|

काठमाडौंं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्रीको राजीनामाको विषयमा स्थायी कमिटीले निर्णय गर्ने बताएका छन्। 

थाहाखबरसँगको संक्षिप्त कुराकानीको क्रममा नेता रावलले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीको राजीनामाको विषयको कुरा उठेको हुनाले निर्णय पनि त्यही हुने बताएका हुन्।

‘स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीको राजीनामाको विषयमा कुरा उठेका छन्। त्यो स्थायी कमिटी बैठकको कार्यसूची नै बनिसकेको छ’ उनले भने, ‘त्यस विषयमा बैठकले नै निर्णय गर्नुपर्छ भन्ने पक्षमा छु।’

स्थायी कमिटीको बैठकको क्रममा सरकार र पार्टी नेतृत्वको बिषयमा समिक्षा गर्ने क्रममा जन अपेक्षित काम गर्न नसकेको आवाज उठेको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे। ‘बालुवाटारमै चलेको बैठकमा उपस्थित नहुने अनि बाहिर पार्टीभित्र समस्या सिर्जना गराउनुमा लाग्नुभएको छ। उहाँले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने देखिएको छ’ उनले भने। 

‘हामीले पार्टीलाई विधि र पद्धतिमा चलाउन चाहेका छौँ। सबैले पार्टीको निर्णय मान्नैपर्छ’ उनले भने, ‘त्यसैले सरकार र पार्टीका बिषयमा उठेको बिषयमा स्थायी कमिटीमा छलफल गरौँ। काम गर्न नसकेको देखिएमा जो सुकै भएपनि पछि हट्नुपर्ने हुन्छ। त्यसैले हामी पार्टीलाई विधानअनुसार चलाउनुपर्छ भन्नेमा जोड दिएका हौँ।’ 

‘प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर तपाईहरु कताको कित्तामा उभिने हो? उभिनुस् भन्नुभएको रहेछ’ उनले भने, ‘उहाँको यस्तो अभिव्यक्तिले पार्टी विभाजनको पक्षमा उभिएको प्रष्टै देखियो। तर, हामी विभाजनको पक्षमा उभिएका छैनौँ।’

‘पार्टीभित्र देखिएको समस्या समाधानका लागि अध्यक्षद्वयबीच छलफल चलिरहेको छ। उहाँहरुको छलफलबाट सहमति जुट्छ भन्ने पक्षमा छौँ’ उनले भने, ‘उहाँहरुको छलफल सहमति भएको कुरालाई स्थायी कमिटीमा राख्नुहुन्छ। अनि त्यही अध्यक्षद्धयको सहमतिको विषयमाथि छलफल गरेर अघि बढाउनुपर्छ।’

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भएको सोमबारको छलफल सकारात्मक भएको बाहिर सुनेको भएपनि आधिकारीक रुपमा जानकारी नभएको बताए। ‘उहाँहरुबीच सहमति जुटाउनका लागि हिजो  पनि वार्ता भएको छ। आज पनि छलफल गर्दै हुुनुहुन्छ’ उनले भने, ‘अध्यक्षद्वयको छलफल र सहमतिको विषयमा जानकारी आउँला।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.