काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा र शब्दको सहजता हुनेगरी 'नेपाली बृहत् शब्दकोश' एप्स निर्माण गरेको छ। औपचारिक रुपमा सार्वजनिक नभए पनि यो एप्स इन्टरनेटमा भने सार्वजनिक भइसकेको छ। एप्सलाई भानु जयन्तीको अवसरमा सार्वजनिक गरिने प्रज्ञा प्रतिष्ठानमा सदस्य सचिव जगत उपाध्यायले जानकारी दिए।
आर्थिक वर्ष ०७६/७७ को पुसमा निर्माण भएको यो एप्स प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् कार्यक्रम गरेर सार्वजनिक गर्ने कार्यक्रम थियो। तर,कोरोनाका कारण लकडाउन भएपछि कार्यक्रम पछाडि धकेलिएको उपाध्यायले बताए।
यही असार २९ गते भानु जयन्तीको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सार्वजनिक गर्ने बताइएको छ। नेपाली भाषा आफैँमा पहिचान रहेको र विभिन्न भाषा र भाषिकाबाट नेपाली भाषा हुर्कंदै आएकोले यसको विस्तारका लागि प्रतिष्ठानले प्रविधिसँगै एप्स निर्माण गरेको हो।
हाल उक्त एप्समा ६४ हजार नेपाली शब्द छन्। आगामी आर्थिक वर्षमा यसलाई थपेर १ लाख ५० हजार शब्द समावेश गरिने उपाध्यायको भनाइ छ।
'नेपालका विभिन्न क्षेत्रका भाषा र भाषिकालाई पनि समावेश गर्ने योजनामा रहेका छौं', उनले भने, 'नेपालका विभिन्न क्षेत्रमा बोलिने समुदायका विभिन्न भाषाहरूको पनि उत्थान र प्रवर्द्धन गर्ने उद्देश्य जारी छ। यसलाई थप उजागर गर्न इन्टरनेटको माध्यमबाट सहज उपलब्ध होस् भन्ने अभिप्रायले अन्य भाषालाई पनि एपमा समावेश गर्ने काम अगाडि बढिरहेको छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।