बहुविवाह र अंशबण्डाको उजुरी हाल्ने ठाउँ बन्दै नेकपा पार्टी कार्यालय

|

काठमाडौं : सत्ताधारी र संसदको सिट संख्यामा सबैभन्दा ठूलो राजनीतिक दल नेकपाभित्रको विवादले यसको पार्टी कार्यालय धुम्बाराही र पेरिसडाँडा सुनसान बनेको छ। संसद्‌मा निकै कम सिटसंख्या रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा दिनहुँजसो बैठक हुँदै गर्दा सत्तारुढ नेकपाले भने अहिले बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई प्रयोग गरिहेको छ। 

नेकपाका अध्यक्ष एवम्‌ प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि यसैपनि नेकपाका नेता तथा कार्यकर्ताको ध्यान बालुवाटारमै छ। तर पार्टी कार्यालय धुम्बाराही र पेरिसडाँडामा यतिखेर सदस्यता नवीकरण गर्ने कार्यकर्ता र विभागीय प्रमुखबाहेक अरु देखिँदैनन्‌। प्रधानमन्त्री बनेका आफ्ना अध्यक्ष सरकारी निवास बालुवाटारतिर हुँदा दुवै पार्टी कार्यालय सुनसान बनेको छ। साविकको एमालेको पार्टी कार्यालय धुम्बाराही र माओवादीको पार्टी कार्यालय दुवैलाई नेकपाले केन्द्रीय कार्यालयका रूपमा प्रयोग गरिरहेको छ।  

पार्टीको नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएकोले पनि पार्टी कार्यालयमा नेताहरूको उपस्थिति नगण्य हुने गरेको छ। नेकपाका शीर्षस्थ नेताहरू पार्टीभित्र विवाद रहँदा तथा मुलुक र पार्टी दुवै तातेका बेला पार्टी केन्द्रीय कार्यालयका बैठक कोठाहरू भने रित्तै देखिन्छन्।

नेकपाको धुम्बाराही र पेरिस डाँडामा अध्यक्षद्वयको कार्यालय समेत राखिएको छ। कोरोना भाइरस त्रासका कारण सामाजिक दूरी कायम गरी बैठक बस्नुपर्ने, तर धुम्बाराहीस्थित कार्यालयमा ठाउँ साँघुरो भएकाले नेकपाको बैठक बालुवाटारमा बस्ने गरेको बताइएको छ। लकडाउन भएपछि शीर्षस्थ नेताबाहेक केन्द्रीय कमिटीका नेताहरू बेला-बेलामा दुवै तर्फका पार्टी कार्यालय जाने गरेका छन्। कोरोना महामारी सुरू भएयता पार्टी कार्यालयमा आउने कार्यकर्ताको आउने जाने क्रम घटेको छ।

कार्यकर्ता मन्त्रालयतिर, पार्टी कार्यालय अंश माग्ने ठाउँ

नियमित सहयोगीबाहेक अहिले अन्य मानिसहरू आउने नगरेको पेरिसडाँडास्थिति नेकपा पार्टी कार्यालयका सहयोगी एबिन्द्र पराजुलीले बताए। पार्टी संगठनको मुख्य कार्यालय धुम्बाराहीमा रहेकोले नेता र कार्यकर्ता उतै जाने गरेको र पेरिसडाँडामा खासै नेता/कार्यकर्ता आउने नगरेको पराजुली बताउँछन्‌।

​'युवा र महिला संघको कार्यालय यता छ, बेला-बेलामा युवा र महिला नेता आउने गरेका छन्‌,' उनले भने, 'यस कार्यालयमा औपचारिक बैठक कम हुन्छ, जनवर्गीय संगठनका सानातिना भेला भइरहन्छ, लकडाउन अगाडिको जस्तो बैठक आजकाल हुँदैन।'

केन्द्रीय नेताहरू लीलामणि पोख्रेल, झक्कु सुवेदी र मणि थापा भने बेला-बेलामा पार्टी कार्यालय आउने गरेको उनले बताए। पार्टी एक बनेपछि औपचारिक र अनौपचारिक कुनै पनि बैठक पेरिसडाँडास्थित कार्यालयमा बस्न नसकेको पराजुलीको भनाइ छ। विशेषगरी अहिले पनि यस कार्यलयमा पूर्व माओवादीमा बढी भूमिका रहेका कार्यकर्ताहरू आउने गरेको उनले बताए।

माओवादीले सशस्त्र द्वन्द्वको समयमा राज्यकै समानान्तर हुनेगरी न्यायिक काम पनि गर्ने गरेकोले अहिले पनि त्यही सम्झेर केही पीडित नागरिकहरू पेरिसडाँडा जाने गरेका छन्‌। पराजुलीका अनुसार विविध समस्या भयो भन्दै दैनिक ५ देखि १० जना मानिस त्यहाँ गइरहन्छन्‌। 'बहुविवाहको मुद्दा र अंश पाइएन भन्दै पनि मानिसहरू आउने गरेको छन्,' पराजुलीले भने।

सदस्यता नवीकरणका लागि मात्रै पुग्छन्‌ कार्यकर्ता

पार्टीको मुख्य विषयमा छलफल गर्न तथा केन्द्रीय कमिटी र स्थायी समितिको बैठक बस्नका लागि नेकपाका नेताले धुम्बाराहीस्थित कार्यालयलाई प्रयोग गर्ने गर्छन्‌। तर लकडाउनयता धुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक बस्न नसकेको कार्यालय सहयोगी कुमार उप्रेती बताए। कोरोनाको त्रास र अन्य विविध कारणले पनि यहाँ बैठक बस्नको लागि कोठा सानो भएकोले पनि नेताहरू बालुवाटारमै पुग्ने गरेको उनको भनाई छ।

'पार्टी अध्यक्ष केपी शर्मा ओली बिरामी पनि भएको र सामाजिक दुरी कायम गरी बैठक बस्नुपर्ने भएकोले पनि यहाँ बैठक हुन सकेको छैन, बालुवाटारमा बैठक गर्नलाई ठूलो भवन भएकोले पनि नेताहरू उतै जाने गर्नुभएको छ, लकडाउन भएदेखि यस कार्यालयमा एक पटक पनि मुख्य नेताहरूको बैठक भएको छैन,’ उनले भने, ’सबैलाई बालुवाटारमा सजिलो भएकोले पनि उतै गएर बैठक गर्छन्, सायद प्रधानमन्त्री उतै बस्ने भएकोले त्यस्तो हुन सक्छ।‘

लकडाउन अगाडि दैनिक जसो २० देखि २५ जना कार्यकर्ताहरू आउने गरको भएपनि अहिले भने १० जना आउने गरेको उनले बताए। पार्टीका विभागीय प्रमुख, सांसद आउने, पार्टी सदस्यता नवीकरण गर्न र पार्टी सदस्यता शुल्क  बुझाउन मात्रै आउने गरेका छन्। केही मानिस राहत पाइने अपेक्षा गरेर पनि नेकपाको पार्टी कार्यालय पुग्ने गरेका छन्‌, तर उनीहरूलाई स्थानीय सरकारले नै राहत वितवरण गर्ने गरेको भनेर फर्काउने गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.