संखुवासभा : ग्रामीण भेगका गाउँ बस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन हराउँदै जान थालेको छ। नौमती बाजा बजाएर, असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा कृषकहरुको संस्कृति स्मृतिमा सीमित हुँदै जान थालेको छ।
बेठी परम्पराको जगेर्ना गर्न पाँचखपन नगरपालिका–६ वानाका चार दाजुभाइले २० वर्षपछि गत वर्ष बेठी लगाएर धान रोपाइँ गरेको थिए। तर, यस वर्ष निरन्तरता पाउन सकेन। हराउ नै लागेको बेठीको संरक्षण गर्नको लागि अघिल्लो वर्ष बेठी लगाएको चन्द्रबहादुर श्रेष्ठले बताए।
पहिले नै हिलो आली सकेर तयार पारेको पर्याप्त पानी पुग्ने खेत, तयारी अवस्थाको धानको बिउ, दर्जनौं हलगोरु, सोही अनुपातमा बाउसे, रोपाहार अनि बाजागाजाको टोली भएपछि मात्र बेठीको रौनक शुरु हुन्छ। मानिस र हिलो माटो बीचको सम्बन्धको प्रतीकसमेत बन्दै आएको किसानले माटोको टीका थाप्नु पर्ने बेठीमा दर्जी समुदायले बाजा बजाउने र कृषकले आ–आफ्नो भूमिका अनुसारको खेतमा काम गर्नु पर्ने चलन रहेको पाँचखपन– १ का ७१ वर्षीय टीकादत्त भट्टराईले बताए।
अरू बेला गरिएको रोपाइँमा खेताला पर्म र बोलाइएकाहरूलाई पैसा दिनुपर्ने भए पनि बेठीमा आएकाहरुको पर्म तिर्नु पर्दैन। तर रोपाईँ सकिएपछि माटोको टीका र धानको बिउको फूल लगाएर रोपार र चेलीबेटीहरुलाई दक्षिणास्वरूप पैसा दिने चलन छ।
आजभोलि गाउँघरतिर पहिलेको जस्तो खेतीपातीको काममा आकर्षण छैन। पछिल्लो समय ग्रामीण भेगका युवापुस्ता शहर केन्द्रित श्रम, वैदेशिक रोजगारी र र कृषि कार्यमा अपेक्षित ज्याला नपाइने भएकाले खेतीपाती छाड्ने गरेका छन्।
संखुवासभामा १३ हजार हेक्टर जमिनमा धान खेती गरिने गरेको कृषिज्ञान केन्द्र संखुवासभामा प्रमुख गोविन्द आचार्यले बताए। जिल्लामा अहिलेसम्म १७ प्रतिशत धान रोपीसकिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।