|

काठमाडौं : कृषि विकास बैंकको सूचना प्रविधि प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रहेका फरार प्रतिवादी पक्राउ परेका छन्। 

धादिङ रुबिभ्याली गाउँपालिका–२ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने ३६ वर्षीय सौजन तामाङलाई ललितपुर ललितपुर महानगरपालिका–४ जावलाखेलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।   

पक्राउ तामाङलाई संगठित अपराध समेतका कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ। ​रेमिट कम्पनीका कर्मचारीको सानो सूचनाका कारण ठूलो रकम विदेश लैजाने ह्याकरको योजना विफल भएको थियो।

ह्याकरले पाँच अर्ब रुपैयाँ निकाल्ने योजना बनाए पनि उनीहरूले झण्डै ७० लाख मात्र निकालेका थिए। सो रकममध्ये ६० लाख बरामद भएको थियो। उक्त घटनामा मुख्य योजनाकार मानिएका विदेशी नागरिक ‘काले’ भन्ने पिटर भएका अनुसन्धानबाट खुल्न आएको छ। उनी लामो समयदेखि भारतको मुम्बईमा रहेर नेपालका बैंक तथा वित्तीय संस्थाको सफ्टवेयर ह्याक गरी रकम चोरी गर्ने काममा रहँदै आएका खुलेको छ। 

महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पैसा निकाल्दै गर्दा विभिन्न क्षेत्रबाट १२ जनालाई पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.