|

ओखलढुङ्गा : ओखलढुङ्गा-रुम्जाटार सडकको कालोपत्रे एक वर्ष नबित्दै  उप्किएको छ। नौ महिनाअघि कालोपत्रे गरिएको सडक खाल्डैखाल्डामा परिणत भएको छ। 

ओखलढुङ्गा सदरमुकामको रमाइलोडाँडा–रुम्जाटार सडकखण्डमा डिबीएसटी कालोपत्रे गरिएको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ओखलढुङ्गामार्फत सञ्चालित उक्त योजना ठेकेदार कम्पनी तामाङ कुमार जेभीले ठेक्का लिएको थियो। ११ दशमलब १ किलोमिटर सडकमा कालोपत्रे गर्न थालेदेखि नै उप्किन थालेको थियो। उक्त सडकखण्डमा नौ महिनाअघि गरिएको कालोपत्रे उप्किएपछि अहिले सडक खाल्डैखाल्डा भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ओखलढुङ्गाले सडकको कालोपत्रे उप्किएपछि दुई किलोमिटरभन्दा बढी क्षेत्रमा पुनः कालोपत्रे गर्न ठेकेदारलाई दबाब दिएको कार्यालयका इन्जिनियर सरोज केसीले बताए। १८ महिनामै सक्ने गरी २०७४ सालमा थालिएको भए पनि यो योजनामा विभिन्न बहानामा ठेकेदारले ढिलाई गरेको थियो। 

सडकको केही भागमा अझै पनि कालोपत्रे गरिएको छैन। कालोपत्रे उप्किएपछि यात्रा गर्न कठिन भएको स्थानीय बताउँछन्। कालोपत्रे गरिएको भनिएको सडकका केही भागमा हिलैहिलो भएको समेत भेटिन्छ। ओखलढुङ्गा–रुम्जाटारको कालोपत्रे सडकभन्दा कच्चीमा सजिलो हुने गरेको सवारी चालक बाबुराम खडेकाले गुनासो गरे।

कालोपत्रे उप्किएपछि कार्यालयले कुल लागतको नौ प्रतिशत रकम भुक्तानी गरेको छैन। एशियाली विकास बैंक र स्वीस सरकारको सहयोगमा २० करोड ६८ लाख रुपैयाँ लागतमा आपतकालीन भूकम्पीय सहयोग परियोजनाअन्तर्गत यो सडक निर्माण गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.