बुढा बुढा लडेर केही हुँदैन, अब युवा पुस्तालाई नेतृत्व दिऊँ

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पछिल्लो समय देखिएको विवादलाई लिएर बिहीबार साँझ सरकारी निवास बालुवाटारमा युवा, विद्यार्थीसँग छलफल गरेका छन्। 

पाटन दरबार परिसरमा अनसनमा बसेर बिरामी परेपछि ह्‍याम्स अस्पतालमा भर्ना भएकालाई भेटेर बालुवाटार फर्किएपछि उनले नेकपाका युवा र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गर्दै आफूभन्दा उत्कृष्ट नेता आएमा अहिल्यै पद छाड्न तयार रहेको बताएका छन्। 

युवा-विद्यार्थीका नेताहरुलाई बालुवाटार सम्बोधन गर्दै ओलीले अहिले पार्टीमा देखिएको विवादका कारण अलमलमा नपर्न पनि निर्देशन दिए। 'अहिले पार्टीमा देखिएको विवादलाई लिएर कोही पनि अलमलमा नपर्नू', उनको भनाइ उद्धृत गर्दै युवा संघका एकजना नेताले थाहाखबरसँग भने, 'अहिलेको लडाइँ राष्ट्रियताको हो। राष्ट्रियता र जनतालाई म कहिले पनि धोका दिन्‍नँ, तपाईंहरु सबैजना ढुक्क भएर आफ्नो संगठनको काममा लाग्‍नू, कुनै चिन्ता नलिइ निर्भीक भएर काम गर्नू, पार्टी फुट्दैन।'

भारतले घेरेकै हो, अति गरेकै हो

युवा-विद्यार्थीका नेताहरुलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपु लेकसहितको नक्सा निकालेपछि भारतले चौतर्फी घेराबन्दी गरेको बताए। उनले नयाँ नक्सा र नागरिकता विधेयकसँगै भारत आक्रमक रुपमा आफू नेतृत्वको सरकारविरुद्ध प्रस्तुत भएको बताएका थिए। 

ओलीले यसअघिको नाकाबन्दीका बेलामा पनि भारत यति सारो आक्रमक नभएको पनि बताएका थिए। उनले यो पटक भारतले मिडियालाई समेत लगाएर आक्रमण गरिरहेको बताए। उनले यो पटक भारतले नेपालबिरुद्ध अति नै गरेको जिकिर पनि गरे। 

'नयाँ नक्सा जारी भएपछि भारतले चौतर्फी घेराबन्दी गर्‍यो। दबाब धेरै नै दिइरहेको छ', उनले भने, 'भारतीय मिडिया हेर्दा पनि थाहा हुन्छ। त्यतिकै बोलेका छैनन् तिनीहरुले, उनीहरुलाई त्यसरी बोल्न लगाइएको छ। पहिले कत्रो कत्रो संकट आउँदा पनि यसरी बोल्दैन थिए। अहिले नेपालबिरुद्ध आक्रमक शैली अपनाएर उनीहरु उत्रिरहेका छन्।' 

अब बुढा बुढा नलडौँ 

नेकपाका एकजना अध्यक्षसमेत रहेका ओलीले पार्टीको विवादबारे पनि खुलेर छलफल गरेका थिए। उनले अहिलेको लडाइँ सैद्धान्तिक भन्दा कुर्सीका लागि भएको बताएका छन्। 

'अहिले पार्टीमा देखिएको विवादलाई लिएर कुनै किसिमको चिन्ता नलिनू, ढुक्क भएर काम गर्नू। यो सबै व्यवस्थापन भएर जान्छ', उनले भने, 'अब खासगरी हामी बुढा बुढा लडेर हुँदैन। अब पार्टी र सरकारको पनि नेतृत्व युवा पुस्तालाई छाड्नुपर्छ।'

उनले आफू सरकार र पार्टीको नेतृत्वमा टाँसिएर बसिरहन इच्छुक नरहेको पनि बताएका थिए। 'म दुवै पद छाड्न तयार छु। तर मैले छोड्ने हुँदा मभन्दा उत्कृष्ट नेता आउनुपर्यो। होइन भने म नयाँ पुस्तालाई छाडिदिन्छु', उनले भने, 'हामी नेतृत्वका सबैजनाले एकैचोटी 'रिटायर्ड' हुन तयार हुनुपर्छ। हाम्रै पुस्ताले मात्रै कति नेतृत्व गर्ने?'

अरु नेतालाई यसो भने 

ओलीले लामो राजनीतिक संघर्षपछि आफू बल्ल पार्टीको नेतृत्वमा आएको बताए। उनले पहिलो चोटी पार्टीको कार्यभार सम्हालिरहेको बताउँदै अरु नेता तयार भए युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न कुनै समस्या नहुने उल्लेख गरे।

'म त बल्ल बल्ल पहिलो चोटी पार्टी नेतृत्वको कार्यकाल सम्हालिरहेको छु। तर म भन्दा धेरै अगाडि लामो समय पार्टी नेतृत्व हाँकेका साथीहरु पनि हुनुहुन्छ', उनले भने, 'प्रचण्डजीले ३४ वर्षको उमेरमा पार्टी नेतृत्वमा गएर ३२ वर्षसम्म खानुभयो। अब ६६ वर्षको भइसक्नुभयो। माधव नेपालले १५ वर्ष पार्टी प्रमुख चलाइसक्नु भयो। झलनाथले पनि त्यत्रो वर्ष चलाउनु भयो, उहाँ पनि प्रधानमन्त्री हुनुभयो। अब उहाँहरुले अझै के गर्न बाँकी छ? त्यसैले उहाँहरुले पनि नेतृत्वबाट अवकाश लिन तयार भए म दोस्रो पुस्तालाई अहिल्यै नेतृत्व हस्तान्तरणका लागि तयार छु।'

वृद्धभत्ता खाएर बस्छु

२ घण्टा लामो संवादका क्रममा केही घरी आक्रोशित त घरी भावुक रुपमा प्रस्तुत भएका ओलीले युवाहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका थिए। उनले राष्ट्र र जनतालाई कहिल्यै धोका नदिने बताउँदै अब आफूले लिने केही नरहेको उल्लेख गरे।

'हाम्रो तर्फबाट राष्ट्र र जनतालाई धोका हुँदैन। मैले अब लिनु दिनु पनि केही छैन। घर पनि ट्रस्टलाई दिइसकेँ', ओलीले छलफलका क्रममा भने, 'अब त्यही घरमा बाँचुन्जेल बस्‍न पाऊँ भनेको छु। सम्पत्ति पनि मलाई चाहिएन। केही समयपछि मेरो वृद्ध भत्ता आउँदैछ, त्यही खान्छु। जीवनमा मैले फजुल खर्च गरेको छैन र अब मलाई लोभ पनि छैन।'

उनले बालुवाटार पुगेका युवा-विद्यार्थीहरु ढाडस दिँदै पटक पटक निराश नहुन आग्रह गरेका थिए। 'तिमीहरूको काँधमा जिम्मेवारी आउँछ। मैले सरकार र पार्टी यो कार्यकाल चलाउने हो, राम्ररी चलाएर छाड्छु', उनले भने, 'यस पछाडि अध्यक्ष हुन्‍न भनेकै छु। यो कार्यकालपछि हामी नेतृत्वमा रहेका सबैजनाले छाडौँ।'

अहिलेको विवाद कुर्सीको 

प्रधानमन्त्री ओलीले अहिले पार्टीमा देखिएको विवादलाई सैद्धान्तिक नभइ कुर्सीको भएको संज्ञा दिएका छन्। 'पार्टीमा अहिले चलिरहेको विवाद सैद्धान्तिक होइन। पार्टी बैठकमा कुर्सीको आशन मिलेन भनेर झगडा गर्नु सैद्धान्तिक कुरा होइन, यो त पदको बार्गेनिङ हो', उनले अगाडि भने, 'कुर्सीमा को अगाडि बस्यो को पछाडि बस्यो भन्‍ने कुरा सैद्धान्तिक हुँदैन होइन।'

सरकारको समीक्षा 

प्रधानमन्त्री ओलीले युवा-विद्यार्थीका नेतालाई सम्बोधनका क्रममा सरकारको कामको समीक्षा गर्न सकिने बताए। उनले सरकारले कमजोरी गरेको भए सुधारेर अघि बढ्न सकिने पनि बताए। 

'ठीक छ, सरकारको विषयमा समीक्षा गर्न सकिएला तर हुँदै हुँदैन भन्‍ने कुरा गलत हो। नराम्रो कामको समीक्षा गर्न सकिएला तर राम्रो कुरा त स्वीकार्नुपर्यो नि', उनले भने, 'तर,  हुँदै नभएको कुरा उछालेर सरकारलाई घेराबन्दी गर्न खोज्‍ने कुरा मान्‍न सकिँदैन, त्यो कुरा स्वीकार्न सकिँदैन।'

को को थिए?

प्रधानमन्त्री ओलीले बोलाएपछि बालुवाटार पुग्‍नेहरुमा युवा संघका केन्द्रीय सह-संयोजक रमेश पौडेल एकजना थिए। त्यसैगरी युवा संघकै नेताहरु  रोशन बस्‍नेत, वचन सिंह, अमित लामा पनि थिए। त्यसैगरि अनेरास्ववियुका संयोजक ऐन महर, विद्यार्थी नेता महेश बर्तौला, रश्मि आचार्यसहित सहभागी थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.