|

पर्वत :  कोरोना सङ्क्रमण रहेको पुष्टि भएपछि कुस्मा नगरपालिकाका एक युवालाई अन्य रोग लाग्दा जस्तै हेरचाह होला भन्ने लागेको थियो। समय समयमा खाना आउला, बच्चालाई खुवाउनको लागि दूध आउला, भोक लागेको बेलामा राम्रोसँग पाकेको खाना आउला र छिटै रोग निको होला भन्ने उनले सोचेका थिए।

कोरोना संक्रमण भएपछि उनी गुप्तेश्वर बहुमुखी क्याम्पसको आइसोलेशनमा छन्। जब सङ्क्रमणको पुष्टि भएर उनीसहित अन्यलाई आइसोलेसनमा लगियो, त्यही दिनबाट नै उनीहरूको गुनासो सुरु भयो। कोरोना सङ्क्रमित व्यक्तिको आत्मविश्वास बलियो पारेर निको बन्न सबैको माया र सद्भाव आवश्यक भए पनि त्यो नपाएको उनीहरूको भनाई छ। विशेष गरी खानाका परिकारका विषयमा आफूहरूलाई निकै नै हेला गरिएको आइसोलेसनमा बस्दै आएकाले फोन र फेसबुकमार्फत बताउँदै आएका छन्।

आफूहरूलाई दिइएको खाना कहिले काँचो हुने, कहिले डढेको हुने, कहिले नुनको मात्रा नै नपुगेको, दालमा पानीको मात्रा अत्यधिक भएको, त्यही खाना पनि समयमा नआउने तथा पेट भरेर खान नपाइने गरेको आइसोलेसनमा बसेकाहरूको भनाई छ। ‘हामीले पटक पटक क्यान्टिन व्यवस्थापक, सहायक सिडिओ, ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि जानकारी गराउँदै आएका छौँ। जति सुनाए पनि सुधार भएन, कोरोनाले भन्दा काँचो खाना र भोकले मार्छ की जस्तो भयो।’ नाम गोप्य राखिने शर्तमा ती व्यक्तिले भने, ‘यो अवस्थामा हामीलाई कुनै पनि व्यक्ति र निकायबाट कुनै सहयोग हुन सकेन। यही अवस्थामा हामीमध्ये कसैलाई पनि केही अप्रिय घटना भएमा त्यसको जिम्मा कसले लिने हो?’

खानामा बेवास्ता गरिएका कारण नै आइसोलेसनमा आमाको साथमा रहेका एक बच्चाले दूध खान नपाउँदा रोएरै हैरान पार्ने गरेको अर्का व्यक्तिले बताए। ‘यहाँ सानो बच्चा छ, आमाको दूध राम्रोसँग आएको छैन। के खानु छ र आमाको दूध आउने हो?’ उनले भने, ‘बच्चाका लागि दिनको आधा लिटर दूध ल्याइदिन भन्दा पनि कसैले दिएन। अहिले स्यार्लेस पानीमा घोलेर खुवाएका छौँ।’

कोरोना सङ्क्रमण भए पनि आफूहरूमा कुनै लक्षण नदेखिएको तथा आइसोलेसन बाहिर रहँदा बलियो रहेको स्वास्थ्य अवस्था आइसोलेसनमा रहँदा बिग्रने हो की? भन्ने चिन्ता लागेको आइसोलेसनमा रहेकी मोदी गाउँपालिकाकी एक महिलाले बताइन्। ‘खाजा दियो सधैँ पाउरोटी मात्र, अरू खानमा पनि कुनै गुणस्तर छैन।भातमा दाल हाल्दा सलल पानी छेउमा उत्रिन्छ। पानीमा नुन हालेर उमालेको जस्तै छ।’ उनले भनिन्, ‘त्यही पानी पनि भात मुछ्ने गरी आउँदैन, निस्तो खानु परेको छ। हामीहरूमाथि कुकुरको जस्तो व्यवहार भयो।’

संक्रमितहरुले खानाको बिषयमा गरेको गुनासो स्वभाविकै भएको तथा संक्रमितहरुको उपचारको लागि आवश्यक कम्युनिटी सपोर्ट नपाएको उपचारमा खटीएका एक चिकित्सकले पनि बताए।

यस विषयमा सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले पनि आइसोलेसनबाट पटक पटक गुनासो आएपछि खाना तयार गर्ने पक्षलाई बोलाएर कुरा गरिएको बताए। सुरुमा सङ्क्रमित भेटिँदाको अवस्थामा खाना तयार गर्ने कोही पनि नपाएका कारण युनिभर्सलबाट मात्र खाना सप्लाई हुँदै आएकोमा अब पनि गुनासो आइरहे अन्य विकल्प पनि खोजिने उनको भनाई छ। ‘३-४ पटकसम्म खाना तयार गर्नेलाई बोलाएर हामीले कुरा गरिसकेका छौँ। समस्याहरू सुनिएको छ। सुधार गर्नुपर्छ है भनेका हौँ। अझै पनि सुधार नभएको भए फेरि बोलाएर कुरा गर्नुपर्छ।’ उनले भने, ‘सुरुको अवस्थामा खाना तयार गर्न कोही राजी नभएकोले एक ठाउँबाट मात्र खानाको काम भएको थियो। अहिले पसलहरू खुलेका छन्। अन्य पक्ष पनि तयार भएका छन्। सुधार नभए विकल्प खोज्नुपर्छ।’

सङ्क्रमितहरूको लागि खाना तयार पार्ने र पठाउने काम गर्दै आएको युनिभर्सल पार्टी प्यालेसका सञ्चालक अशोक गुरुङले भने आफूहरूले खानमा कुनै लापरबाही नगरेको बताएका छन्। क्वारेनटाइन र आइसोलेसनमा रहेका सबैलाई धेरै मात्रामा खाना तयार पार्दा थोरैलाई बनाएको जस्तो भनेकै स्वादमा नबन्न सक्ने उनको भनाई छ।

‘एकै छाकमा धेरै जनाको लागि खाना तयार गर्नुपर्छ। थोरै जनाको लागि पकाएको जस्तो धेरै जनालाई पकाउँदा त कहाँ हुन्छ?’ उनले भने, ‘उहाँहरूको स्वास्थ्यप्रति हामी जिम्मेवार छौँ। हामीले जानाजान त्यस्तो गरेका छैनौँ।’ खाना सप्लाईको लागि केही पालिकाहरूबाट पेस्की आएको भए पनि अन्यबाट नआउँदा धान्न नै मुस्किल भइरहेको पनि गुरुङको भनाई छ।

गुप्तेश्वर बहूमुखी क्याम्पसको आइसोलेसनमा ६० जना, होटेल ब्लु एन्जलमा ३ जना गरी ६३ जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.