|

काठमाडौं : पूर्वी अफ्रिका,पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको सलहको जोखिम तत्काललाई टर्दै गएको छ। बारा, पर्सा, सिन्धुली, सर्लाही र रुपन्देहीमा यसअघि निकै ठूलो झुण्डमा देखिएका सलह अहिले घट्दै गएका छन्।

गर्मी मौसममा बढी सन्तान उत्पादन गर्ने भएकोले पनि नेपालको वातावरण सलहका लागि उपयुक्त नरहेकाले मौसम प्रतिकूलताको असर परेको कृषि मन्त्रालयका एक अधिकारीले बताएका छन्।

तराईको केही जिल्ला र पश्चिम नेपालमा बढी देखिएको सलह यतिखेर निष्क्रिय भएको मन्त्रालयको विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताए। 'नेपालमा सक्रिय रुपमा सलहको उपस्थिति हुन नसकेको देखियो,' उनले भने, ' केही जंगलमा प्रवेश गरेको छन्, तराईको जिल्लाबाट पहाडतिर गएका छन्।' तत्काललाई यसको उपस्थिति र प्रभाव कम देखिएपनि अहिले नै सलहको प्रभाव सकिएको भन्न नसकिने हुमागाईले बताए।

पहाडी क्षेत्रमा प्रवेश गरेको केही सलहको झुण्ड भने मरिसकेको उनले जानकारी दिए। नेपालमा प्रवेश गरेको सानो सलहको समूहमा रहेकोले पनि यसले पूर्ण रुपमा क्षति गर्न नसकेको उनको भनाइ छ। हावाको गति मन्द भएकोले पनि यसले खासै प्रभाव नपारेको उनले प्रष्ट पारे।

सलहका लागि धेरै तापक्रम जरुरी पर्ने भएकोले पनि नेपालको वातावरण अनुकुल हुन नसकेको उनको दाबी छ। पानी परिरहेको तथा चिसो भएकोले यहाँ बाच्न नसकेको हुनसक्ने उनी अनुमान गर्छन्। ३२ देखि ४५ डिग्रीको तापक्रममा सलह बाँच्न सक्ने भएकोले पनि नेपालको वातावरण उसको लागि उपयुक्त हुन नसकेको उनले सुनाए। 'प्रवेश गरेका सलह कमजोर प्रवृत्तिको रहेकाले पनि लामो समयसम्म यसको प्रभाव रहन नसकेको हो,' उनले भने।

'हावाको माध्यमबाट फैलने, तर धेरै हावा नआएकाले पनि यो हिँड्न नसकेको हो,' उनले भने, 'बढीमा यो ७ देखि ८ दिनसम्म सक्रिय रहेको थियो, ३ गते तराईको जिल्लामा बिहान देखिएको थियो।' अहिलेको अवस्थामा हेर्ने हो भने लगभग सलहको प्रभाव कम हुँदै गएको उनले बताए।

सलहले प्रदेश ४,५,६ र ७ मा बढी असर गरेको उनले बताए। प्रदेश ३ मा पनि सलह देखिएको, तर बढी असर नगरेको उनको भनाइ छ। सलहले सामान्यदेखि मध्यम खालको क्षति गरेको छ। पहाडमा मकै बाली र धान लगाएका ठाउँमा धानको पनि क्षति गरेको उनले जानकारी दिए।

'सलहको आयु तीन महिना'

नेपालमा आएको सलह अपरिपक्व हुनसक्ने भएकोले यहाँ बढी समयसम्म यसको प्रभाव नदेखिएको कृषि किट विज्ञ डा. समुन्द्रलाल जोशी बताउँछन्। उनले भने, 'सलहको आयु तीन महिनाको हुन्छ, नेपालमा आएका सलह कमजोर रहेको हुनसक्ने देखियो।'

गर्मी ठाउँमा फुल पार्ने भएकोले चिसो ठाउँ सलहका लागि घातक हुनसक्ने र नेपालबाट हावाको वेगसँगै अन्य क्षेत्रमा गएको जोशी अनुमान गर्छन्‌। उपयुक्त वातावरण खोज्दै बाहिर गएपनि अहिले नै नेपालमा सलहको जोखिम टरिनसकेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.