|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। केही बेरअघि उनी राष्ट्रपति भण्डारीसँग परामर्शका लागि शीतल निवास छिरेका हुन्। 'अहिले उहाँ शीतल निवास जानु भएको छ', प्रधानमन्त्रीका एकजना सल्लाहकारले भने, 'त्यसपछि मन्त्रीहरुसँग परामर्श गर्ने कार्यक्रम छ।'

सत्तारुढ नेकपाभित्रको विवादले उग्ररूप लिइरहँदा प्रधानमन्त्रीले राष्ट्रपतिसँग निरन्तर परामर्श गरिरहेका छन्। पछिल्लो पटक नेकपा स्थायी कमिटी बैठक चलिरहँदा उनले एकै दिन दुई पटकसम्म राष्ट्रपतिलाई भेटेका थिए।

प्रधानमन्त्रीले शीतल निवासबाट फर्किएपछि मन्त्री र राज्यमन्त्रीहरूलाई भेट्ने भएका छन्। त्यसका लागि उनले आफ्नो क्याबिनेटका सबै मन्त्री र राज्यमन्त्रीहरूलाई शनिबार साँझ ७ बजेका लागि बालुवाटारमा बोलाएका छन्।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँगको विवादले पार्टी फुटको अवस्थामा पुगेका बेला प्रधानमन्त्रीले आफूनिकटहरुसँग परामर्शलाई पनि तीव्र बनाइरहेका छन्।

आफूमाथि दुवै पद छाड्न दाहालले दबाब दिएपछि ओलीले कुनै हालतमा पछि नहट्ने अडान लिएका छन्। उनले पार्टी फुट्नेसम्मको अवस्था आउने भएकाले त्यही अनुसार तयारी अवस्थामा रहन पनि निर्देशन दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.