तानसेनमा मात्रै १० भन्दा बढी होटल बन्द

|

पाल्पा : गुल्मीबाट पाल्पा आएका यूवा बालकृष्ण भण्डारीले पछिल्लो समय होटल-व्यवसाय थालेका थिए। तानसेनस्थित बसपार्क नजिकै उनले करूवा होटल एण्ड लज सञ्चालन गरे।

तर यो व्यवसाय धेरै समय टिक्न सकेन। होटल सञ्चालन भएको तीन वर्ष नपुग्दै कोरोना महामारी सुरू भएपछि उनले व्यवसाय नै बन्द गर्नुपर्‍यो। यतिखेर आफू ऋणले थिचिएको बताउने भण्डारीले होटल-व्यवसायमा लगानी गर्दा नाफाको साटो उल्टै घाटा ब्यहोर्नुपरेको छ। 

स्थानीय केही व्यक्ति र सहकारीबाट ऋण खोजेर होटल सञ्चालन गरेको भण्डारीले बताउँछन्। ‘तीन वर्षको अवधिमा केही ऋण तिरेको पनि थिएँ,’ उनले भने ‘अब केही मुनाफा पाइन्छ कि भन्ने बेलामा व्यवसाय नै बन्द गर्नुपर्‍यो।’ होटल सञ्चालन गर्न करिब २० लाख रुपैयाँ लगानी गरेको उनले सुनाए। घरबेटीसँग ५ वर्षलाई सम्झौता गरेर होटल खोलेका थिए। महिनाको ६० हजार भाडा तिर्नुपर्थ्यो। तर पछिल्लोपटक भाडा तिर्नै समस्या भएपछि उनले सधैँका लागि होटल बन्द गरेका हुन्।

‘लकडाउन सुरू भएपछि एक महिनासम्म त पर्खें,' उनले थपे, ‘फेरी पनि लकडाउन थप भयो, भाडा तिर्न सक्ने अवस्था नभएपछि बन्द गरें। होटलमा भएका सबै सामग्री घाटामा बिक्री गरेर हिँडेको हुँ।’ भाडा तिरिरहनुभन्दा एकै पटक घाटा सहेर सामग्री बेचेको उनले सुनाए। होटल बन्द गर्दा करिब १० लाख रुपैयाँ घाटा लागेको उनी सुनाउँछन्। घर भाडा, बैंकको ब्याज तिर्न र परिवारलाई खान बस्न समेत समस्या हुन थालेपछि उनी व्यवसायबाट नै पलायन भएका हुन्। 

बसपार्क नजिकै मालिका होटल सञ्चाल गर्दै आएका पाल्पा भुवनपोखरीका प्रकास लम्साल पनि व्यवसाय बन्द गरेर हिँडेका छन्। ४५ हजार रुपैयाँ घर भाडा तिर्दै आएका उनलाई पनि व्यवसाय नचलेपछि निकै सकस परेको थियो। ‘केही सामग्री सस्तो मूल्यमा बिक्री गरें,’ उनले भने ‘बिक्री नभएका फर्निचर लगायत अन्य सामग्री त्यसै छाडेर हिँडेको छु।’ घरेबेटीले डेढ महिनाको भाडा मिनाह गर्दा आफूलाई राहत मिलेको उनले सुनाए। ५ वर्षदेखि होटल-व्यवसाय गर्दै आएका उनलाई अब के गरेर परिवार पाल्ने हो भन्ने चिन्ताले पिरोल्न थालेको छ। अहिले आफू बुटवलस्थित दाईको घरमा बस्दै आएको उनले सुनाए। 

तानसेनमा धेरै वर्षदेखि सञ्चालन हुँदै आएका होटल-व्यवसाय कोरोना महामारीका कारण सधैंका लागि बन्द भएका छन्। पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायी समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठका अनुसार अहिलेसम्म १० भन्दा बढी होटल, लज र केही रेष्टुरेन्ट बन्द भइसकेका छन्। बन्द हुने क्रम जारी रहेको उनले बताए। ‘घरबेटीले नै सञ्‍चालन गर्दै आएका होटल मात्रै चलिरहेका छन्,’ उनले भने, ‘भाडा तिरेर होटल चलाउँदै आएका अधिकांश व्यवसायी पलायन हुन थालेका छन्।’ 

पाल्पाका अधिकांश होटल-व्यवसाय आन्तरिक तथा बाह्य पर्यटकले चलेका थिए। पर्यटकीय संभावना बोकेको पाल्पामा भएका ऐतिहासिक तथा पुरातात्विक संरचना र प्राकृतिक मनोरम वातावरणमा रमाउन यहाँ पर्यटक आउने गर्दथे। सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेसँगै होटल-व्यवसायमा यहाँका युवाको आकर्षण बढेको थियो। पाल्पाका होटल व्यवसायमा झण्डै दुई अर्ब रुपैयाँ लगानी भएको उनले बताए। ‘सरकारको योजना देखेर धेरै युवा होटल-व्यवसायमा आकर्षित भएका थिए,’ उनले थपे, ‘बैंकबाट ऋण काढेर सञ्चालन गरेका होटल तथा रेष्टुरेन्ट बन्द गर्नुपर्दा संचालकहरू अहिले अप्ठ्यारोमा परेका छन्।’ 

कोरोना भाइरसले सबैभन्दा बढी मारमा परेका होटल-व्यवसायीलाई सरकारले राहतमूलक कार्यक्रम ल्याउनु पर्ने उनले बताए। बैंकको ब्याजमा सहुलियत दिनुपर्ने, घरबेटीले घरभाडा छुट दिनुपर्ने, करमा छुट दिनुपर्ने जस्ता राहतका कार्यक्रमलाई प्रभावकारी बनाउन उनले सुझाए। 

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले पर्यटकले चलेका यहाँका होटल-व्यवसायी अहिले निकै समस्यामा परेको बताए। ‘स्थानीय सरकारले सक्दो राहत दिएको छ,’ उनले भने, ‘संघीय सरकारले नीति बनाएर राहत दिनुपर्छ।’ उनका अनुसार तानसेन नगरपालिकाले करमा २५ प्रतिशत छुट दिएको छ भने तानसेन नगरपालिका मातहतमा रहेका व्यापारिक सटरहरूको भाडा छुट गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.