दाहालले भने : ओली तत्कालै पदबाट हट्ने अवस्था देखिएन

|
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले पार्टी विभाजनको अवस्थामा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा सचिवालयका ६ सदस्यसहितका स्थायी कमिटी सदस्यहरु भेला भएका छन्। 

खुमलटारमा भएको भेलामा पार्टीलाई फुटबाट कसरी अगाडि बढाउन सकिन्छ भन्‍नेबारेमा छलफल भएको बताइएको छ। ‘जारी स्थायी कमिटी बैठकमा अब कसरी अगाडि बढ्ने भन्‍नेबारेमा छलफल भएको हो। उहाँहरुले पार्टी फुटलाई जोगाएर कसरी अघि बढ्ने भन्‍नेबारेमा छलफल गर्नुभयो’ खुमलटार स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओलीको कारणले अब स्थायी कमिटीको बैठक रोक्न नहुनु धारणा राख्नुभएको छ।’

उक्त बैठकमा अध्यक्ष दाहालले शुक्रबार अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग भएको तीन घण्टा लामो छलफलबारे ब्रिफिङ गरेका थिए। 'अध्यक्ष दाहालले शुक्रबार भएको प्रधानमन्त्री ओलीसँगको भेटबारेमा जानकारी गराउनु भयो। उहाँले तत्काल आफ्नो अडानबाट टसमस नहुने पक्षमा रहनुभएको अध्यक्ष दाहालले बैठकमा राख्नुभयो,’ स्रोतले भन्यो, ‘अब अध्यक्ष दाहालले एकपटक ओलीसँग सहमतिको प्रयासका लागि कुरा गर्नु हुने भएको छ। अध्यक्ष दाहालसँगको वार्तामा उहाँले  बिमति जनाउनुभयो भने त्यसपछिको निर्णय स्थायी कमिटीले लिने पक्षमा नेताहरु एकजुट भएका छन्।’

पार्टी विभाजनको अवस्थामा पुग्दा समेत प्रधानमन्त्री ओली आफ्नो अडानबाटपछि नहटेपछि शनिबार दिउँसो अध्यक्ष दाहाल निवासमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मासहितका नेता भेला भएका थिए। 

प्रधानमन्त्री ओलीले शुक्रबारको वार्तामा दुवै पदबाट राजीनामा दिन अस्वीकार गरेपछि शनिबार बिहान शनिबार बिहान खुमलटारमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको थियो। ओलीले आफ्नो अडान नछोडेपछि अब कसरी अघि बढ्ने रणनीतिबारे छलफल भएको स्रोतले बतायो। 

दाहाल-नेपाल समूहले प्रधानमन्त्रीको असार १४ को नेपाल-भारत सीमालाई लिएर सरकार ढलाउन सक्रिय भएको भन्दै अध्यक्ष दाहाल र नेपाललाई लक्षित गर्दै अभिव्यक्ति राखेपछि स्थायी कमिटीको बैठकमा ओलीको राजीनामा माग भइरहेको छ। सचिवालयका ६ सहित स्थायी कमिटीका ३० बढी सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेका छन्। 

तर, प्रधानमन्त्री ओलीले बालुवाटारमै भएको बैठक छलेर चालु संसद अधिवेशनसमेत अन्त्य गरेका छन्। ओलीले संसद अधिवेशन अन्त्य गरेपछि पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको दाहाल-नेपाल पक्षले आरोप लगाउँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.