|

काठमाडौं : समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेपछि उनको ठाउँमा ललितपुर महानगरपालिका-१३ निवासी लीला सिटौला सांसद बन्‍ने भएकी छन्। खस आर्य महिला कोटाबाट समानुपातिक सांसद बनेकी सरिताको ठाउँमा ललितपुरकी सिटौला प्रतिनिधिसभामा जाने भएकी हुन्। 

नेपालले जारी गरेको भारतद्वारा अतिक्रमित भूमिसहितको नक्साविरुद्ध उभिएपछि गिरीलाई समाजवादीले कारवाही गरेको हो। सरिता गिरी सिरहाको लहानकी हुन् भने सिटौला ललितपुरकी हुन्। समाजवादीले मंगलबार कारवाही गरेपछि सांसदबाट विस्ठापित गिरीको ठाउँमा बन्दसूचीमा उनीभन्दा तलकी सिटौला स्वतः सांसद बन्‍ने भएकी हुन्। 

पार्टीको ह्विपविरुद्ध नक्साको विपक्षमा उभिएर संसद समेत बहिष्कार गरेकी सरिता गिरीले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि समाजवादीले पार्टीबाटै उनलाई निष्काशन गरिसकेको छ। अब उनको ठाउँमा समाजवादीकै केन्द्रीय सदस्य सिटौला सांसद बन्‍ने पक्का भएको हो। आम चुनावको समानुपातिक बन्द सूचीमा सिटौलाकै नाम अगाडि भए पनि गिरीले जवरजस्ती गरेर उनलाई तल पारेको बताइन्छ।

आमचुनावमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी (फोरम) पार्टीले समानुपातिकमा ६ सिट जितेको थियो। जितेका सिटमा एक पुरुष र पाँचजना महिला सांसद बन्द सूचीबाट निर्वाचित भएका थिए। गिरीलाई कारवाही गरेर सांसद पद गुमेसँगै खाली भएको खस आर्य महिला कोटमा सिटौलाको संसदमा प्रवेश पक्का भएको हो। 

निर्वाचन कानुन अनुसार समानुपातिकको बन्द सूचीलाई तलमाथि गर्न पाइँदैन। समानुपातिक बन्द सूचीमा गिरी पछाडि सिटौला भएकाले उनैले सांसद बन्‍ने मौका पाएकी हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.