|
फाइल फोटो

लमजुङ : बुधबारबाट परेको अविरल वर्षाले पहिरो जाँदा बेँसीशहर-चामे सडक अवरुद्ध भएको छ। लमजुङ-मनाङ जोड्ने बेँसीशहर-चामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका-७ र मस्र्याङ्दी गाउँपालिकास्थित खरखरे भिरमा आज बिहानैबाट सडक अवरुद्ध भएको हो।
 

६५ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत बेँसीशहरको पुवाखोलामा गरिएको ढलान भत्किएको छ भने खरखरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। पुवाखोलाको दुवै तर्फको ढलान करिब एक-एक मिटर भत्किएको र सडकमाथि खरखरे भिरबाट पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय दमौली तनहुँका सवइञ्जीनियर सुमन अधिकारीले बताए।

पहिरो हटाउन र भत्किएको ढलान मर्मत गर्न समय लाग्ने र कति बेलासम्म सडक सञ्चालन हुने भन्ने निश्चित नरहेको उनको भनाइ छ। उनका अनुसार यतिबेला खरखरे पहिरो पन्छाउनका लागि एक्साभेटर लैजाने तयारी भइरहेको छ। यी ठाउँबाहेक यस सडकको विभिन्न स्थानमा समेत साना-साना पहिरो गएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ। 

ढलान भत्किँदा र पहिरोले सडक अवरुद्ध भएपछि कुनै पनि सवारी साधन आवतजावत गर्न सकेका छैनन्। अझै केही दिन अविरल वर्षा हुने सम्भावना रहेकाले यस सडकको विभिन्न स्थानमा पहिरो जाने सडक भासिन सक्ने भएकाले सडक अवरुद्ध हुने उच्च सम्भावना रहेको छ।

यसरी सडक अवरुद्ध हुँदा ढुवानीका सवारी साधन रोकिनु सामान्य भए पनि आकस्मिक बिरामी बोक्ने एम्बुलेन्ससमेत रोकिनु पर्दा ठूलो समस्या पैदा हुने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.