|

काठमाडौं : वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐन र नियमावली कार्यान्वयनमा आएको छ। वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली २०७६ अनुसार हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलयले विभिन्न कम्पनीहरुलाई इजाजत पत्र प्रदान गरेपछि कम्पनीहरुले कारोबार थालेका छन् ।

मन्त्रालयबाट वस्तुको प्रत्यक्ष बिक्रीका लागि हालै इजाजत प्राप्त गरेको नेचर हर्ब्स इन्टरनेशनल प्रालिले आइतबारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको छ। आइतबार नयाँ बानेश्वरमा आयोजित औपचारिक कार्यक्रममा नेचर हर्ब्स इन्टरनेसनलका अध्यक्ष जीवी राईले आफू नेतृत्वको कम्पनीले कारोबार सुरु गरेको औपचारिक घोषणा गरे।

नेचर हर्ब्सले असार १७ मा मन्त्रालयबाट इजाजत पत्र प्राप्त गरेको थियो। अध्यक्ष राईले वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐन र नियमावलीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट इजाजत पत्र लिएर कारोबार सुरु गरिएको जानकारी दिए। उनले ऐन र नियमावलीभित्र रहेर आफू नेतृत्वको कम्पनीले काम गर्ने बताए।

‘२०७४ को असोजमै यससम्बन्धी ऐन बनेको थियो। ऐन बनेपछि नै हामीले कम्पनी स्थापना, पूर्वाधारको निर्माण गरेका थियौं। सो ऐनको आधारमा गत फागुनमा मन्त्रिपरिषद्ले नियमावली पारित गरेपछि सोको आधारमा हामीले असार १७ गते ईजाजत पत्र प्राप्त गर्यौं,’ अध्यक्ष राईले भने, ‘हामीले आइतबारदेखि औचापरिक काम सुरु गरेका छौं। हामी कानुन बमोजिम यो काम गर्नेछौं।’

नेचर हर्ब्स इन्टरनेशन पिटिई एलटीडी प्रत्यक्ष बिक्री प्रणालीमार्फत नेपाली जैविक हर्बल उत्पादनलाई विश्व बजारमा बिक्री गर्ने पहिलो बहुराष्ट्रिय कम्पनी हो।

नेचर हर्ब्स इन्टरनेल प्रालिले प्रत्यक्ष बिक्री प्रर्णालीमार्फत गोरखा ग्रुप अफ कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित नेचर नेस्ट प्रालिबाट उत्पादित नेचर हर्ब्स ब्राण्डका जैविक हर्बल उत्पादनहरुलाई बिक्री वितरण गर्नेछ।

के हो वस्तुको प्रत्यक्ष बिक्री?

२०७४ को असोजमा प्रतिनिधिसभाले वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन पारित गर्यो। राष्ट्रपतिले स्वीकृत गरेपछि २०७४ कात्तिक १ मा सार्वजनिक जानकारीका लागि सो ऐन राजपत्रमा प्रकाशित भयो।

सो ऐन कार्यान्वयनका लागि २०७६ फागुनमा मन्त्रिपरिषद् बैठकले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली–२०७६ पारित गर्यो। सो नियमावली अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै मापदण्ड पुरा गरी प्रक्रियागत रुपमा दर्ता भएका कम्पनीहरुलाई इजाजत पत्र प्रदान गरेको थियो।

वस्तुको प्रत्यक्ष बिक्री उत्पादक कम्पनीबाट बीचमा कुनै पनि एजेन्सी नभएर सिधै उपभोक्तासम्म पुग्ने व्यवसाय हो। यो व्यवसायमा इजाजत पत्र प्राप्त कम्पनी, वस्तुको प्रत्यक्ष बिक्रेता र वितरक हुन्छन्। यस सम्बन्धी बनेको ऐन र नियमावलीअनुसार ईजाजत प्राप्त कम्पनीले वस्तुको प्रत्यक्ष बिक्रेता र वितरकहरुलाई सेवा, सुविधा, बोनस र कमिशनका रुपमा पत्यक्ष बिक्री वितरण गरिने बस्तुको बिक्री मूल्यबाट दिनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.