जुरे पहिरो पीडितका लागि उठाइएको राहत ६ वर्षसम्म बाँडिएन

|

काठमाडौँ : सिन्धुपाल्चोक जिल्लावासीले पछिल्ला केही वर्षयता श्रृखंलाबद्ध रुपमा प्राकृतिक विपत्ति सामना गर्नुपरेको छ।

२०७१ साउन १७ गते राति सिन्धुपाल्चोकको बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकाको सिमानामा पर्ने माँखा र राम्चेको सीमा पहिरो गयो। पहिरोले सुनकोशी नदी २४ घण्टासम्म थुनियो। 

पहिरोमा परि १४५ जनाले ज्यान गुमाए। पहिरोमा परि कति क्षति भयो भन्ने अनुमान समेत गर्न सक्ने अवस्था रहेन। सयौँ घरबार बिहिन बन्न पुगे। जुरे पहिरो गएको आउँदो साउन १७ गते ६ वर्ष पुग्दैछ। तर, जुरे पहिरो पीडितहरुले संकलन भएको दुई करोड ४४ लाख रुपैयाँ राहत अहिलेसम्म पाएका छैनन्‌। 

जुरे पहिरोको गएको एक वर्ष बित्न नपाउँदै ०७२ सालको विनाशकारी भूकम्प गयो। गोरखाको बारपाक केन्द्र भएर गएको भूकम्पले सबैभन्दा धेरै मानवीय र भौतिक क्षति गर्‍यो। भूकम्प १४ जिल्ला अतिप्रभावित बनेको थियो। तर, अन्यत्रभन्दा सिन्धुपाल्चोकमा मानवीय र भौतिक क्षति धेरै भयो। भूकम्पमा परि प्रभावित जिल्लामा करिब ८ हजार हाराहारीले ज्यान गुमाउँदा सिन्धुपाल्चोकमा मात्रै ३५ सयभन्दा धेरैको मृत्यु भयो।

भूकम्पबाट क्षति भएको संरचना अझै निर्माण भइसकेको छैनन्। निजी आवास र सरकार भवन निर्माणको काम अन्तिम चरणमा पुगेको भएपनि सम्पदाहरू अझै उठ्न सकेका छैनन्। केही निर्माणको चरणमा छन् भने केही निर्माण सुरु नै भएका छैनन्। 

भूकम्पले लपेटेको सिन्धुपाल्चोकलाई भोटेकोशी बाढीले त्यसयता छाडेको छैनन्। २०७३ सालमा भोटेकोशीमा आएको बाढीले नदी किनारका दर्जनौँ घर बगाए। सयौँको संख्यामा स्थानीय घरबारविहीन बन्न पुगे। भोटेकोशी बाढीले भोटेकोशी करिडोरमा साना ठूला जलविद्युत आयोजना पूर्ण रुपमा क्षति पुर्‍यायो। भूकम्पको त्रासबाट विस्तारै लयमा फर्कन लागेका स्थानीयलाई भोटेकोशीको बाढीले फेरि  अत्यायो।

२०७४ सालमा नेपाल चीन सीमा नजिकै १० किलोमा रहेको पक्की पुल पहिरोमा माथिबाट आएर पहिरो खस्यो। माथिबाट आएको बाढीले पुल भाँचेर भोटेकोशीले बगायो। पुल भाँचिएपछि नेपाल चीनबीचको सडक सम्बन्ध मात्रै टुटेन। तातोपानी क्षेत्रका स्थानीयलाई अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सामाग्रीको समेत आपूर्तिमा समस्या पर्यो। लामो समय र दबावपछि बेलीब्रिज निर्माण भयो। तर, बेलीब्रिच निर्माणको काम अन्तिम चरणमै नपुग्दै भाँचियो।

निरन्तरको प्राकृतिक विपत्तिसँग जुधिरहेको सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका र भोटेकोशी क्षेत्र २०७५ साल पनि अछुतो रहेन। ०७५ सालमा बाह्रविसे, खुर्सानी बारीको साँधी खोलामा रहेको पक्की पुल नै बगायो। लामो कसरतपछि सीमा जोड्ने बेलिब्रिज बनेको केही समय नबित्दै बाढीले साँधी खोलामा रहेको अर्को पक्की पुल पनि लग्यो। पुल मात्रै लगेन, बाढीले बाह्रविसे बजार पुरै बगरमै परिणत गर्‍यो। 

गत साल पनि सिन्धुपाल्चोक प्राकृतिक विपत्तिबाट अलग रहन पाएन। सीमा क्षेत्रमा निरन्तर बाढीपहिरोको प्रलय भइरह्यो। भोटेकोशी बाढीले करोडौँको क्षति गर्‍यो। बाढीले निर्माणाधीन शीवश्री हाइड्रो पावरमा कार्यरत दुईजना बेपत्ता पार्‍यो। निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशीसँगै चाकुखोला जलविद्युत् आयोजना, लाफिङ बुद्ध र शिव श्री हाइड्रो पावरमा क्षति पुर्‍याएको थियो। 

सीमाक्षेत्रमा विपत्तिको लहर वर्षेनी चलिरहेको बेला यो वर्ष फेरि जिल्लावासीले विपत्ति भोग्नुपर्‍यो। बुधबार राती बाह्रबिसे नगरपालिका-५ जम्बुमा भीषण पहिरो गयो। पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ भने २० जना हराइरहेका छन्‌। 

‘सबै घरमै सुतिरहेको अवस्थामा बाढी पहिरो आयो। त्यसैले धेरैको ज्यान गयो,’ बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पा भन्छन्‌, ‘यस क्षेत्रका स्थानीयमा वर्षा लागेपछि अहिले मात्रै नभएर केही वर्ष यताबाट निरन्तर प्रकोपको सामना गर्नुपरेको छ। स्थानीय त्रसित र चिन्तित छन्, प्रकोप नियन्त्रणमा स्थानीय सरकारले पहल गरेको भएपनि पर्याप्त छैन।’ 

जम्बुमा पहिरो गएपछि चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका पनि बन्द भएको छ। भूकम्पपछि २०७६ जेठ १५ गतेबाट सञ्चालनमा आएकोले नाका पुन बन्द भएको हो। अरनिको राजमार्ग अन्तर्गत बाह्रविसे प्रवेश केन्द्र जुरेदेखि नै बाढीले राजमार्ग कटान गरेको छ। बाढीले जम्बु बजार, खाकदल बजारका १० वटा टहरा र दर्जनौँ ठाउँमा सडक बगाएका छन्। बाढीले मध्य भोटेकोसी जलविद्युत् आयोजनाको लजिष्टिक गोदाम समेत बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.