|
फाइल फोटो

दाङ : जिल्लाका यातायात व्यावसायीहरुले सवारी साधनमा खिया लाग्दा जीवन धान्न अब नसकिने बताएका छन्। चैत ११ गतेदेखि लागू भएको लकडाउनका कारण सावर्जनिक सवारीसाधन जहाँ पार्किङ गरिएको हो त्यहीँ खिया लागेको छ। 

३ महिनाभन्दा बढी नचलाएका सवारीसाधनको इन्जिन त खिया लागेर बर्बाद भए नै ती साधनमा आबद्ध कम्तीमा ५ हजार मजदुरको परिवारको अवस्था नाजुक बनेको छ। असार १ गतेदेखि लकडाउन खुकुलो भए पनि सँगै बजार लगायत सरकारी कार्यालयहरु खुले। तर यातायातका सवारी साधन अझै सञ्चालनमा आइसकेका छैनन्। 

दाङका ७ सय बढी सार्वजनिक सवारीसाधन विभिन्न प्रालिहरुमा आबद्ध छन्। बन्दाबन्दीको कारणले घरमै थन्किँदा खिया लागेको गुनासो गरेका यातायात व्यवसायीहरुले राज्यले आफूहरुका लागि केही गर्न नसकेको बताएका छन्।

तुलसीपुरका यातायात व्यवसायी युवराज शर्मा भन्छन्, ‘गाडीहरु थन्काएर राखेको करिब ४ महिना भयो, गाडीका पाटपुर्जा काम नलाग्ने अवस्थामा पुगे।’अब ती गाडी सञ्चालनका लागि करिब एक गाडी बराबर २ लाखसम्म खर्च गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। 

‘लामो समयदेखि गाडी थन्किँदा ब्याट्री, टायर काम नलाग्ने अवस्थाका भएका छन्,’ उनले भने, ‘अब ती सामानहरु नफेरी गाडी चल्दैनन्।’ त्यसैगरी राज्यले यातायात व्यवसायीहरुलाई नहेरेको पनि उनले गुनासो गरे। ‘सरकारले यातायात क्षेत्रलाई बजेट विनियोजन गर्दासमेत कुनै सम्बोधन गरेन,’ उनले भने, ‘अहिले पनि आर्थिक व्यवस्थापन गर्न सरकारले सोचेको छैन। न त निजी क्षेत्रलाई सम्बोधन गरेको छ।’ 

​त्यसैगरी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुरका अध्यक्ष केशव बहादुर भण्डारीले पनि गाडीहरु संचालन नहुँदा मजदुरहरुको अवस्था दयनीय भएको बताए। मजदुरहरु यातायात संचालन नहुँदा रोगभन्दा नि भोकसँग डराएको उनले  बताए। 

दाङमा करिब ४५ सय यातायात मजदुरहरु रहेका र तीमध्ये ५ सय जति आफ्नो घर गएका र बाँकी सबै कोठा भाडामा बस्नेहरु छन्। राज्यले श्रमिकहरुलाई भोक भोकै बस्न नदिने भने पनि अहिलेसम्म यातायात क्षेत्रका श्रमिकहरुलाई नहेरेको समेत उनले गुनासो गरे। 

त्यसैगरी त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले महासंघ र सरकारबीच गाडी संचालन गर्ने समझदारी भए पनि तत्काल चलाउन सक्ने अवस्थामा आफूहरु नरहेको उनले बताए। 

लामो समय गाडी बन्द हुँदा पाटपुर्जामा धेरै समस्या हुने भएकाले तत्काल मर्मतका लागि १/२ लाखसम्म लाग्ने उनले बताए। तर उक्त पैसा आफूहरुसँग नभएको उनको गुनासो उनीहरुको अवस्था अहिले जटिल भएको भन्दै राज्यले हेर्नुपर्ने उनले बताए।

लकडाउनका कारण गाडी व्यवसायीहरुले मार खेपिरहेको बेला बैंकहरुले गाडीको किस्ता तिर्न ताकेता गरिरहेका तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीले बताए। उनले व्यवसायीहरुले गुजारा चलाउन धौ भएको बेला बैंकले किस्ता तिर्न बारम्बार फोन गर्दा झन् समस्यामा परेको उनको दुख छ। 

यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका जिल्ला संयोजक भरतनाथ योगीले बन्दाबन्दी अवधिभर किस्ता सारिनुपर्ने माग सरकारसँग गरेको बताए। उनले यो असार मसान्तसम्म आफूहरुको मागको सुनुवाइ नभए साउन १ गते जिल्ला प्रशासन कार्यालयमा गाडीको चाबी र ब्लु बुक बुझाउने निर्णय गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.