|

काठमाडौं :  अविरल वर्षासँगै नेपालका विभिन्न स्थानमा बाढीपहिरो चल्‍दा मानवीय र भौतिक क्षति हुन थालेको छ। यो सातामात्रै देशका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारण डेढ दर्जनभन्दा बढी नागरिकले ज्यान गुमाउनुपरेको छ। 

लगातार बाक्लो मनसुनी बर्षा भएपछि यतिखेर देशका खोला-खहरेमा आकस्मिक रुपमा पानीको बहाव बढेको छ। गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतवारसम्म कन्काई, कोशी, कमला, वाग्मती र नारायणी नदी तथा तिनका सहायक नदीमा पानीको बहाव बढ्ने खतरा छ।

आगामी ३ दिन कन्काई,कोशी,कमला, बागमती,नारायणी र यसका सहायक नदीमा बहाव बढ्ने र सतर्कता आसपास हुने र केहीमा पानीको सतह खतारको तहसम्म पुग्न सक्नेछ।

बिहिबार कन्काई, कमला र बागमतीका केहि स-साना सहायक नदी लगायत प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, प्रदेश २ को सप्तरी, सिराहा, धनुषा, महोत्तरी,सर्लाही र आसपास जिल्ला भई बहने स-साना नदीमा आकस्मिक बहाव देखिएको छ। यस्तै, भारतीय सीमा आसपास भारी वर्षाको पूर्वानुमान रहेकाले डुबान भइरहने होचा स्थान र नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

'यता गण्डकी प्रदेशका विभिन्न स्थान कास्कीको पोखरा, लुम्लेलगायतका धेरै स्थान, लमजुङ, पर्वत, बागलुङ र नजिकका क्षेत्रमा ठूलो वर्षा मापन गरिएको र थप वर्षा हुने सम्भावना रहेको छ', प्राधिकरणले जारी विज्ञप्तीमा उल्लेख छ।

सबै प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको सम्भावना  रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ को तराईको भु-भागमा बाढीको जोखिम रहेको जानकारी दिएको छ। इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर र सप्तरी आसपासका साना खोलामा ३६ घण्टा आकस्मिक बहावको जोखिम हुन सक्ने बताइएको छ। पहाडी भु-भागको रातो पहेँलो भागमा आकस्मिक बहाव हुनको साथै सो आसपास पहिरोको जोखिम उच्च रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.