विवादसँगै आशंकाको भूमरीमा दुवै पक्ष, प्रधानमन्त्री भन्छन् : थाहा पाएरै संसद रोकेँ

|

काठमाडौं : तत्कालीन नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी अहिले राष्ट्रपतिको दोस्रो कार्यकाल चलाइरहेकी छन्। नेकपा एमालेको नवौं महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीको समूहबाट उपाध्यक्षमा निर्वाचित भण्डारी राष्ट्रपति बने सँगै पार्टीसँगको उनको सबै किसिमको सम्बन्ध संविधानत: अन्त्य भयो। 

आफ्नो पहिलो कार्यकालमा कम विवादित बनेकी भण्डारी दोस्रो कार्यकालमा प्रतिपक्ष मात्र होइन सत्तारुढ नेकपाकै आलोचनामा परिरहेकी छन्। राष्ट्रपति जस्तो गरिमामय पदमा भएर पनि सत्तारुढ नेकपाभित्र देखिएको किचलोलाई शान्त पार्नुको बदला शीतल निवासलाई नै एउटा गुटको स्वार्थपूर्ति गर्ने थलोका रुपमा परिणत गरेको आरोप उनीमाथि लागिरहेको छ।

अझ उनीमाथि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई मात्र साथ दिएर नेकपाका अन्य नेताको हुर्मत लिएको आरोप छ। ओली बाहेका नेताहरुले उनीमाथि राष्ट्रपतिको कार्यालयमा बसेर नेकपा भित्रको राजनीति गरेको आरोप लगाइरहेका छन्। कांग्रेसले पनि बेला बेला यो आरोप उनीमाथि तेर्स्याउने गरेको छ। 

नेकपाको विवाद 

पछिल्लो समय नेकपामा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच शक्ति संघर्ष चर्किएपछि राष्ट्रपतिको भूमिकालाई लिएर विवाद सुरु भएको हो।

खास गरी अध्यक्ष दाहालले राष्ट्रपतिको भूमिकालाई लिएर निरन्तर प्रश्‍न उठाउँदै आएका छन्। पछिल्लो पटक यही बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु बजेट अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्‍यो।

बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संसद अन्त्य गर्न गरेको सिफारिस राष्ट्रपतिको कार्यालयबाट केही घण्टाभित्र कार्यान्वयनमा ल्याइयो। अर्थात राष्ट्रपतिको कार्यालयले बिहीबार साँझ ५ बजेदेखि लागु हुने गरी संसद अधिवेशन अन्त्य गरिदियो। 

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरिने व्यवस्था संविधानमै छ। तर दुईजना मन्त्रीसमेत बैठकमा आइ नपुग्दै मन्त्रिपरिषद् बैठकले हतार हतार संसद अधिवेशन अन्त्यको निर्णय गरिदियो।उता  राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले त्यही दिन दुई पटक राष्ट्रियसभा बैठक राखे।

अर्कातिर संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक यही असार २२ बस्‍ने कार्यतालिका संसद सचिवालयले पहिले नैं सार्वजनिक गरेको थियो। अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्बन्धी र नागरिकतासम्बन्धी महत्वपूर्ण विधेयकसमेत अड्किएको अवस्थामा सरकारले हतार हतार संसद अधिवेशन अन्त्य गरिदियो।

प्रचण्डको असन्तुष्टि

नेकपामा गत मङ्सिरदेखि सतहमा देखिएको विवादले आफूमाथि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हटाउने दबाब परिरहेको कुराको गम्भीरता ओलीले बुझिरहेका थिए।

नेकपामा विवाद चुलिएका बेला संसदबाट आउनसक्ने अविश्‍वास प्रस्तावसहितका सम्भावित चुनौतीलाई तत्कालका लागि टार्न पनि ओलीले तत्कालै संसद अधिवेशनलाई अन्त्य गरिदिएपछि अर्का अध्यक्ष प्रचण्ड आक्रोशित भए। यद्यपि अधिवेशन अन्त्य गर्ने बिषयमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षका नेता शेरबहादुर देउवा र अध्यक्ष दाहालसँग परामर्श गरिएको प्रधानमन्त्री निकट स्रोतले बताउदै आएको छ।

यस्तै आक्रोश वरिष्ठ नेता माधवकुमार नेपालले भन्दा धेरै झलनाथ खनालले पोखिरहेका छन्। संसद अधिवेशन अन्त्य गर्ने सुइँको पाएपछि बिहीबार बिहानै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई त्यस्तो कदम नचाल्न भनेको बताएका छन् । तर ओलीले आफूमाथिको एउटा मुख्य सम्भावित चुनौती टारिदिन मन्त्रिपरिषद्को आकस्मिक बैठक गरेर संसद अधिवेशन अन्त्य गरिदिएको नेकपा कै नेताहरुको अनुमान छ।

सरकारले सिफारिस गरे पनि अध्यक्ष दाहाल राष्ट्रपति कार्यालयले उक्त कदमलाई रोक्न सक्ने विश्‍वासमा थिए। तर राष्ट्रपतिले बालुवाटारमा भएको निर्णय सिंहदरबार हुँदै शीतल निवास आउनेबित्तिकै कार्यान्वयनमा लगिदिइन्। 

संसद अधिवेशन स्थगित भइसकेपछि प्रचण्ड राष्ट्रपति कहाँ पुगेका थिए। त्यसअघि प्रधानमन्त्री ओली दुई पटक शीतल निवास पुगिसकेका थिए। सरकारले संसद अधिवेशन अन्त्यको कदम चालेपछि प्रधानमन्त्री ओलीसँग केही बेर संवाद गरेपछि शीतल निवास पुगेका प्रचण्ड त्यहाँबाट निराश भएर फर्किएका थिए। 

संसद स्थगनपछि प्रचण्डको अर्को आशंका थियो यसअघि ल्याएर फिर्ता भएको राजनीतिक दल ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउने सम्भावना।  सरकारले त्यो अध्यादेश ल्याएमा रोकिदिन राष्ट्रपतिलाई दाहालले आग्रह गरेका थिए। 

'दल विभाजनसम्बन्धी अध्यादेश आएमा तपाईंले दुईचारदिन रोकि दिनुहोला। त्यसो भएमा हामी पार्टीमा देखिएको विवाद मिलाउँछौँ', उनले राष्ट्रपतिलाई भेटेर आएपछि नेताहरुसँग भनेका थिए, 'पार्टी अध्यक्षको हैसियतले यति कुरा भन्‍न आएको भनेर मैले मेरो कुरा राखेर फर्किएँ।' 

तर दाहालले राष्ट्रपतिको भूमिकामाथि शंका गर्नुपर्ने प्रशस्त ठाउँ रहेको बताएका थिए। 'राष्ट्रपतिको भूमिकाप्रति मलाई शंका लागेको छ। यदि पार्टीमा सहमति हुन सकेन भने स्थायी कमिटी विभाजनको बैठक पनि हुने अवस्था छ।'

दाहालले राष्ट्रपतिको भूमिकामाथि शंका गर्ने प्रशस्त ठाउँ रहेको बताउँदै पार्टी विभाजनलाई अन्तिमसम्म रोक्न आफूले कोशिश गर्ने कुरा आफूनिकट स्थायी कमिटी सदस्यहरु माझ राखेका थिए। 

प्रधानमन्त्रीले के भने ? 

अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालसँगको विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले पनि बालुवाटारमै आफूनिकट नेता कार्यकर्तासँगको छलफललाई तीव्र बनाएका छन्। नेकपाका भातृ र जनवर्गीय संगठनका इन्चार्ज, अध्यक्ष र संयोजकसहितका नेताहरुसँग उनले छलफललाई अघि बढाइरहेका छन्। 

बिहीबार र शुक्रबार राति बालुवाटारमा आफ्ना नेता कार्यकर्तासँग भएको छलफलमा ओलीले राष्ट्रपतिलाई महाभियोग लगाउने समेत तयारी आफ्नै पार्टीबाट भएको बताएका थिए।

उक्त छलफलमा ओली पार्टी फुटसम्मको तहमा पुगेको अवस्थामा पनि तयार रहन निर्देशन दिएका छन्। उनले राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउने गरि आफ्नै पार्टीमा पूर्ण तयारी रहेको सूचना पाएपछि तत्कालै संसद अधिवेशन अन्त्यको कदम चाल्नुपरेको बताएका छन्।

'राष्ट्रपतिलाई हटाउने पूर्ण तयारी गरेको सूचना आएपछि तत्कालै संसद अधिवेशन अन्त्यको निर्णय सरकारले लिएको हो', उनले बिहीबार र शुक्रबार भएको छलफलमा एउटै कुरा दोहोर्‍याए, 'अहिले नेपालको राष्ट्रपतिले सरकारले जे निर्णय गर्छ, त्यसलाई संविधान बमोजिम कार्यान्वयन गर्ने हो, यस्तो अवस्थामा राष्ट्रपतिलाई विवादमा ल्याएर हटाउने सम्मको खेल गरेको मैले थाहा पाएको छु।'

बालुवाटारमा बोलाएपछि पुगेका एउटा जनवर्गीय संगठनका इन्चार्जले प्रधानमन्त्री जुनसुकै अवस्थाको पनि सामना गर्ने तयारीमा छन्। 'कुनै पनि बहानामा राष्ट्रपतिमाथिको आक्रमण स्विकार्न सकिँदैन', ओलीको भनाइ उद्धृत गर्दै बालुवाटारको छलफलमा सहभागी जनवर्गीय संगठनका एक नेताले थाहाखबरसँग भने, 'तपाईंहरु जुनसुकै अवस्थाको पनि सामना गर्न तयार रहनु होला। म पार्टी फुटाएर जान्‍न तर त्यस्तो परिस्थिति आयो भने सामना गर्न पनि तयार हुनुपर्छ ।'

राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरि उक्त पद निष्क्रिय तुल्याउने योजनामा पार्टीकै नेताहरु रहेको सूचना आफूले पाएको प्रधानमन्त्रीले बालुवाटारमा बताएका छन्। 'उहाँलाई पुगेको सूचनामा राष्ट्रपतिलाई महाभियोग लगाएर निस्क्रिय गराएपछि उपराष्ट्रपति नन्दबहादुर पुनलाई सक्रिय बनाउने भन्‍ने रहेछ', छलफलमा सहभागी एक नेताले भने, 'उहाँले यो कदम कसले चाल्न खोजेको केही भन्‍नु भएन तर आफू विरुद्ध अहिले गतिविधि गरिरहेकै एक नेताले यस्तो योजना बनाएको उहाँले उल्लेख गर्नु भयो।'

ओलीले छलफलमा राष्ट्रपति भण्डारीलाई महाअभियोगबाट निस्क्रिय गराएपछि पार्टीकै वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने खेल भइरहेको सूचना पाएको पनि बताएका थिए। 'राष्ट्रपतिदेखि तलसम्म सेट नै परिवर्तन गर्ने खेल भइरहेको सुनेको छु। तर त्यस्ता कच्चा खेलसँग डराएर भाग्‍ने कुरा हुँदैन', उनले शुक्रबार राति ९ बजेदेखि साढे ११ सम्म बालुवाटारमा भएको जनवर्गीय संगठनका नेतासँगको छलफलमा भने, 'राष्ट्रपति र प्रधानमन्त्री दुवै हटाउने योजना सफल हुन म दिन्‍न, बरु जुनसुकै चुनौती फेस गर्न तयार छु।'

नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री  माधवकुमार नेपाल राष्ट्रपति झलनाथ खनाल उपप्रधानमन्त्री वामदेव गौतम र भीम रावललाई बनाउने तयारीका साथ नेकपा भित्रैबाट तयारी भइरहेको सूचना बालुवाटार पुगेपछि अध्यक्ष तथा प्रधानमन्त्री ओली अझ सक्रिय भएर आफ्ना विपक्षीबिरूद्ध लागेका हुन्। 

अर्को एक सूत्रले माधव नेपाललाई बढीमा एक वर्ष राखेर सहमतिको प्रधानमन्त्रीमा डाक्टर बाबुराम भट्टराईलाई बनाएर उनीबाटै निर्वाचन गराउने योजना मुलुक बाहिरबाट भएको सूचना बालुवाटार पुगेको बताइएको छ। बालुवाटारको विश्लेषण अनुसार ओलीविरुद्धका गतिविधि नागरिकता विधेयक, भारतले मिचेको भूमि लिम्पियाधुरा नेपालको नक्सामा समावेश र एमससिसी नै प्रमुख हुन् । 'अरु कुरा त बाहिर देखाउन भनिएका कुरा मात्रै हुन्', ओलीनिकट सूत्र भन्छन्, 'अहिले पार्टीमा निकालिएको विवाद पनि सैद्धान्तिक हुँदै होइन, यो त शक्तिका लागि भएको एउटा संघर्ष मात्रै हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.