देउवामाथि निधि, निधिमाथि प्रकाशशरण खनिए

|

काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली पुरुषसँग विवाह गरेर आएका महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विधेयक पारित गरिसकेको छ। दफावार छलफलका लागि यो विधेयक संसदको आगामी बैठकमा प्रस्तुत गर्ने तयारीमा सभामुख अग्निप्रसाद सापकोटा जुटेका छन्।

नागरिकता विधेयकबारे नेपाली कांग्रेसले के-कस्तो निर्णय गर्छ भन्ने चासो बढेको छ। कांग्रेसका केही नेताहरूले अंगीकृत नागरिकता वितरणमा समयसीमा नै राख्न नहुने बताइरहेका छन्‌। 

सभापति शेरबहादुर देउवाले केही दिनअघि आफ्नै निवास बुढानीलकण्ठमा कांग्रेसका नेताहरु गगन थापा, दिलेन्द्र बडू लगायतसँग नागरिकता विधेयकबारे छलफल गरेका थिए। सो दिन भएको छलफलमा राखिएको धारणाभन्दा ठ्याक्कै विपरीत हुनेगरी देउवाले ट्वीट गरे। 

देउवाले ट्वीटरमा लेखेका थिए, ‘महिला र पुरुषबीच विभेदको रेखा नकोरौँ, हाम्रो संविधानले महिला र पुरुषबीच समानता सुनिश्चित गरेको छ, छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि।’ 

केन्द्रीय समिति बैठकमा मंगलबार के भयो ?

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु ७ घण्टा भन्दा धेरै समय छलफलमा जुटेका थिए। छलफलमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार त्यहाँ पार्टी उपसभापति समेत रहेका विमलेन्द्र निधि हाबी भएका थिए। 

देउवासँगै केही केन्द्रीय सदस्यहरुले यो विधेयकमा राष्ट्रिय सहमति हुनुपर्ने जोड दिएपनि विमलेन्द्र हाबी हुँदा बैठकले नागरिकता विधेयक फिर्ता हुनुपर्ने निचोड निकाल्यो। उपसभापति निधिको प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले पनि साथ दिएका थिए। 

देउवालाई निधिको घुर्की 

वैवाहिक अंगीकृत नागरिकताबारे संवैधानिक व्यवस्था अनुसार नै धारणा राखेको कांग्रेसको दाबी छ। तर बैठकमा सभापति देउवाले पार्टीकै नेताहरुलाई झस्काउने गरी लेखेको ट्वीटअनुसार दृढ रहिरहन सकेनन्। देउवाले बैठकमा नागरिकताको विषयमा पहाड, हिमाल र तराई सबै सम्बोधन हुनुपर्छ भनी छलफल अघि बढाएका थिए। तर, बैठकमा उत्तराधिकारीको रुपमा हेरिएका उपसभापति निधिले देउवाको कुरा अघि बढाउन दिएनन्। उल्टै देउवाको 'काउण्टर'मा जाइलागे।

​​विवाद बढ्न थालेपछि निधिले देउवालाई 'तत्कालै एक्ला-एक्लै छलफल गरौँ' भनी प्रस्ताव लगे। ‘सभापतिज्यूले उपसभापतिज्यूको प्रस्तावअनुसार बैठक हल बाहिरको कोठामा बसी छलफल गर्न तयार हुनुभयो,’ ती केन्द्रीय सदस्यले थाहाखबरसँग भने, ‘दुई नेताको छलफल यतिसम्म चर्काचर्की भयो कि अरु गएर हस्तक्षेप नै गर्नुपर्‍यो। उपसभापतिज्यूले महाधिवेशन आउँदैछ भनी देउवालाई धम्क्याउन समेत भ्याउनुभयो।’ 

आफूले भनेजसरी पार्टीले धारणा बनाउने नदेखेपछि निधि झोला बोकेर बैठक नै छाडेर निस्कन लागेका थिए।  उनलाई केही केन्द्रीय सदस्य र पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले रोकेका थिए। त्यसपछि बैठकमा बसेका निधिले आफूले भने जसरी नै बैठकमै कुरा टुङ्ग्याउन चाहेको, तर त्यसो नभएको स्रोतले जानकारी दियो।

देउवामाथि निधि, निधिमाथि प्रकाशशरण जँगिए 

सभापति देउवाले मंगलबारको बैठकमा सहमति जुट्ने काँटछाँट नदेखेपछि अर्को दिन पनि छलफल गर्ने भन्दै त्यसको तयारी गर्न पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई निर्देशन दिए। लगत्तै उपसभापति निधि फेरी जंगिए।

‘सभापतिज्यूले बैठक अर्को दिन गर्न र त्यसको तयारी गर्न निर्देशन दिएपछि त उपसभापति ज्यू त झन् जँगिनुभयो,’ देउवानिकटका एकजना केन्द्रीय सदस्यले भने, ‘उपसभापतिज्यू अलि अस्वभाविक तवरले जँगिएपछि सहमहामन्त्रीज्यूले उहाँलाई सभापतिज्यूसँग यसरी नै बोल्ने हो? पार्टीको अनुशासन छैन? भने खनिनु भयो। तर, उपसभापतिज्यू सहमहामन्त्रीज्यू माथि हातपात नै गर्ने गरी झम्टिनु भयो। माहोल बिग्रने छाँट देखेर सभापतिज्यूले शान्त पार्नु भएको हो।’

नागरिकताको विषयमा कांग्रेसभित्र पहाड र मधेशका नेताको लाइन नमिलेकोले विवाद बढेको नेताहरुको बुझाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.