सञ्‍चालक समिति सदस्य भन्छन् : लापरवाही गर्दा एकैचोटी संकट आयो

|

काठमाडौं : नेपाल वायुसेवा निगमका तीनजना पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण भएको छ। निगमका अनुसार विदेशबाट यात्रु उद्धारमा खटिएका पाइलटसहित १४ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो।

'तीनजना पाइलट र अन्य ११ जना उडान कर्मचारीमा कोरोना पुष्टि भएको छ', निगम स्रोतले भन्यो, 'उनीहरुलाई होटल सोल्टीमा राखिएको छ। अब आइसोलेसनमा पठाउने तयारी भइरहेको छ।'

उनीहरु केही महिनायता विदेशबाट नेपालीको उद्धार र स्वास्थ्य सामग्री ढुवानीमा जुटेका थिए। निगमले विदेशबाट नेपालीको उद्धारका लागि खटिएका पाइलटसहितका आफ्ना कर्मचारीहरुलाई होटल सोल्टीको क्‍वारेन्टाइनमा राख्दै आएको थियो।

निगमका पाइलटसहितका कर्मचारीलाई कोरोना भएको पुष्टि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले गरेका छन्। उनले सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा निगमका चालक दलका केही सदस्यमा कोरोना पोजेटिभ देखिएकोमा दु:ख लागेको बताएका छन्। संकटकालीन अवस्थामा उहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु', उनले भनेका छन्, उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।'

​लापरवाही गर्नुको परिणाम

यसबारेमा निगम सञ्चालक समितिका सदस्य अच्युत पहाडीले भने लापरबाहीको परिणाम भनेका छन्। उनले थाहाखबरसँग कुरा गर्दै आफूले निगम सञ्चालक समितिको बैठकमा कोरोना जस्तो गम्भीर संकटसँग खेलबाड गर्दा गम्भीर परिणाम आउने भन्दा पनि कसैले नसुन्दा यो अवस्था आएको बताए।

'निगमका पाइलटसहितका कर्मचारी कोरोना संक्रमित भएको मैले पनि सुनेको छु। तर मलाई आधिकारिकरुपमा कसैले जानकारी दिएको छैन', उनले भने, 'यदि तपाईंले दिएको सूचना सही हो भने यो गम्भीर लापरबाहीको परिणाम हो। यो निगमका लागि नराम्रो संकेत हो यो। मैले सुरुबाटै थोरै कर्मचारी राखेर उद्धार उडान चलाऊँ भनेको थिएँ। त्यसो हुँदा यस्तो संकट आइ लागे अरु कर्मचारीले काम गर्न सक्थे। तर अहिले एकै चोटी धेरै कर्मचारीलाई कोरोनाले लपेटेछ।'

उनले विमानको ककपीटमा चालक दलका सदस्य छिरेपछि त्यहाँबाट बाहिर ननिस्किने गरी व्यवस्था मिलाउन भन्दा नमानेको बताए। 'बिजनेस क्लासमा यसरी धेरै यात्रु नराखौँ भनेको थिएँ। लापरवाही गर्दा कोरोना आएछ। सेफ्टी अपनाउनु पर्‍यो भन्दा नसुनेको परिणाम यस्तो भएछ।'​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.