कोरोना संकटमा सरकार असफल भएको दाबी

|

काठमाडौंँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी दलले संसद अधिवेशन अन्त्य भएपछि विशेष अधिवेशन बोलाउनेबारे छलफल सुरु गरेका छन्।

मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको दुई पार्टीका शीर्ष नेताहरुले यसबारे पनि छलफल गरेका हुन। सरकारलाई दबाब दिन उनीहरुले संसदमा दर्ता गरेको संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई तत्कालै अगाडि बढाउनुपर्ने माग अघि बढाउन लागेका छन्। 

संसदको विशेष अधिवेशन बोलाउन संसदको सदस्यको २५ प्रतिशत सदस्यहरु आवश्यक पर्छ। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार कांग्रेससँग २२ प्रतिशत सांसद छन्। 

‘विशेष अधिवेशन बोलाउन २५ प्रतिशत सांसद चाहिन्छ। त्यसपछि विशेष अधिवेशन आह्वानका लागि प्रस्ताव लैजान सकिन्छ,’ उनले थाहाखबरसँग भने, ‘विशेष अधिवेशन कोरोना महामारी नियन्त्रण र कोराना महामारीबाट प्रभावित भएको अर्थतन्त्र उकास्नका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव, संकल्प प्रस्ताव छन्, यिनै विषय अघि बढाउन पनि अधिवेशन आह्वानका लागि दबाब दिन सकिन्छ।’ 

उनले कांग्रेसभित्र पनि ठ्याक्कै कुन मुद्दालाई लिएर अघि बढ्ने ठोस निर्णय भइनसकेको पनि बताए। 

‘कुन एउटा मुद्दामा अगाडि बढ्ने भन्‍ने कुरा पार्टीमा निर्क्योल भइसकेको छैन,’ जनता समाजवादी पार्टीसँग मिलेर विशेष अधिवेशन बोलाउन कांग्रेस लागेको हो भन्‍ने प्रश्‍नमा  उनले भने, ‘विशेष अधिवेशनको चर्चा त सत्तासीन पार्टीले पनि गरिाराख्या छ। प्रतिपक्षले त झन् गर्ने नै भयो। विशेष अधिवेशन बोलाउने निष्कर्ष नै भनेर चाहिँ भएको छैन।’ उनले मंगलबार भएको दुई पार्टीका शीर्ष नेताहरुको छलफलमा विशेष अधिवेशनबारे कुरा भएको पनि संकेत गरे। 

संविधानको धारा ९३ (३) मा संसदको एक चौथाई सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नसक्ने उल्लेख छ। ‘राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्‍ने मिति र समय तोक्नेछ,’ उक्त धारामा लेखिएको छ, ‘त्यसरी तोकिएको मिति र समयमा प्रतिनिधिसभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ ।’  

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी नेकपामा अल्पमतमा परेपछि मन्त्रिपरिषद्‍मा हतार हतार निर्णय गरेर संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेका थिए। राष्ट्रपतिले पनि त्यही दिन मन्त्रिपरिषदको सिफारिस अनुमोदन गरी संसदलाई अधिवेशन अन्त्य भएको जानकारी गराएकी थिइन्। नेकपामा आन्तरिक कलह बढेपछि सरकारको आलोचना भइरहेको छ। कोरोना महामारीको समयमा नेकपाका नेताहरु आन्तरिक झगडामा अल्झिएपछि विपक्षीहरुले दबाब बढाएका हुन्। 

बर्खे अधिवेशनमै अमेरिकी परियोजना एमसिसी संसदबाट अनुमोदन गराउनेबारे प्रधानमन्त्री ओलीले  कांग्रेस सभापति देउवालाई जानकारी दिएका थिए। ‘असार १७ गते प्रधानमन्त्री निवासमै भएको भेटमा सभापति ज्यूलाई प्रधानमन्त्रीज्यूले त्यही अधिवेशनबाट एमसीसी पास गराएरै छोड्ने बताउनु भएको थियो। तर, उहाँले त एकाएक अधिवेशन नै अन्त्य गर्न भूमिका पो खेल्नु भयो,’ देउवानिकट स्रोतले भन्यो।

एमसीसीलाई अगाडि नबढाएकै कारण कांग्रेस ओलीप्रति रुष्ट छ। कांग्रेस कुनै पनि हालतमा एमसीसी पास गराउने रणनीतिमा छ भने नेकपाका केही नेताहरुले एमसिसी संशोधन संसदबाट पास गर्न नहुने बताउँदै आइरहेका छन्।  

मंगलबार भएको भेटमा जसपाका नेता राजेन्द्र महतोले पनि विशेष अधिवेशन बोलाउने विषयमा छलफल भएको बताए। ‘अधिवेशन बोलाउने विषयमा छलफल भएको थियो तर, निष्कर्षमा पुगेन,’ उनले भने, ‘त्यो छलफल विशेष अधिवेशनभन्दा पनि अरु मुद्दामा केन्द्रित थियो।’

समाजवादीका नेताहरुले कांग्रेसका शीर्ष नेताहरुसँग अर्काे चरणको छलफल गर्न खोजिरहेको पनि बताइएको छ। उक्त छलफलमा विशेष अधिवेशनबाट ठोस निर्णय हुने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.