राजदूतहरुका कुरा सुनौं, निर्णय आफैंले गरौं

|
फाइल फोटो

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिमेकी मुलुकका राजदूतहरुकाे कुरा सुन्दैमा केही नबिग्रिने बताएका छन्। नेकपामा बढिरहेको विवादका क्रममा चिनियाँ राजदूत होउ यान्छीको गतिविधिलाई लिएर भइरहेको टिप्पणी र आलोचनाका सन्दर्भमा भट्टराईले यस्तो बताएका हुन्। 

उनले कूटनीतिज्ञहरुको कुरा सुन्दा केही नबिग्रिने बताउँदै तर उनीहरुका कुरा मान्‍ने नमान्‍ने अधिकार नेपालीमै निर्भर रहेको बताएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले सरकार ढाल्ने चलखेल गरेको अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद चुलिएका सन्दर्भमा केही दिनयता चिनियाँ राजदूत सक्रिय भएकी छन्। 

भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेपाललाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका थिए। तर, यही विवादले नेकपा फुटको संघारमा पुगेको छ। तर, सहमतिको विन्दु भेट्न सकेको छैन। 

अध्यक्ष दाहालसहितका नेताहरुले भारतले नभएर प्रधानमन्त्रीको राजीनामा आफूले मागेको तर्क गरिरहेका छन्। पार्टीभित्रको विवाद साम्य नहुँदा चिनियाँ राजदूतले शीर्ष नेताहरूसँगको भेटलाई तीव्र बनाएकी छन्।

आइतबार वरिष्ठ नेता नेपाललाई कोटेश्‍वरमा भेटेकी राजदूत यान्छीले मंगलबार वरिष्ठ नेता झलनाथ खनाललाई डल्लु पुगेर भेटेकी छन्। नेकपाभित्रको विवादका क्रममा दोस्रो पटक उनले आफूलाई सक्रिय बनाएकी हुन्। 

राजदूत यान्छीको सक्रियतालाई लिएर विभिन्‍न टिप्पणीसमेत भइरहेका छ। यही बिषयमा केन्द्रित रहेर नेकपा स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले भारतलाई लक्षित गरी कडा टिप्पणी गरेका हुन्। 

'संविधान बनाउने बेलामा असफल पार्न खोज्‍नु ठीक वा संविधान निर्माणप्रति सद्भाव राख्नु ठीक? पहिलो र दोश्रो संविधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठीक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्भाव राख्नु ठीक?', उनले भारतको व्यवहारप्रति कटाक्ष गर्दै भनेका छन्। 

नेपाललाई नाकाबन्दी गरेर हायलकायल पार्ने भारतको पुरानो व्यवहारमा पनि उनले प्रश्‍न उठाएका छन्। 'नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठीक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देऊ भन्‍नु ठीक?', उनले अगाडि भनेका छन्, 'पार्टी-पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठीक वा सबै पार्टी बीचमा राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्भाव  राख्नु ठीक?'

अरुको कुरा सुनेर निर्णय आफूले गर्नुपर्ने उनले बताए। 'कुनै पनि विदेशी राजनीतिक तथा कूटनीतिक गतिविधिलाई यसै सन्दर्भबाट हेरियो भने सही हुन्छ', उनले भनेका छन्, 'कसैको पनि कुरा सुन्‍नु राम्रो हो। मान्‍ने नमान्‍ने अधिकार हाम्रो हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.