|

गुल्मी : इस्‍माको पहिरोमा परी बेपत्ता भएकी ७ वर्षीया अपेक्षाको शव फेला परेको छ। उनकी आमा अन्दाजी  २७ वर्षीय ईश्वरी खत्री घाइते भएको र उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्थले जानकारी दिए।

जिल्लाको इश्मा गाउँपालिका-१ हस्तिचौरको मल्दीमा गएको पहिरोका कारण  गोठ बगाउँदा वसन्त सारुका १८ महिने  बालक सिजन सारुको मृत्यु भएको थियो। योसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ।

पहिरोमा परी घाइते भएका ४ जनामध्ये अपेक्षाकी आमा २७ वर्षीया ईश्वरी खत्री र १८ महिने बालककी आमा सृजना सारुको अवस्था गम्‍भीर छ भने  अन्दाजी ६० बर्षिय टीका खत्री र  ५५ वर्षकी पुतला खत्री सामान्य घाइते भएका छन्।

यस्तै, मुसिकोट नगरपालिका वडा नं २ को हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्तिपसल पहिरोले बगाउँदा अन्दाजी ६५ वर्षीय भागीरथ घिमिरे बेपत्ता भएको र बेपत्ता भएकाहरुको  खोजी कार्य जारी रहेको  पन्थले जानकारी दिए। यस्तै, मुसिकोट नगरपालिका वडा नं २ राताचौरका जनक जोशीको घर र कुमानसिंह खत्रीको घर पहिरोले भत्किएकाले सुरक्षित स्थानमा सारिएको छ।

मुसिकोट  नगरपालिका २ अमराइका रामबहादुर सुनारको गोठ पहिरोले बगाउँदा तीन वटा भैँसी, ७ वटा बाख्रा, टेकबहादुर सार्कीको गोठसहित तीन वटा भैँसी , अर्जुनबहादुर  सिंहको  गोठ सहित एउटा भैसी र चार वटा बाख्रा बगाएको पन्थले जानकारी दिए।

 गुल्मीमा बिहीबार रातिदेखि अविरल वर्षा भएकाले घटना स्थलहरुमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार तथा खोजी कार्यमा खटिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.