जमानी बसेका मन्त्री भन्छन् : स्वयमसेवा गरेको होइन, ठेकेदारले तिर्नै पर्छ

|
फाइल फोटो

काठमाडौं : स्वास्थ्य मन्त्रालयबाट एक अर्ब ३४ करोडको ठेक्का पाएर चीनबाट स्वास्थ्य सामग्री ल्याएको ओम्‍नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई) ले जहाज भाडाको अझै नतिरेको खुलेको छ।

ओम्‍नीले स्वास्थ्स्य सामग्री ढुवानीको रकम सरकारबाट बुझेर पनि नेपाल वायु सेवा निगमलाई नबुझाएको जानकारी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शुक्रबार दिएका हुन्। 

'चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट गत चैतमा टेण्डर पाएको विवादित ओम्‍नी समूहले अहिलेसम्म ढुवानी बापतको रकम एयरलाइन्सलाई दिएको छैन', उनले पत्रकार सम्मेलन गर्दै भने, 'टेण्डरमा ढुवानी भएका सामानको पैसा पाउन बाँकी छ। एयरलाइन्सले पनि भाडा लिन बाँकी छ। हामी लिन्छौँ। नेपाल एयरलाइन्सले छिन्छ।'

उनले नेपाल सरकारले ठेक्का दिएर पैसा बुझिसकेको अवस्थामा पनि ओम्‍नीले भाडा नदिएको दोहोर्‍याए। 'ठेकेदारले पैसा कमाएको छ हामीले किन स्वयमसेवा गर्ने?', उनले भने, 'ओम्‍नी समूहले पैसा तिर्नुपर्छ, त्यसको जिम्मेवारी स्वास्थ्य मन्त्रालय हुन्छ।' 

जमानी बसेका थिए मन्त्री

ओम्‍नीले चीनबाट स्वास्थ्य सामग्री ल्याउने क्रममा पर्यटनमन्त्री भट्टराई नै जमानी बसिदिएका थिए। ओम्‍नीले स्वास्थ्य सामग्री ल्याउन चार्टर्ड गरिएको नेपाल एयरलाइन्सको जहाज चीन गएर आउँदा ८ घण्टा ३० मिनेट उडेको थियो।

त्यसवापदको भाडा १ लाख ५३ हजार ८ सय ५० अमेरिकी डलर (एक करोड ८४ लाख ६२ हजार रुपैयाँ) लागेको थियो। स्वास्थ्य सामग्री ल्याउनै पर्नै बाध्यता रहेको भन्दै त्यो समयमा मन्त्री भट्टराई आफैं जमानी बसेपछि जहाज चीन उडेको थियो।

स्वास्थ्य मन्त्रालयले गरेको ठेक्का सम्झौताका क्रममा सामान ल्याउँदा लाग्ने भाडा ओम्नीले नै तिर्ने सम्झौता भएको थियो। तर ठेक्का लागेर तोडिएको पनि तीन महिना भइसक्दा ओम्नीले नेपाल वायुसेवा निगमलाई भाडा वापतको रकम नतिरेको हो। 

ओम्‍नीले चीनबाट १८ करोड बराबरका स्वास्थ्य सामग्री नेवानिको जहाज चार्टर्ड गरेर ल्याएको थियो। ओम्‍नीले ल्याएका धेरै सामानमा गुणस्तरको प्रश्‍न पनि उठेको थियो। ओम्‍नीले ल्याएका आरडिटी कीटसहितका सामान कामै नलाग्ने भएपछि गोदाममै थन्क्याइएको थियो।

ओम्‍नीको बदमासी 

स्वास्थ्य सेवा विभागले चीनबाट कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारका लागि मेडिकल सामग्री ल्याउने सम्झौता गरेको ओम्‍नीसँगको सम्झौता गत चैतमै रद्द गरिसकेको छ।

सम्झौता अनुसारको समयमा सामग्री ल्याउन नसकेकाले ठेक्का रद्ध गरिएको स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठले बताएका थिए। 

कम्पनीले प्रतिवद्धता अुनसार पहिलो खेपमा १० प्रतिशत मात्र सामान ल्याएको थियो। ९० प्रतिशत सामान नै आएको थिएन। दोश्रो खेपको सामान पनि ल्याउन नसकेपछि विभागले ठेक्का तोडेको थियो। श्रेष्ठले त्यतिबेलै ओम्‍नीसँगको ठेक्का सम्झौता रद्ध गरेर धरौटी जफत गरेको बताएका थिए। 

उक्त कम्पनीले धरौटी वापत ५ करोड रुपैयाँ जम्मा गरेको थियो। त्यही रकम जफत भएको श्रेष्ठले बताएका थिए। स्वास्थ्य मन्त्रालयले प्रकृया मिचेर मन्त्रीका सल्लाहकारको सेटिङमा ओम्‍नीलाई सामाग्री ल्याउने ठेक्का दिएको भन्दै आलोचना भएको थियो। 

कम्पनीलाई करिब २० प्रतिशत बढीमा ठेक्का दिइएको थियो। उसले बजार मूल्यभन्दा अत्यधिक महँगोमा सामाग्री किनेको पाइएपछि आलोचना भएको थियो। त्यस प्रकरणलाई लिएर मेडिकल सामग्री खरिदमा अनियमितता गरेको दावीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.