वार्ताबाटै समाधान निस्कने विश्‍वास

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच आइतवार बालुवाटारमा भेटवार्तामा सहमति नभए पनि दोस्रो तहका नेताहरुले वार्ताबाटै विवाद समाधान हुने दाबी गरेका छन्।  

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भएको डेढ घण्टा लामो छलफल सहमतिमा पुग्‍न नसकेर टुंगिएको छ। तर भोलि बस्ने स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच छलफल भएर विवाद समाधान हुने स्थायी कमिटी सदस्य रघुजी पन्तले थाहा खबरलाई बताए। सकारात्मक परिणाम ल्याउनकै लागि वार्ता भइरहेकाले विवाद समाधान हुने विश्‍वास उनले लिएका छन्। 

‘कुराकानी आज मिलेन भोलि बस्‍ने सहमति भएको छ भन्‍ने मैले जानकारी पाएको छु। कुराकानी गर्ने भनेकै सकरात्मक परिणाम ल्याउन हो नि', उनले भने, मेरो विश्‍वास के छ भने यो सहमतिमा टुङ्गिन्छ।’ 

कुरो मिल्छ : नेम्वाङ

यस्तै अर्का स्थायी कमिटी सदस्य तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि वार्ताबाटै सहमति नजिक पुगिने दाबी गर्छन्। पार्टीले गत निर्वाचनमा जनतामाझ गरेको बाचा बिर्सन नहुने बताए। 

‘हामीले जनताबीच जाँदा यो देशको अस्थिरता जुन छ त्यसलाई हामी समाप्त गर्छौँ, ५ वर्षसम्म अस्थिरता हुन दिदैनौँ, सरकार चलाएर देखाउँछौ भनेका थियौं', उनले थपे, ‘जनताले हामीलाई विश्वास गरेर झण्डै दुईतिहाइ मत दिए, त्यसैको आधारमा जनताको म्यान्डेटलाई ध्यानमा राखेर पार्टी एकता गर्यौ, एकताको प्रकृयाअनुसार यहाँसम्म आइ पुग्यौं। हाम्रा शीर्ष नेताहरुले, अध्यक्षहरुले हाम्रा जनता र कार्यकर्तासँग गरेको प्रतिवद्धता बिर्सनुभएको छैन, बुझ्नुभएको छ।’ 

उनले विवाद चुलिरहे पनि वार्ताबाटै निचोड निस्किने विश्‍वास लिएका छन्। 'यस्ता समस्याको हामी वार्ता र संवादमार्फत समाधान गर्छौँ, यही कुरालाई ध्यानमा राखेर मैले भनेको थिएँ, त्यही ढङ्गले अघि बढिरहेका छौँ', उनले थपे।

नेम्वाङले आइतबारको बैठकमा ओलीको तर्फबाट सहभागी विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मालाई अनौपचारिक रुपमा कार्यदल मानेर विवाद समाधानमा भूमिका निर्वाह गर्ने जिम्मेवारी दिइएको पनि उल्लेख गरेका छन्। 

'आज दिनभरी नै छलफल भयो, हिजो पनि छलफल भयो र यो छलफललाई निरन्तरता दिँदै समस्या समाधान गर्छौ', नेम्वाङले भने। आइतबार दुई अध्यक्षको बैठकमा सहभागी स्थायी कमिटी सदस्य शर्माले पनि अध्यक्षद्धयको पछिल्लो बैठक सकारात्मक दिशामा अघि बढेको दावी गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.