' भनेको उल्लेख गर्दै नेम्वाङ भन्छन्, 'साथीहरुले हतारो गर्न जरुरी छैन।'

यसबीचमा प्रधानमन्त्री ओलीले अतिक्रमित नेपाली भूमि समेटेर नेपालको नक्सा जारी र संविधान संशोधन गरेपछि आफूलाई पदबाट हटाउन विदेशीसँग मिलेर षडयन्त्र भइरहेको बताएका थिए। स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले दिएको सो अभिव्यक्तिलाई लिएर पनि चर्को कटाक्ष भएको थियो। तर नेम्वाङ भने सोही अभिव्यक्ति नै प्रधानमन्त्रीलाई पदबाट हटाउने आधार नभएको जिकिर गर्छन्। 

'त्यो प्रसङ्ग नै ओलीलाई प्रधानमन्त्री र अध्यक्षको भूमिकाबाट हटाउने आधार हो र?' उनले प्रतिप्रश्न गरे, 'हिजो हामीमाथि त्यस्ता प्रकारका ज्यादतीहरू भएकै हुन्, हामीले संविधान जारी गर्दा ५ महिना नाकाबन्दी भोग्नुपरेको होइन? आफ्नै देशको संविधान संशोधन गर्दा विभिन्न खालका चेतावनीहरू आएका होइनन्? नक्सा जारी गर्दा हामीले त्यस्तै खालको दबाब खेप्नुपरेको होइन? अहिले पनि हामीले दिल्लीका सञ्चारमाध्यमहरू हेरौं : त्यो सन्दर्भमा प्रधानमन्त्रीले कतिसम्म बोल्नुपर्थ्यो, त्यो आफ्नो ठाउँमा छ। तर आफूमाथि ज्यादती भएको छ भनेर बोल्दा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हट्नुपर्ने खालको कस्तो अपराध भयो?' 

पावर सेयरिङको झगडा मात्रै हो : विश्लेषक श्रेष्ठ

नेकपामा अहिले चुलिएको विवादलाई राजनीतिक विश्लेषक श्याम श्रेष्ठ शक्ति बाँडफाँट (पावर सेयरिङ्ग) को झगडाबाहेक अरु केही ठान्दैनन्।

​'यो बार्गेनिङ चिप हो जस्तो लाग्छ, हटाइहाल्न सक्ने स्थिती पनि छैन, हटाउने मनसाय पनि छ जस्तो लाग्दैन,' श्रेष्ठ भन्छन्, 'तर यसपाली पहिलेभन्दा अलि धेरै आगो भएजस्तो लाग्छ, बाहिर मिडियामा आएका अभिव्यक्ति सुन्दा/हेर्दा वारपार नै भए पनि होस् भनेर आएजस्तो देखियो।'

प्रधानमन्त्री ओलीले प्रचण्डलाई एकल अध्यक्षको जिम्मेवारी नदिनु, माधव नेपाल र झलनाथ खनालका मान्छेलाई मुख्यमन्त्रीलगायतका पदमा जिम्मेवारी नदिनु, पार्टीको सल्लाह नमान्नु र पार्टीभित्र पनि प्रधानमन्त्रीको रुपमा प्रस्तुत हुनु अहिलेको विवादको मुख्य कारण भएको श्रेष्ठ विश्लेषण गर्छन्। २०७५ जेठ २ गते एकीकरण गर्दा आलोपालो पार्टी र सरकारको नेतृत्व गर्ने सहमति भएको, तर सो सहमति कार्यान्वयन नहुँदा अहिले विवाद चुलिएको उनी बताउँछन्। 

'केपी ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद छोडिदिए यो विवाद समाधान हुनसक्छ,' श्रेष्ठ आफूले गरेको विश्लेषण सुनाउँछन्, 'ओलीलाई दुवै पद छोड्न बाध्य पारिएको खण्डमा चाहिँ पार्टी नै फुट्ने अवस्था आउनसक्छ।'

ओलीका लागि यतिखेर पार्टी अध्यक्ष भन्दा पनि प्रधानमन्त्री पद महत्वपूर्ण रहेकाले यदी राजीनामा दिन चर्को दबाब आएमा पार्टी नै फुटाउने रणनीति ओलीले अख्तियार गरिरहेको देखिएको श्रेष्ठले बताए। 'त्यसैले अहिले त्यस्तो स्थिती आउला जस्तो लाग्दैन, किनकी मैले केपी ओलीलाई बुझेसम्म उनी दुबै पद छाड्ने पक्षमा छैनन्, उनी निकै चलाख छन्,' श्रेष्ठले थपे, ‘बरु उनले म अध्यक्षमा मौन बसिदिन्छु, ल चलाउ भन्न सक्लान्।'

उनका अनुसार नेकपाभित्रको जारी विवाद समाधानका लागि ओलीले नै केही न केही मध्यमार्गी समाधान निकाल्ने सम्भावना धेरै छ। तर यसका लागि प्रधानमन्त्रीले आफ्ना विवादित अभिव्यक्तिमाथि क्षमायाचना गर्ने र पार्टीको विधि र पद्धतिअनुसार चल्ने प्रतिबद्धता जनाउनुपर्ने हुनसक्छ। पार्टीभित्रका सबै पक्षलाई समेट्ने हो भने तत्काल विवाद समाधानतिर जानेछ श्रेष्ठको भनाई छ।

तर, प्रधानमन्त्रीले त्यति पनि नगरे उनीमाथि अविश्वासको प्रस्ताव ल्याउनेसम्मको राजनीतिक कोर्ष अघि बढ्न सक्ने उनी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.