|

धनुषा : प्रदेश नं २ मा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दै गइरहेको छ भने होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्यामा वृद्धि भएको छ। यस प्रदेशका आठवटै जिल्लामा रहेका ४५५ वटा क्वारेन्टाइनमा असार १८ गतेसम्ममा बस्नेको सङ्ख्या तीन हजार ७७० मा झरेको छ।

यसअघि, असार १ गतेमा यस प्रदेशका विभिन्न क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १५ हजार ५८१ थियो। कतिपयको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि आइसोलेसनमा राखिएको कारणले क्वारेन्टाइनमा बस्नेको सङ्ख्या निरन्तर घट्दै गइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

क्वारेन्टाइनमा बस्नेको सङ्ख्यामा कमी आए पनि होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्यामा भने वृद्धि भएको छ। सो मन्त्रालयको तथ्याङ्कअनुसार असोज १ गतेसम्म होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ११ हजार ६४३ थियो। असार १८ गतेसम्ममा यस प्रदेशमा सङ्क्रमित सङ्ख्या १८ हजार ५६० पुगेको छ।

यस प्रदेशमा असार १८ गतेसम्म ४४ हजार २३२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ। सोमध्ये पुरुष तीन हजार ३२४ र महिला २२० गरी तीन हजार ५४४ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने ३७ हजार ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

तीन हजार ६०३ जनाको रिपोर्ट आउन बाँकी रहेको सो मन्त्रालयले जनाएको छ। यस प्रदेशमा सङ्क्रमितमध्ये एक हजार ९२३ जना उपचार पश्चात निको भएका छन् भने तीन जनाको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.