|

काठमाडौं : सरकारले रोटा भाइरसविरुद्धको खोप ‘रोटा रिक्स’  सुरु गरेकाे छ।

 बिहीबारबाट ७७ वटै जिल्लाको १७ हजार खोप केन्द्रबाट सो खोप सुरु भएको हो। बालबालिकाको मृत्युको मुख्य कारकतत्व मध्येको एक झाडापखाला र झाडापखाला गराउने मुख्य तत्व रोटा भाइरसविरुद्धको खोप ‘रोटा रिक्स’ सञ्चालनमा आएपछि राष्ट्रिय खोप कार्यक्रममा समावेश निशुल्क खोपको संख्या १२ पुग्नेछ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा झलक गौतमले ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इमुनाइजेसन (गाभी) को सहयोगमा खोप सुरु गरिएको बताए।

ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इमुनाइजेसन (गाभी)को सहयोगमा युनिसेफले पठाएको ३ लाख २४ हजार भाइल रोटा भाइरसविरुद्धको खोप ‘रोटारिक्स’ असारको पहिलो साता काठमाडौँ आइपुगेको थियो। खोप आए लगत्तै महाशाखाले सातवटै प्रदेश मार्फत जिल्ला तथा स्थानीय तहमा पुर्‍याएको थियो ।

डा गौतमले यो खोप जन्मेको ६ हप्ता र १० हप्ता गरी शिशुमा दुईपटक दिइने बताए। ‘यो खोप बच्चाहरूमा मुखबाट दिइन्छ, एक पटकमा १.५ एमएल दिइन्छ र यो खोप स्वयंसेविकाले होइन स्वास्थ्यकर्मीबाट दिइन्छ।

कान्ति बाल अस्पतालमा सन् २०१० देखि २०१६ सम्म पखाला लागि भर्ना भएका ५ बर्ष मुनिका बालबालिकामा अध्ययन गर्दा ३८ प्रतिशतमा रोटा भाइरस देखिएको थियो। पानी जस्तो पातलो पखाला लगाउने र बच्चाहरुलाई जलवियोजन गराई तत्काल ज्यान जाने अवस्था आउने गर्दछ।

नेपालमा वर्षमा ६ लाख २० हजार बालबालिका जन्मने गर्दछन्। ‘त्यसैले वर्षमा ६ लाख २० हजार भाइल खोप आवश्यकता पर्दछ। अहिले ३ लाख २४ हजार भाइल आइपुगेको छ। अब नियमित रुपमा यो खोप अन्य खोप जस्तै आउँछ,’ डा गौतमले भने ।

सरकारले रोटा भाइरसविरुद्धको खोप सन् २०१६ देखि नै शुरु गर्ने घोषणा गरेको थियो । तर खोपको उपलब्धतामा समस्या हुँदा यो खोपको शुरुवात झण्डै ४ बर्ष पछि हुन गएको छ। सरकारको नियमित खोप कार्यक्रममा अहिलेसम्म वीसीजी, प्यान्टाभ्यालेन्ट डीपीटी, हेपाटाइटिस बी, हिब पोलियो, पीसीभी, जेई, एमआर र एफआईपीभी खोप छ। रोटा शुरु भएपछि नियमित खोपमा १२ वटा पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.