|

डडेल्धुरा : सुदूरपश्चिममा बिहीबार थप ३५ जना कोरोना संक्रमित थपिएका छन्। धनगढी र डडेल्धुरामा भएको परीक्षणमा १६/१६ जना तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा यो संख्या थपिएको हो। 

थपिएकामध्ये बझाङका १६, कैलालीका ८, अछामका चार जना, बाजुरा, डोटी र कञ्चनपुरका दुई दुई जना र दार्चुलाका एक जना छन्। डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा बझाङका १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ। यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा ८ महिला र ८ पुरुष गरी १६ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका ९ का ५, गौरीगंगा नगरपालिकाका ३, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका र भीमदत्त नगरपालिकाका १–१ जनामा कोरोना पुष्टि भएको छ। 

बाजुराको त्रिवेणी नगरपालिका १ का २ जना, अछामको साँफेबगर नगरपालिकाका २ जना, मंगलसेन नगरपालिका र चौरपाटी गाउँपालिकाका १÷१ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ५७ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ९ सय ६ पुगेको छ। 

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म सबैभन्दा बढी कैलालीका ९०८ जना, अछामका ६२४, बाजुराका ६१५, डोटीका ५७७, कञ्चनपुरका ४४३ जना, डडेल्धुराका २८०, बैतडीका २७४, बझाङ १६६ र दार्चुलामा १९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिममा कोरोना पुष्टि भएका ८ जनाको मृत्यु भइसकेको छ भने ९३८ जना डिस्चार्ज भएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.