विचार

सरकारको सफलता : उँटको बिहेमा गधाको गीत

प्रधानमन्त्रीले सपनामा रेल बाँडे, विपनामा सेल दिएनन्

असार २५, २०७७

    संस्कृतमा एउटा श्लोक छ –

    उष्ट्राणां च विवाहेषु गीतं गायन्ति गर्दभा,

    परस्परं प्रशंसन्ति अहो रूपम हो ध्वनि।

    उँटको विवाहमा गधा गीत गाउन गएछ, र उँटको रूपको प्रशंसाले भरिएको गीत गाउन थालेछ। उँट भने गधाको स्वरको तारिफ गर्दै बसेछ। वास्तवमा दुवै पात्र रूप र स्वरको प्रशंसा गरिन योग्य पात्र होइनन्।  हुनसक्छ यो कुरा उनीहरू दुवैले नबुझेका पनि होइनन्। तर, परिस्थिति कुनै कुनै बेला यस्तै बनिदिन्छ र उनीहरू पनि परिस्थिति अनुरूप नै चलेका हुन्। अर्को पनि हुन सक्छ कि उनीहरू दुवै जनाको ज्ञान, सुन्दरता र संगीतको विषयमा यति नै थियो।

    जति बेला दुई कम्युनिस्ट पार्टीहरू एकीकरण हुँदै थिए, पुष्पकमल दाहाल र खड्गप्रसाद ओलीले एक-अर्काको प्रशंसा गर्नु माथिकै पात्रको नियति जस्तै थियो या ज्ञान नै अल्प थियो भन्ने कुरा प्रष्ट हुन अझै केही समय लाग्‍ने छ।
    तर, वर्तमान सरकार आफूले विकासका कार्य गरेको देखेर आत्मप्रशंसामा मग्न छ।, अब आएर आफ्नो कामको प्रशंसा गर्ने उँट भेट्टाउन नसक्ने अवस्था भइसक्दा पनि चेत फिरेको छैन। पशुपति 'शर्माको लुट्न सके लुट' गीत आएको समयमा सरकारको पक्षमा चर्का र ठूला कुरा गर्ने जमात हाल आएर सरकारका कतिपय लज्जाजनक क्रियाकलापमा चुपचाप शिर झुकाउन बाध्य छन्। अब साह्रै सीमित र सिधा स्वार्थ खोज्ने बाहेक आम जनतासँगै पार्टीका कार्यकर्तासमेत सरकारबाट आशावादी नरहनु सरकारका लागि असफलताको अर्को प्रमाण के होला र।

    इतिहासदेखि नै हेर्दा जुन बेला सरकार सबैभन्दा नालायक हुन्छ सर्वसाधारणले राजनीतिप्रति त्यहीबेला बढी चासो राख्छन् र सडकमा पुग्‍ने गर्छन्। अहिलेको अवस्था ठ्याक्कै त्यही हो। देशभरि मनसुन सक्रिय भएका कारण पानी परेर सडकमा युवाहरू आउन नपाएको अवस्थालाई यो सरकारले कसरी बुझेको छ? विचार गर्दा यति सरकार त ज्ञानेन्द्रको पनि थियो। जय जयकार गर्ने सानोतिनो जमात त जहिले पनि हुन्छ। तर, आमरुपमा के बुझिन्छ त्यो महत्वपूर्ण कुरा हो।

    हरेक कुरामा उक्साहट र सरकारलाई असफल बनाउने तत्व मात्र देख्ने यो सरकार जति दिन सत्तामा रहन्छ त्यति नै बेसारे तमासा देखाउँछ भन्ने कुरा सबैले बुझिसके सायद। यो सरकारलाई यति धेरै नचाहिँदो शंका लाग्छ कि त्यही शंकाले डुबाउन लाग्दा पनि, प्रधानमन्त्रीले जनतालाई परेको पीर र हुनु नपर्ने काम भएको तिर ध्यान दिन चाहँदैनन्। राम्रो 'सेन्स अफ ह्यूमर' पनि कुन ठाउँमा र ज्यादा प्रयोग हुँदा नेपाली सिनेमाका हास्य पात्रको ठट्टा जस्तो नपच्ने भएको कुरा कसले बुझाइदिने हो खै!

    सरकारको असफलता कोरोना व्यवस्थापनमा पनि देखियो। कतिको ज्यान गएपछि बुझ्ने हो सरकारले। तथ्यांकले ३०-३५ जना देखिए पनि क्वारेन्टाइनभित्र आत्महत्या गर्न बाध्य, पखाला लागेका बेला जीवनजल खान नपाएर मृत्युवरण गरेका, लकडाउनका कारण व्यवसाय चौपट भएर आत्महत्या गर्न बाध्यहरूको मृत्युको कारण जोड्न मिल्छ कि मिल्दैन? सरकार यसका लागि जिम्मेवार बन्नै पर्छ। 

    आशा गरिएका अर्थमन्त्रीले ३ वटा बजेट ल्याइसक्दा देश र जनताले केही पनि पाएको छैन। तर, निश्चित के छ भने हाम्रा प्रधानमन्त्रीले अझै २/४ पटक बेसार पुराण लगाउन बाँकी नै छ।

    नेपालमा कोरोना सुरु नहुँदै लकडाउन गरियो, स्थानीय निकायले भ्रष्टाचारको राम्रो बाटो पायो क्वारेन्टाइनस्थल निर्माण गर्ने। विज्ञहरूले घाँटी सुकुञ्जेल कराए, यस्ता ठाउँ र यसरी बनाइएका स्थल सुरक्षित हुँदैनन् उल्टो घातक हुन्छन भनेर।

    कान र आँखा दुवै कमजोर भएको सरकारले सुन्ने र देख्ने कुरै भएन। तर, त्यही नै यातना गृह जस्ता क्वारेन्टाइन आज आएर १५ हजारभन्दा बढी संक्रमित उत्पादन गर्ने कारखाना सावित भयो। कोरोना नियन्त्रणमा यो सरकारले उत्कृष्ट काम गरेको छ भनेर सरकारले कसलाई भ्रममा राख्‍न खोजेको हो।

    यसले के सिद्ध गर्छ भने प्रधानमन्त्री ओलीको संयन्त्र परिचालन प्राथमिकता र पात्र छनोट गलत छ। जसले गर्दा सहानुभूति पाउनुपर्ने सख्त बिरामी प्रधानमन्त्री ओली दुनियाँको गाली खाएर बस्नु परेको छ।

    संसारका उदाहरण हेर्ने हो भने, गतिलो सरकार र सरकार प्रमुख भएका देशमा कोरोनाको नियन्त्रण, प्रभावकारी ढंगले समयमा सजिलैसँग भएका छन्। नालायक सरकार र गलत नेतृत्व भएका देशको बिजोग भएको छ। अमेरिका, ब्राजिल स्पेन इटाली जस्ता देशको समूहमा नेपाल प्रवेश गर्न अब धेरै समय लाग्ने देखिँदैन।

    तर निश्चित के छ भने हाम्रा प्रधानमन्त्रीले अझ २/४ पटक बेसार पुराण लगाउन बाँकी नै छ। यतिबेला कुर्सी जोगाउने चक्करले ती कुरा छायामा परेजस्तो लागेको मात्र हो।

    आशा गरिएका अर्थमन्त्रीले ३ वटा बजेट ल्याइसक्दा देश र जनताले केही पनि पाएको छैन। अब उनले एउटा मात्र पूर्ण र अर्को चुनावी बजेट ल्याउन सक्नेछन्। यो वर्ष त गयो गयो, आगामी वर्षका लागि पनि कोरोना राम्रो बहाना हुने भयो। चकलेटकै गुलियोमा रमाउने अर्थमन्त्रीका बारेमा हामीले कत्रो भ्रम पालेका रहेछौँ।

    नेपालको राजनीतिमा विकल्प नहुनु अर्को दुर्भाग्य हो। ओलीको विकल्प जति सोचे पनि गतिलो छैन न त त्यही पार्टीमा न त अरू कुनै मा। प्रतिपक्षमा २,४ जना युवाहरू थिए, ती सबै गर्जने तर नवर्षने बादल सावित भइसके। तीमध्ये केहिले त सानोतिनो पद पाएपछि गर्जन पनि छाडिसके। नेताको विवाद भाग नपुगेर भएको प्रस्ट छ। तर जनता अपेक्षित विकास चाहन्छन्। 

    अर्को चुनावसम्म पनि यो कुरामा केही प्रगति नभए नेकपा नफुटेको अवस्थामा मात्र होइन सबै राजनीतिक दलहरूलाई सजिलो हुने छैन। थपिएका भूभागमा कसरी उम्‍मेदवार खडा गर्नु कसरी भोट माग्न जानु? नजाऊँ आफैंले संविधान संशोधन गरी-गरी थपेको गाउँ, जाऊँ यथास्थितिमा भारतले जान दिँदैन।

    केही गरी नेतृत्व परिवर्तन भइहाले पनि बालुवाटारबाट वालकोट पुगेको साता नबित्दै ओली आफ्नै पार्टीको सरकारको खोइरो खन्न र असफल बनाउन लागिहाल्ने निश्चित छ। त्यसैले त्यो परिवर्तन पनि गतिलो सावित हुने छैन, परीक्षण हुन बाँकी नेता पनि तत्काल कुनै पार्टीभित्र छैनन्। यसले राष्ट्रिय निराशाको संकेत गर्छ। त्यसैले यही सरकार सुध्रिए हुन्थ्यो भन्ने हो। हामीलाई यसको वा उसको सरकार चाहिएको होइन असल र राम्रो सरकार चाहिएको हो।

    यो पाँच वर्ष हामीलाई चुच्चे पानीजहाज र टाटेपाटे रेल चाहिएकै थिएन। सानातिना, काम गरिनुपर्थ्यो। अहिले जनतालाई महसुस हुने काम गरिनु आवश्यक छ। सपना रेलको भयो विपना सेलको पनि पूरा भएन। यस अर्थमा ओली सरकार चुनावका बेला आफैंले बाँडेका सपनाको भारीले किचिएर आफैं मर्ने अबस्थामा पुगेको छ । जनताले उसले बाँडेका आश्वासनका अतिरिक्त केही मागेका छैनन।

    अल्छीको मुखमा आहानको झुप्पा भनेझैँ काग र भैँसीको सिङको कथाको साटो सरकार प्रमुखको भाषा र वजन हामी उनको अभिव्यक्तिमा सुन्न चाहन्छौं। दिनको अठार घन्टा काम गर्छु भन्ने प्रधानमन्त्रीलाई कसरी अल्छी भन्नु तर खै के गर्छन् पत्तो भएन। नत कुनै बैठकमा समयमा पुगेको नै थाहा छ।

    दाहाल र ओलीलाई नै थाहा होला माथिको श्‍लोकको अर्थ त्यो बेलामा कसरी लगाएका थिए। पुष्पकमलले स्थायी कमिटी बैठकमा अहिले व्यक्त गरेको असन्तोष नाजायज छैन। तर, उहिले ओलीको प्रशंसामा गाएको गीतको औचित्य कसरी पुष्टि गर्दा हुन् उनै जानून्। हामीले बुझेको कुरा उत्तिकै स्पष्ट के पनि छ भने एमालेसँग नमिलेको भए माओवादीलाई चुनावमा तेस्रो हुन पनि गाह्रो हुने थियो। तर, त्यसले के फरक पर्ने रहेछ त जनतालाई? पार्टी एकीकरण नगरेको भए देशले बहुमतवाला सरकार पाउने थिएन र कम्तीमा अहंकारी सरकारबाट त बच्ने थियो कि भने जस्तो भयो अहिले ।

    शक्तिशाली सरकार र दुर्बल प्रतिपक्ष भएको बेला सरकार ढाल्ने र अर्को पार्टी सरकारमा आउने सम्भावना रहँदैन। त्यही परिपाटीबाट वाक्क भएर नै हामीले बहुमतवाला सरकार बन्ने गरी भोट हालेका पनि हौं। सत्ताधारी पार्टी भित्रैबाट विकल्प निस्किनु पर्ने हो तर त्यही पार्टीमा पनि आशा लाग्दो विकल्प देखिँदैन।

    त्यसैले यो निराशा वर्तमान सरकारका लागि राम्रो संकेत होइन। हामीलाई पनि आफ्नै सरकारका बारेमा नानाभाँती लेख्न र पढ्न मन हुँदैन। सरकार आफ्नो काम राम्ररी गरोस् हामी आफ्नो गर्छौं। सरकार भनेको घरको मुलीजस्तो हुनुपर्छ। आफैंले बन्दाबन्दीमा जनता थुनेर राख्यो अहिले राहत त कता हो कता प्रधानमन्त्रीले  हाच्छ्यूँ गर्न मात्र सिकाउँदा स्वाभाविक आक्रोश उत्पन्न भएको छ।

    आफ्नो काम र क्षेत्रबाहेक यो सरकारलाई सबै कुराको जानकारी छ। गौरिकालाई पौडी सिकाउन पनि पछि नपर्ने यो सरकारका बारेमा जति बोले पनि काम हुन्छ।

    भारत सरकारले ओली सरकारले जारी गरेको नेपालको नयाँ नक्सालाई वास्ता गरेन। यो सरकारले भूमि फिर्ता गर्न भन्दा पनि सकिएको लोकप्रियतालाई पुनर्जीवित गर्न मात्र नक्साको राजनीति गरेको भन्ने मोदीको बुझाइलाई गलत सावित गरोस्। भारतलाई वार्तामा बसाउन बाध्य पारोस्, हामी यो चाहना राख्छौँ।

    अर्को चुनावसम्म पनि यो कुरामा केही प्रगति नभए नेकपा (पार्टी नफुटेको अवस्थामा) लाई मात्र होइन सबै राजनीतिक दलहरूलाई सजिलो हुने छैन। थपिएका भूभागमा कसरी उम्मेदवार खडा गर्नु कसरी भोट माग्न जानु? नजाऊँ आफैंले संविधान संशोधन गरी-गरी थपेको गाउँ, जाऊँ यथास्थितिमा भारतले जान दिँदैन।

    तैपनि ललितानिवास जग्गा प्रकरणमा आफ्नै पार्टीका महासचिवलाई कारबाही गरेर जग्गा फिर्ता गर्न नसक्ने पार्टी र सरकारले भारतले मिचेको त्यत्रो जमिन फिर्ता गर्ला भनेर हामी आशा गरिरहेका छौं। उँटको बिहेमा गधाले गीत गाउने क्रमभंगको संकेत देखिइसके पनि विडम्बना नै हो हामी आशाको डोको बोकेर हिँडिरहेका छौं। आशा गर्नुबाहेक हाम्रो उपाय छैन। तर, सुध्रनु पर्ने चाहिँ कहिले सुध्रिने !

    (अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।)

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]