१० घरपरिवार विस्थापित

|

बैतडी : लगातारको वर्षापछि आएको बाढी पहिरोले बैतडीका विभिन्न स्थानमा बाढी क्षति गरेको छ। जिल्लाको सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका र पुर्चौडी नगरपालिकामा बाढी र पहिरोले क्षति पुर्‍याएको हो।  सिगास र पुर्चौडीमा  २ घरमा पहिरोले क्षति पुर्‍याएको छ। 

घरमाथिबाट आएको पहिरोले आज सिगास गाउँपालिका-६ खेतीका डम्बर बहादुर ऐरको घरमा क्षति पुर्‍याएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए। 

पहिरोले घरमा क्षति पुर्‍याएको भएपनि अन्य मानविय क्षति भने नगरेको जनाइएको छ।  यसका साथै त्यही ठाउँका ६ घरहरु पनि पहिरोको उच्च जोखिममा रहेको उनले बताए।  ती सबै घरपरिवार विस्थापित भएर आफन्तको घरमा बसेका छन्। प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

यस्तै पुर्चौंडी नगरपालिका वडा नं ७ ऐरीगाउँमा पहिरोले स्थानीय मंगल ऐरको घरमा क्षति पुर्‍याएको त्यहाँबाट देवबहादुर ऐरले जानकारी दिए। गएराति घरमाथिबाट खसेको पहिरोले घरको छत पुरेको छ भने शौचालय भत्काएको छ।  माथिबाट खसेको पहिरोले त्यस ठाउँका १० घर जोखिममा परेका ऐरको भनाई छ।  

पहिरोले घरमा क्षति पुर्याएपछि मंगल ऐरको परिवार अहिले अर्को घरमा बसिरहेको छ। यस्तै पुर्चौडीकै नगरपालिका ३ मा गए रातिको वर्षाले २ पानी घट्ट, १ कल्भर्ट र खेतबारीमा क्षति पुर्‍याएको छ। 

नगरपालिकाको वडा नं ३ स्थित सपैया खोलामा रहेका २ घट्ट र १ कल्भर्ट बाढीले बगाएको स्थानीय खेमराज जोशीले जानकारी दिए। सपैया खोलामा रहेको कल्भर्ट बगाउँदा नगरपालिकाको केन्द्र, वडा कार्यालय र डिलाशैनी गाउँपालिका आवतजावतमा समस्या भएको छ। 

उता डिलाशैनी गाउँपालिका वडा नं १ का विभिन्‍न स्थानमा पनि बाढी र पहिरोले क्षति गरेको छ।  वडा नं १ को बडम, सेल्तडा, रामला, डुडेपानी लगायतका क्षेत्रमा पहिरो समेत खसेको छ। 

वडा नं. १ मा साना साना पहिरो पनि खसेका र ती पहिरोले १५ घर जोखिममा परेका छन्। पहिरोले गाउँमा खानेपानी बगाएको छ भने घरहरु पनि जोखिममा परेका स्थानीय मानसिंह रानाले बताए। ‘बर्षातको शुरुमै हाम्रो गाउँमा ठूलो क्षति भएको छ। खोलाले किनारका खेतीहरू बगाएको छ’, उनले भने।  

१२ कल्भर्ट पनि बगायो 

उता  डिलाशैनी–१ कै विभिन्न स्थानमा गन्नीगाड खोलाले १२ कल्भर्ट बगाएको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तम नाथ योगीले बताए। गएराति भएको वर्षाका कारण खोलामा आएको बाढीले क्षति पुर्‍याएको होे। 

खोलामा आएको बाढीले गाउँमा जाने कल्भर्ट बगाएको उनले बताए। वडा नं. १ मा मात्रै ५० लाख बढीको क्षति भएको डिलाशैनी गाउँपालिकाले जनाएको छ। अहिले पनि क्षतिको विवरण संकलन गर्ने कार्य भईरहेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति योगीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.