एआईजी हरिबहादुर पालको प्रशंसा गरे

|

काठमाडौं : नेपाल प्रहरीका २८ औं प्रहरी महानिरीक्षक शैलेस थापा क्षत्रीले बढुवाका नाममा यसअघि हुने कु-संस्कार यो पटक तोडिएको बताएका छन्। विहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न ग्रहण गरेपछि बोल्दै थापाले बढुवाका क्रममा पहिलो पटक झगडा नदेखिएको पनि बताए।

'आइजीपी बढुवाका क्रममा पहिलाको जस्तो झगडा देखिएन। मेरा अनन्य मित्र, मेरा सहकर्मी एआईजी हरिबहादुर पाल र मबीच एउटा 'जेन्टल मेन एग्रिमेन्ट' भएको हो', उनले भने, 'हामीबीच सरसल्लाह भएको हो। हामीबीच सहमति हुँदा धेरैले मलाई घाटाको सौदा गरिस् भने। तर मैले त्यो घाटाको सौदा उचित थियो भनेँ। मेरा आफ्नै साथी जो २८ वर्षदेखि प्रतिस्पर्धामा थिए। तर हामीबीच गहिरो सहकार्य पनि थियो। यसअघि व्यवसायिक रुपमा निषेध गर्ने कु-संस्कार थियो, त्यसलाई हामीले तोडका छौं।' 

थापाले आफू विनम्र रुपमा प्रस्तुत हुने गरेको भन्दै यसलाई कमजोरीका रुपमा नलिन पनि अपिल गरे। 'मेरो विनम्रतालाई कसैले कमजोरी नठानि दिऊँ, यो मेरो स्वभाव हो', उनले भने, 'अब प्रहरीको छवि पनि हामीले फेर्नु पर्ने भएको छ। म सबैसँग मिलेर काम गर्न तयार छु।' 

उनले लिच्छवीकालिन प्रहरीको प्रसंग कोट्याउँदै अब परिवर्तन हुनै पर्नेमा जोड दिए। 'हामीले पूर्वीय दर्शनमा पुलिसको कल्पना गरेका छौं। लिच्छविकालमा डन्डाधिकारीकारुपमा प्रस्तुत हुने गर्थ्यो। त्यसबेला पुलिसले डण्डा बोक्थ्यो, ठूलो पेट हुन्थ्यो र जुँगा पनि पाल्थ्यो। तर अब थर्काएर हुँदैन हामीले विनम्र भएर कानुन पालना गराउनुपर्छ।'

क्षेत्रीले प्रहरी संगठनलाई आधुनिक प्रविधि र आधुनिकतामा अगाडि बढाउने प्रयत्न आफुले गर्ने पनि बताएका छन्। थापाले संविधान, ऐन र नियमले दिएको सीमा भित्र रहेर काम गर्ने बताए। सम्पूर्ण प्रहरी संगठनलाई साथमा लिएर आफ्नो विवेकले भ्याएसम्म निःस्वार्थ रुपमा खरो उत्रिने उनले बताए। 

महानिरीक्षक एक्लैले सबै अपेक्षा पुरा गर्न नसक्ने उल्लेख गर्दै उनले संगठनको महानिरीक्षकको सफलता-असफलता नै संगठनको सफलता असफलता भएकाले सबैको सहयोग आवश्यक रहेको बताए। प्रहरी संगठनलाई व्यक्तिगत लहडमा नभएर संस्थागत निर्णयका आधारमा अगाडी बढाउने प्रतिवद्धता उनले व्यक्त गरे।

गृह सचिव महेश्‍वर न्यौपानेले नवनियुक्त आइजिपी थापा र पालको प्रतिस्पर्धाले संगठनको मूल्य मान्यताको प्रवर्द्धनका लागि ठूलो सहयोग गरेको बताए। 

आगामी दिनमा पनि नेतृत्वलाई सफल बनाउन सबैको सहयोग हुने अपेक्षा रहेको उनले बताए। उनले प्रहरी संगठनलाई असर गर्ने कुराहरु नगर्न-नगराउन पनि सबैलाई तयार रहन आग्रह गरे।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.