|

पर्सा : कोरोनाको संक्रमणबाट बच्न र बचाउन सरकारले गरेको लकडाउनमा अटेर गर्ने १ हजार १ सय ६३ सवारीसाधन कारबाहीमा परेका छन्। चैत ११ यता पर्सामा जबरजस्ती रोडमा निकालिएका ती सवारी कारबाहीमा परेका हुन्। पर्सामा लकडाउन जेठ २५ सम्म निकै कडा पारिएको थियो।

लकडाउनको समयमा कारबाहीमा परेका १ हजार १ सय ६३ सवारीबाट मात्र जिल्ला ट्राफिक प्रहरी कार्यालयले ६ लाख ७९ हजार ५ सय राजस्‍व पनि संकलन गरेको तथ्यांकले देखाएको छ।

ल्‍लंघन गर्ने सबैभन्दा बढी मोटरसाइकल

नियमलाई अटेर गर्ने सवारीमा सबैभन्दा बढी मोटरसाइकल परेका छन्। मोटरसाइकल मात्र १ हजार ८७ कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक कमलराज पण्डितले बताए। कारबाहीमा परेका मोटरसाइकलबाट मात्र ६ लाख ३९ हजार राजस्‍व पनि संकलन भएको उनको भनाइ छ।  

त्यसैगरी अटो १३ वटा, ट्रक २३, बस ३ र कारजिप ३७ वटा पनि कारबाहीमा परेका छन्। कारबाहीमा परेका ती सवारीहरुबाट क्रमशः ६ हजार ५ सय, १४ हजार, १ हजार ५ सय र १८ हजार ५ सय राजस्‍व संकलन भएको ट्राफिक प्रहरी निरीक्षक पण्डितले बताए।

११ महिनामा १७ हजार ९१८ सवारी कारबाहीमा

चालु आर्थिक वर्षको ११ महिना पर्सामा ट्राफिक नियम नै उल्‍लंघन गर्ने १७ हजार ९ सय १८ सवारीसमेत कारबाहीमा परेका छन्। सम्झाउँदा बुझाउँदा पनि अटेर गर्नेलाई कारबाहीमा गर्नुको विकल्प नभएको पर्सा ट्राफिकले जनाएको छ। ट्राफिकले गर्ने कार्वाही भनेको दण्ड जरिवाना नै हो। दण्ड जरिवाना गर्दा चालु आर्थिक बर्षको ११ महिनामा पर्सा ट्राफिकले १ करोड ९ लाख २४ हजार राजश्व पनि संकलन गरेको छ।  

चेतना भएर पनि अटेर

सवारी नियम पालना गर्नुपर्छ भन्ने धेरैलाई थाहा नभएको पनि होइन। तर नियम पालना गर्नुपर्छ भन्ने कुरालाई व्यवहारमा लागु गर्न भने धेरैलाई सकस छ। सर्वसाधारणकै हितमा ट्राफिक नियम हो भन्ने आम सवारी चालकले नसोचिदिँदा ट्राफिकले पनि कम जनशक्तिका भरमा काम गर्नु परेको छ। अनि सवारी चालक पनि बढी कारबाहीमा पर्ने गरेका छन्।

'ट्राफिक बढी सवारीलाई कारबाहीमा गरेर राजस्‍व संकलन बढी देखाउन रहर होइन। तर, बाध्यता छ।' जिल्ला ट्राफिक कार्यालय पर्साका इन्चार्जसमेत रहेका प्रहरी निरीक्षक पण्डितले भने।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.