|

पाल्पा : जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सवारी आवागमनमा थप कडाइ गरिएको छ। जिल्ला भित्रिने, बाहिरिने तथा जिल्लाभित्र नै एक ठाउँबाट अर्कोमा आवतजावत गर्ने सवारी साधनमाथि कडाइका साथ जाँच गरिएको छ। 

पाल्पाका सडकमा बिहानदेखि राति अबेरसम्म जनपथ प्रहरीसहित ट्राफिक प्रहरी खटिएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव निरीक्षक पृथ्वी काफ्लेका अनुसार बुधबारदेखि सवारी सुरक्षा चेकजाँचमा थप कडाइ गरिएको छ। 

बुधबार ८० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको उनले बताए। दिनभर नियन्त्रणमा लिएका मोटरसाइकल बेलुकी सात बजे चालकको जिम्मा लगाइएको थियो। जोर–बिजोर प्रणाली उल्लंघन गरी चलाइएका मोटर साइकललाई नियन्त्रणमा लिएको काफ्लेले बताए। चालकलाई अहिलेको परिस्थितिबारे जानकारी गराएर मोटरसाइकल छाडिएको छ। 

‘यसअघि पनि निरन्तर चेकजाँच गरिरहेका थियौं’, उनले भने, ‘जिल्लामा कोरोनाको अवस्था भयावह बन्दै गएपछि सवारी सुरक्षा चेकजाँचलाई थप कडाइ गरेका छौं।’ बिहीबार पनि बिहानैदेखि सवारी साधनको जाँच भइरहेको उनले बताए। सरकारले निर्धारण गरेको नियम उल्लंघन गर्ने सवारीलाई एक घण्टा नियन्त्रणमा लिइएको उनले बताए। 

बिहीबार भने चालकलाई एक घण्टा कोरोना भाइरस (कोभिड १९) बारे सडकमै पढाएर छाडिएको छ। कोरोना भाइरसबाट हुने खतरा, बाँच्ने उपाय र सरकारले रोकथामका लागि गरेको प्रयासमा साथ दिन र मास्क लगाएर हिँड्न अनुरोध गर्दै चालकलाई सडकमै पढाउन थालेको काफ्लेले बताए। 

‘अटेर गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्नेछौं,’ उनले भने। पासबिना सडकमा गुडेका चारपाङ्ग्रे गाडीलाई समेत नियन्त्रणमा लिएर कारबाही गरिएको उनले बताए। जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ सय ४५ पुगेको छ। जसमध्य ५ सय १ पुरुष र ४४ जना महिला रहेका छन्। 

कोरोनाका कारण एक जनाको ज्यान गएको छ भने ४७ जना निको भएर घर फर्किएका छन्। जिल्लाका सबै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन्। संक्रमित सबै भारतबाट फर्किएका हुन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.