|

काठमाडौं : सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतको सक्रियताले नेपालको आन्तरिक मामिलामा चीन पनि जोडिएको विश्लेषण हुन थालेको छ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेसँगै राजनीतिक वृत्तमा अनेक खालका टिका–टिप्पणी हुन थालेका छन्। यसअघि गत बैशाखमा देखिएको नेकपाको विवाद पनि चिनियाँ राजदूतकै सक्रियतामा मत्थर भएको थियो। अहिले फेरि उस्तै विवाद बल्झिएपछि चिनियाँ राजदूत यान्छीले नेकपाका शीर्षनेताहरुसँगको भेटवार्तालाई तीव्रता दिएकी छिन्। सोमबार मात्रै नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेकी राजदूत यान्छीले मंगलबार अर्का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेट गरिन्। 

पार्टीभित्रको विवादबारे कुनै कुरा भएन : खनाल

वरिष्ठ नेता खनालले आफुलाई भेट्न डल्लुस्थित निवासमा आएकी राजदूत यान्छीसँग नेकपाभित्रको विवादबारे कुनै छलफल नभएको र यस विषयमा आफूले पनि छलफल गर्न नचाहेको दाबी गरेका छन्।

राजदूत यान्छीसँग दुई देशबीचको आपसी सम्बन्ध, नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलगायतका विषयमा कुराकानी भएको खनालले थाहा खबरलाई जानकारी दिए । ‘हाम्रो पार्टीको आन्तरिक विवादमा उहाँले पनि केही भन्नुभएन,' उनले भने, ‘मलाई पनि यो विषयमा कुरा गर्ने चाहना थिएन, त्यसैले आपसी सम्बन्धबाहेक अन्य विषयमा कुरा भएन।’ 

चीन नेकपालाई जुटाउन लागेको देखिन्छ : परराष्ट्रविद् श्रेष्ठ

चीनका लागि पूर्व नेपाली राजदूत एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ भारत र अमेरिका लगायतको सक्रियता बढेका बेला चीन चुप लागेर नबस्ने बताए। 

'अमेरिकाले नेपालमा एमसिसी पास गराउन शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदृश्य माध्यामबाट भेटघाट गराएको छ, अमेरिका पनि सक्रिय छ, भारत पनि सक्रिय छ, ओलीजीले पनि भन्नुभयो, चीन पनि सक्रिय हुन थालेको देखिन्छ,' उनले भने, नेपालको भूराजनीतिक महत्व विश्वका शक्तिराष्ट्रको नजरमा पर्दै गएको छ, सबै शक्तिहरु सक्रिय हुन थालेका छन्‌, तर अरु नेकपालाई फुटाउन लागे, चीन उनीहरुलाई जुटाउन लागेको देखिन्छ।'

भारत र चीनबीच लद्दाखमा द्वन्द्व बढेपछि दुई देशको बीचमा रहेको नेपालमा बाह्य शक्तिले सक्रियता बढाएको हुनसक्ने उनको आंकलन छ। अहिले भारत, चीन र पाकिस्तानसँगै नेपालका पनि हिमाली क्षेत्रमा सीमा विवाद रहेकाले  विभिन्न शक्तिहरूबीच द्वन्द्व चर्कन सक्ने सम्भावना बढेको परराष्ट्रविद् श्रेष्ठले जनाए। जसकारण अहिले नेपालको भूराजनीतिक महत्व बढेको उनको बुझाई छ।

'एउटा शक्ति सक्रिय भएपछि दोस्रो र दोस्रो सक्रिय भएपछि तेस्रो शक्ति पनि सक्रिय हुने हुनाले अहिले नेपालमा सबै शक्तिहरु सक्रिय रहेको छ,' उनले भने, ‘यस्तो बेला नेपाल सचेत भएर कसैको पनि सक्रियता बढ्न नदिनेगरी अघि बढ्नु नै बुद्धिमतापूर्ण हुन्छ।’

नेपालले आफूभित्रको समस्या आफैँ समाधान गर्ने, राष्ट्रिय एकता मजबुद बनाउने, एकले अर्कोलाई पाखा लगाउने भन्दा पनि एकअर्काको महत्वलाई स्वीकार गरेर अघि बढ्नुपर्ने श्रेष्ठको सुझाव छ। उनले यस्तो संवेदनशील विषयमा नेपालजस्तो देशले सबैसँग मित्रता कायम राख्ने, छिमेकीसँग समदुरी बनाउने, तर कसैको हस्तक्षेप स्वीकार नगर्नु नै देशको हितमा हुने बताए।

‘हरेकले आफ्नो स्वार्थलाई प्रवर्द्धन गर्न खोजेको देखिन्छ,' उनले भने, ‘यस्तो बेला नेपाल सर्तक भएर, देशभित्रै सबै शक्तिहरूबीच सहमति र एकता खोजेर समस्याहरु समाधान गरी बाह्य चलखेल बन्द गर्नेगरी अघि बढ्नुपर्छ।’ 

राजदूतको गतिविधि आपत्तिजनक र अस्वीकार्य : घिमिरे

वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालका नेताहरुमा आत्मसमर्पणवादी र आन्तरिक राजनीतिमा विदेशीहरूबाट दीक्षा लिने प्रवृत्तिले निरन्तरता पाएको प्रतिक्रिया दिएका छन्

राजदूतसँगको भेटमा कुनै लेनदेनको विषय थिएन भने परराष्ट्र मन्त्रालयले किन जानकारी नदिएको भन्दै उनले प्रश्न गरेका छन्। ‘अहिले चिनियाँ राजदूतका गतिविधि आपत्तिजनक र अस्वीकार्य परम्पराको निरन्तरता हो,' उनले भने, ‘यदि कुनै लेनदेनको कुरा छैन भने परराष्ट्र मन्त्रालयले किन नोट निकालेन? के का लागि नेताहरूकहाँ गइन्‌, के का लागि भेटिन्‌ भन्ने कुरा परराष्ट्र मन्त्रालयका प्रतिनिधिले किन भनेनन्? परराष्ट्र मन्त्रालयलाई किन जानकारी गराइएन?’ 

पत्रकार घिमिरे राजदूत यान्छीको सक्रियता पनि विगत १५ वर्षदेखि नेपालको राजनीतिमा विदेशीहरुको प्रवेशको निरन्तरता हो भन्छन्। तर, आफ्नो निजी स्वार्थको लागि नेपालका राष्ट्रपतिदेखि मन्त्रीसम्मले विदेशी कुटनीतिज्ञहरूसँगको भेटघाटसम्बन्धी परम्परा र प्रोटोकलको उल्लंघन गर्दै आएको उनको आरोप छ।

‘नेपालका राष्ट्रपतिदेखि, प्रधानमन्त्री, मन्त्री सबैले विदेशी कुटनीतिज्ञहरूसँगको भेटघाट सम्बन्धी परम्परा र प्रोटोकलको उल्लंघन गर्दै आएका छन्,' उनले भने, 'आफ्नो निजी स्वार्थको लागि विदेशीहरूसँग भीख माग्ने प्रकृयाको आरम्भ गरेका छन्, त्यसैको निरन्तरता हो।’

चीनको पछिल्लो सक्रियतालाई उनले हिजो भारतको नेतृत्वमा आएको नेपालको राजनीतिक परिवर्तनपछि भारतसँगै अमेरिका र युरोपको प्रवेश, चीनलाई चिढ्याउने प्रयास र नेपाल प्रवेशका लागि चीनलाई निम्ता दिनुको परिणामको रुपमा व्याख्या गरे। ‘भारतले हिजो जसरी नेपालमा आमुल परिवर्तनकारी एजेण्डा (गणतन्त्र, धर्म निरपेक्षता, संघीयता) लाद्‍यो, जसरी १२ बुदेँ सम्झौता गरायो, त्यसैको परिणामस्वरुप पछिल्लो समय चीनको सक्रियता बढेको हो,' उनले भने, 'दुबै छिमेकीको यो व्यवहारलाई नेपाली जनताले सम्मानजनक कुटनीतिका रुपमा लिएका छैनन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.