|

सल्यान : त्रिवेणी गाउँपालिका–४ को वडा कार्यालयमा आज स्थानीयले तालाबन्दी गरेका छन्। बुधबार राति मध्यरातमा वडाध्यक्ष कार्यालयमै एक महिलासहित फेला परेपछि स्थानीयले वडा कार्यालय बन्द गर्नुका साथै विद्यालयमा समेत तालाबन्दी गरेका ४ नम्बर वडा सदस्य सीता विष्टले बताइन् । 

उनका अनुसार वडाध्यक्ष छविलाल शर्मालाई स्थानीय एक महिलासँग अनैतिक कार्य गरेको अवस्थामा स्थानीयले फेला पारेका थिए। त्यसपछि ती वडाध्यक्षलाई इलाका प्रहरी कार्यलय लुहामको जिम्मा लगाइदिएको विष्टले बताइन्। 
तर प्रहरीले बिहान वडाध्यक्षलाई छोडिदिएको, महिला सम्पर्कविहीन भएकाले घटना छानबिन र महिलाको खोजी गरिनुपर्ने भन्दै वडा कार्यालय तथा विद्यालयमा समेत तालाबन्दी गरिएको विष्टले जानकारी दिइन्। 

अबेर रातिसम्म वडाध्यक्ष कार्यालयमा महिलासँग बसिरहेको सूचना पाएपछि स्थानीयले कार्यालय घेराउ गरेका थिए। स्थानीयले कार्यालय घेराउ गरेपछि वडाध्यक्षले भित्रबाट ताला लगाएर बसेका उनको भनाइ छ। जिल्ला प्रहरी कार्यालय प्रमख ढकेन्द्र खतिवडाले भने वडाध्यक्ष शर्माले रातको समयमा इलाका प्रहरी कार्यालय लुहाममा फोन गरेर वडा कार्यालयमा ढुंगा हान्ने काम भइरहेकाले सुरक्षाका लागि प्रहरी पठाइदिन कार्यालयमा फोन गरेको जानकारीमा आएको बताए। 

कामको सिलसिलामा वडा कार्यालयमा बस्ने गरेको बताउँदै वडाध्यक्षले सुरक्षा माग गरेपछि लुहामबाट प्रहरी टोली घटनास्थलमा गएको उनले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.