|

काठमाडौं :  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चर्को विवाद भइरहेको छ। पार्टी विभाजनका संघारमा पुगेको समेत टीका-टिप्पणी भइरहेका छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असार १४ गते नेपाल भारत सीमा समस्याको विषयलाई लिएर सरकार ढाल्न लागिपरेको अभिव्यक्ति दिएपछि पार्टीभित्रको विवाद पुन चर्किएको छ। यहीबीचमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा संसद अधिवेशन अन्त्य गरेको भन्दै प्रचण्ड पक्षले गुनासो गरेका छन्। 

प्रधानमन्त्री ओलीबाट सरकार र पार्टीको नेतृत्व अघि बढ्न नसक्ने भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ  खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी लगायतका स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीको राजीनामाको पक्षमा छन्। तर, प्रधानमन्त्री दुवै पदबाट टसमस नहुने पक्षमा छन्। 

यही विवादका बिच पार्टीभित्रको विवाद कहाँ पुग्यो? प्रधानमन्त्रीको राजीनामा मात्र समस्या समाधानको अन्तिम विकल्प हो ? पार्टी फुटको संघारमा पुगेको चर्चाको  के हो वास्तविकता?  समस्याको कसरी समाधान खोजिँदै छ ? लगायतको बिषयमा नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलसँग थाहाकर्मी रमेश पराजुलीले गरेको कुराकानी

नेकपामा तीव्र विवाद देखिएको छ। पार्टी फुटको संघारमा पुगेको टिप्पणी भइरहेको छ। पार्टीमा के भइरहेको छ अहिले?  

पछिल्लो समयमा पार्टीभित्र तीव्र विवाद देखिएको छ। त्यसको समाधानका लागि हामीहरू रातदिन लागिरहेका छौँ। पार्टी एकतालाई जोगाउनुपर्नेमा हामीले जोड दिएका छौँ। शीर्ष नेतृत्वलाई हामीले निरन्तर पार्टीलाई जोगाएर अघि बढ्नुपर्छ भन्नेमा दबाब दिइरहेका छौँ। पार्टीभित्र केही समस्या देखिएका छन्। त्यो समस्या छलफलको माध्यमबाट हामी समाधानतर्फ लाने क्रममा छौँ। मलाई लाग्छ पार्टी फुट्दैन। एकजुट भएर सहमति र सहकार्यमार्फत अघि बढ्छ। 

पार्टीभित्रको विवादकै बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशन अन्त्य गर्नुभएको छ। एक पक्षले पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउनका लागि यस्तो गरिएको भनिरहेको छ। तपाईलाई के लाग्छ? 

प्रधानमन्त्रीले बैठक चलिरहेको बेलामा अकस्मात मन्त्रिपरिषदको बैठक राखेर संसद अधिवेशन अन्त्य गराउनुभएको छ। त्यसको जवाफ हामीले पनि प्रधानमन्त्रीसँग माग गरेका छौँ। अन्य स्थायी कमिटीका साथीहरुले पनि आवाज उठाइरहनु भएको छ। प्रधानमन्त्रीज्यूले बैठकमा आएर त्यसबारे जानकारी दिनुपर्छ, दिनुहुन्छ भन्ने लागेका छ। अब उहाँले पार्टीभित्रको विवादबीच संसद अधिवेशन अकस्मात रोक्नु भएकाले अध्यादेशको विषयमा कुरा उठेको हो। तर, त्यस्तो हुन्छ जस्तो लाग्दैन। सहमतिबाट अघि बढ्छ।

शीर्ष नेताहरूको आरोप प्रत्यारोपको कारणले नै पार्टी संकट पुगेको देखिन्छ। धेरै नेताहरूले स्थायी कमिटीको बैठकमा नै प्रधानमन्त्रीको राजीनामा मागिसकेका छन्। प्रधानमन्त्री राजीनामाको पक्षमा हुनुहुन्‍न? राजीनामा नै समाधानको अन्तिम विकल्प हो त?

पार्टीभित्र छलफल र विचार बहस हुन्छ। अहिले पार्टीको शीर्ष नेताको कारणले मात्रै यो विवाद आएको जस्तो लाग्दैन। सरकार र पार्टी नेतृत्वका कमिकमजोरी पनि छन्। ती विषय उठाउँदा यस्तो समस्या सिर्जना भएको छ। प्रधानमन्त्रीको राजीनामाको विषयमा बैठकमा उठेको हो। हामीले अन्तिम विकल्पको रुपमा प्रधानमन्त्रीको राजीनामा चाहेका छैनौँ। पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नका लागि माग गरेका हौँ।

प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर  राजीनामाको बिषय उठान भएको हो। अहिले स्थायी कमिटीको बैठक चलिरहेकै छ। प्रधानमन्त्रीको राजीनामाको बिषयमा छलफल हुन्छ। र बैठकले नै निर्णय गर्छ। सरकार र पार्टी नेतृत्वको बिषयमा छलफल हुन्छ। समिक्षा गर्नुपर्छ।  

तपाईंहरू पार्टी एकता जोगाउनका लागि कसरी पहल गरिरहनु भएको छ। पार्टी एकतालाई जोगाएर सहमतिमा अघि बढ्नुको लागि के गर्नुपर्छ?  विकल्प के के हुनसक्छन्?

हो, हामी पार्टी फुटाउनु हुन्‍न भनेर लागिरहेका छौँ। आज दिनभर नै पार्टीको समस्या समाधानको लागि छलफलमै बितायौँ। पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्छ भन्नेमा हाम्रो जोड छ। देश र जनताको लागि हामीले पार्टी फुटायौँ भने राम्रो हुदैन। जनताले विश्वास गरेर झण्डै दुई तिहाइको बहुमत दिएर पठाएका हामीलाई अहिले पार्टी फुट्यो भने जनताको विश्वासमा घात हुन्छ। त्यसैले हामीले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छलफल गरेर समस्या समाधानको बाटो खोज्न समय दिएका छौँ। उहाँहरू छलफलपछि स्थायी कमिटीको बैठक चलिरहेकै भएकाले त्यही निर्णय हुन्छ। 

प्रधानमन्त्रीले अध्यादेश ल्याएर पार्टी फुटाउन लाग्नुभएको आरोप  छ। तर, नेकपा एमाले दर्तामा पनि उहाँकै हात छ भनिएको छ। उपाध्यक्ष वामदेव गौतमले प्रमाण दिन सक्छु भनिरहनु भएको छ। वास्तविकता के हो? 

पार्टीभित्रको तीव्र विवादको भइरहेको बेलमा नयाँ पार्टी दर्ताको लागि निवेदन परेको विषय बैठकमा पनि उठेको हो। केही साथीहरूले त्यसको सोधखोज गर्नुभएको हो। प्रधानमन्त्री ओलीले त्यसबारे जानकारी नभएको बताउनु भएको थियो। केहीले त्यो प्रधानमन्त्रीकै निर्देशनमा भएको भन्दै बैठकमा आरोप प्रत्यारोपको स्थिती सिर्जना भएको थियो। पार्टीभित्रको विवाद र पार्टी दर्ताको विषय एकैपटक परेको हुनाले त्यस्तो पर्न गएको हुन पनि सक्छ। बैठकमा त्यस विषयमा गम्भीर रूपमा छलफल भइरहेको छ। हाम्रो पार्टीका नेताहरुको हात छ छैन भन्नेबारे अध्ययन गरिरहेको छौँ। 

निर्णायक भनेर बसेको  वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ। फेरि पनि बस्ने भनिएको छ। अब कसरी अघि बढ्ला? 

हामीले पार्टीभित्रको समस्या समाधानको लागि छलफलका प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई जिम्मा दिएका हौँ। जारी स्थायी कमिटीको बैठक पार्टीको विवादको विषयमा छलफल गर्नकै लागि स्थगित गरेका हौँ। उहाँहरूले पटकपटक छलफल गर्नुभएको छ। पछिल्लो बैठक सकारात्मक भएको जानकारी आएको छ। उहाँहरू छलफलमा फेरि पनि बस्नुहुन्छ। त्यसपछि स्थायी कमिटीको बैठक बस्छ। त्यहीबाट पार्टीभित्रको विवाद समाधान गर्ने प्रयास गरिन्छ। मलाई लाग्छ सबैकुरा सहमतिमा नै अघि बढ्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.