संक्रमित संख्या एक करोड १० लाख नाघ्यो, पाँच लाख २३ हजारको मृत्यु

|

कोभिड–१९ (कारोना) बाट विश्वभर संक्रमित हुनेको संख्या एक करोड १० लाख नाघेको छ। हालसम्म भेटिएका संक्रमितमध्ये पाँच लाख २३ हजार ८९८ जनाको मृत्यु भएको छ।

अमेरिकामा सबैभन्दा बढी २७ लाख ९३ हजार २२ जना संक्रमित भेटिएका छन् भने एक लाख २९ हजार ४०५ जनाले ज्यान गुमाएका छन्। ब्राजिलमा १५ लाख ३९ हजार ८१ जना संक्रमित भेटिएकामा ६१ हजार ८८४ जनाको मृत्यु भएको छ। 

ब्राजिलपछि रुस र भारतमा संक्रमित संख्या धेरै छ। अहिलेसम्म रुसमा ६ लाख ६६ हजार ९४१ जना संक्रमित फेला परेकामा नौ हजार ८४४ जनाले ज्यान गुमाएका छन्। यस्तै, भारतमा ६ लाख २५ हजार ५४४ जना संक्रमित भेटिएका छन्, यी मध्ये १८ हजार २१३ जनाको मृत्यु भएको छ। 

अमेरिकामा संक्रमित र ज्यान गुमाउनेको संख्या बढिरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक समारोह गर्न छाडेका छैनन्।

अमेरिकी स्वतन्त्रता दिवस मनाउन ट्रम्प माउन्ट रसमोर जाँदैछन्, जहाँ हुने कार्यक्रममा करिब सात हजार मानिस सहभागी हुने आंकलन गरिएको छ। 

यो कार्यक्रममा सहभागी हुनेलाई मास्क लगाउन अनिवार्य गरिएको छैन। भौतिक दुरी कायम गर्न पनि कुनै त्यस्तै नियम लगाइएको छैन। 

फ्रान्समा कोरोना भाइरससँग जुध्न सरकारले अपनाएको तरिकाबारे जाँच गर्न एक अदालत गठन गरिएको छ। प्रधानमन्त्री एडर्ड फिलिपसहित अन्य तीन वरिष्ठ अधिकारीहरुमाथि जाँच हुनेछ। फिलिपले शुक्रबार पदबाट राजीनामा दिएका थिए। 

यी अधिकारीहरुमाथि महामारीका बेला पर्याप्त चिकित्सा उपकरण उपलब्ध नगराएको भन्दै तीखो आलोचना भइरहेको छ। फ्रान्समा अहिलेसम्म दुई लाख चार हजार २२२ जना संक्रमित भेटिएका छन्। यी मध्ये २९ हजार ८९६ जनाको मृत्यु भएको छ। 

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीलाई कोरोना संक्रमण भएको छ। उनले ट्वीटरमार्फत आफुलाई संक्रमण भएको जानकारी दिएका छन्। 

दक्षिण अफ्रिकाका ग्रामिण र गरिबी अत्यधिक रहेका बस्तीमा कोरोना महामारी आगो झैं फैलिएको बीबीसीले जनाएको छ। त्यहाँ लकडाउन खुकुलो बनाइएपछि समस्या झन् गहिरिँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.