चार जिल्लामा ५ सयभन्दा बढी संक्रमित

|

डडेल्धुरा : सुदूरपश्चिमका विभिन्न अस्पतालबाट झन्डै ७०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार शनिबार साँझसम्म यहाँका विभिन्न अस्पतालबाट ६९० जना डिस्चार्ज भएका हुन्। सबैभन्दा बढी धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट  उपचारपछि १७१ जना घर फर्किएको निर्देशनालयले जानकारी दिएको छ।

यस्तै, डडेल्धुरा अस्पतालबाट १०६ जना, महाकाली अस्पतालबाट ९९ जना, बयलपाटा अस्पताल अछामबाट ९८ जना, टीकापुर अस्पतालबाट ४८ जना र जिल्ला अस्पताल डोटीबाट ३८ जना डिस्चार्ज भएका छन्।

जिल्ला अस्पतालहरू, क्रमश: बझाङबाट ३१ जना, २८ जना, बैतडीबाट १६ जना, बाजुराबाट १३ जना, मालाखेती अस्पताल कैलालीबाट १५ जना, गोकुलेश्वर अस्पतालबाट ६ जना, भजनी स्वास्थ्य केन्द्र र चौमाला प्राथमिकता स्वास्थ्य केन्द्रबाट पाँच/पाँच जना डिस्चार्ज भएको जनाइएको छ। 

सुदूरपश्चिममा अहिलेसम्म तीन हजार ५९४ जनामा कोरोना पुष्टि भएको छ। कैलालीमा सबैभन्दा धेरै ८२९ जनामा कोरोना देखिएको छ। अछाममा ५८६, डोटीमा ५५३ र बाजुरामा ५३९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै, कञ्चनपुरमा ३९७, डडेल्धुरामा २५८, बैतडीमा २५७, बझाङमा २ ४६ र दार्चुलामा १७ जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिममा शनिबार ५९ जना कोरोना संक्रमित थपिएका थिए। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४९ र धनगढी प्रयोगशालामा १० गरी यहाँका थप ५९ जनामा कोरोना पुष्टि भएको थियो। अछामका ३७, कञ्चनपुरका ६, डोटी र डडेल्धुराका तीन–तीन जनामा कोरोना पुष्टि भएको हो।

यस्तै धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ६ पुरुष र चार महिला गरी १० जनामा कोरोना पुष्टि भएको थियो। सेती अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उप–महानगरपालिका २ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको थियो।

सुदूरपश्चिममा अहिलेसम्म आठ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्‌।

चार जिल्लामा ५०० भन्दा बढी संक्रमित

सुदूरपश्चिमका चार जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित पुगेका छन्। अहिले नेपालका ११ वटा जिल्लामा कोरोना संक्रमित प्रतिजिल्ला ५०० भन्दा धेरै रहेको छ। यी ११ मध्ये चा जिल्ला सुदूरपश्चिमका हुन्‌।

​कैलाली, अछाम, डोटी र बाजुरामा प्रतिजिल्ला ५०० भन्दा बढी संख्यामा संक्रमित भेटिएका छन्‌। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना संक्रमित कैलालीमा छन्।

अहिलेसम्म कैलालीका ८२९ जनामा कोरोना पुष्टि भएको छ। यस्तै अछाममा ५८६, डोटीमा ५५३ र बाजुरामा ५३९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

उता, प्रदेश २ का तीन जिल्ला, प्रदेश ५ का तीन जिल्ला र कर्णालीको १ जिल्लामा प्रति जिल्ला ५०० भन्दा बढी कोरोना संक्रमित पाइएको पुष्टि भएको जानकारी मन्त्रालयले दिएको छ।

प्रदेश २ का महोत्तरी, सर्लाही, रौतहटमा प्रतिजिल्ला ५०० भन्दा बढी कोरोना संक्रमित छन्। प्रदेश ५ का कपिलवस्तु, पाल्पा र दाङमा पनि प्रतिजिल्ला ५०० भन्दा बढी कोरोना संक्रमित छन्। यस्तै कर्णालीको दैलेखमा ५०० भन्दा बढी संक्रमित रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.