६६ करोड लगानी, लकडाउनले रोकिएन काम

|

सिन्धुली : सिन्धुलीको दूधौली नगरपालिकास्थित कमला नदीमा बनाइएको सडक पुल तोकिएको समय अघि नै निर्माण भएको छ। कालिका-रसुवा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको उक्त पुलको निर्माण कार्यले लकडाउनमा समेत तीव्रता पाउँदा एक वर्षअघि नै निर्माण पूरा भएको छ। तोकिएको समय भन्दा एक वर्षअघि पुल निर्माण भएपछि स्थानीयहरु उत्साहित छन्।

२०७४ मंसिर २७ गते ४२ महिना भित्र निर्माण पूरा गर्ने गरी दूधौली नगरपालिका-९ र ११  जोडने कमला नदीमा निर्माण गरिएको पुल सम्झौता अवधिभन्दा एक वर्ष अगावै पूरा भएको हो।

कालिका-रसुवा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको पुल २०७८ जेठ २७ गते बुझाउनु पर्नेमा ११ महिनाअघि नै तयार भएको कम्पनीका प्रोजेक्ट म्यानेजर डिल्लीराम ढकालले बताए। 

सम्झौतापछि ६ महिना डिजाइन फेज र तीन महिना स्वीकृतिका लागि समय लागेकाले ९ महिनापछि मात्रै निर्माण सुरु भएको थियो। तर पनि स्थानीयको सहयोग, निर्माण सामग्रीको सहज उपलब्धता, पर्याप्त जनशक्ति र कम्पनीले नियमित भुक्तानी गरेका कारण पुल निर्माण एक वर्षअघि नै पूरा भएको ढकालले बताए।

कुल ६ सय मिटर लामो यो पुल प्रि स्ट्रेस मोडलमा बनेको छ। पुलको कुल लागत करिब साढे ६६ करोड रुपैयाँ रहेको ढकालले बताए।

दूधौली नगरपालिका-११ का वडा अध्यक्ष कुमार लामाले पुल निर्माण भएपछि सिन्धुलीका अधिकांश क्षेत्रका बासिन्दाहरूलाई सहज भएको बताए। पुल बनेपछि यस क्षेत्रका मानिसहरुलाई आवतजावत गर्न, विद्यालय तथा क्याम्पस जान, उपचारका लागि अस्पताल जान र खेतीमा जान समेत सहज भएको उनले बताए। निर्माण कम्पनीको इमान्दारीताका कारण तोकिएको समय भन्दा एक वर्ष छिटो निर्माण पूरा भएकोमा खुशी भएको लामाले बताए।

पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने स्थानीयहरु पुल निर्माण भएपछि खुशी भएका छन्। पुल नभएकै कारण विरामीको अकालमा ज्यान जानुपर्ने अवस्थाको अन्त्य भएको, विद्यालय र क्याम्पस जान सहज भएको, खेतिपातीका लागि समेत सहज भएको स्थानीयहरु बताउँछन्।

प्रि स्ट्रेस मोडलमा निर्माण गरिएको ६ सय मिटर लामो पुलको वारि र पारी २ सय ५० मिटरका दरले सडक पिच गर्ने कार्य पनि सम्पन्‍न भएको छ। लकडाउनमा पनि नियमित काम गरिएकाले तोकिएको समय अघि नै निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.