विज्ञका कुरा सुनेपछि गृहमन्त्री नै चिन्तित

|

काठमाडौं : यो वर्ष मनसुनी प्रभाव निकै बलियो देखिएकाले देशभर बाढी, पहिरो र डुबानले ठूलो संकट निम्तने विज्ञहरूले बताएका छन्‌। सरकारले पनि यस्तो जोखिमको आंकलन गरिसकेको छ। 

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका उपसचिव मुरारी अवस्थीले भूकम्प पश्चात जोखिमपुर्ण भनिएका ठाउँमा पनि बस्न नछाड्नु, डोजरले बाटो खनेर घर-घरमा पुर्याउनु र यसवर्ष जेठमा पनि धेरै पानी परेकाले यसवर्ष पहाडमा बाढीपहिरो र तराईका जिल्लामा डुबानको जोखिम बढेको बताएका छन्‌। 

गृहमन्त्री रामबहादुर थापा 'बादल' ले पनि विज्ञहरूको सुझाव उद्धृत गर्दै यस वर्ष ठूलै संकट निम्तिनसक्ने अनुमान गरेका छन्‌। बिहिबार बसेको विपद् व्यवस्थापन बैठकमा गृहमन्त्री थापाले सम्भावित संकटको सामना गर्न घटना घट्नासाथ परिचालित हुन जरुरी रहेको बताएका थिए।  उनले भनेका थिए, 'हरेक वर्ष नेपालमा मनसुनले ठूलो संकट निम्त्याउने गरेको छ, तर यस वर्ष जेठदेखि नै मनसुन सुरु भएको र भदौसम्म जारी रहने भएकोले यसको सामना गर्ने गरी नयाँ नीति र योजनाअनुसार काम गर्नुपर्ने देखिन्छ।'

विपद्‌ व्यवस्थापनसम्बन्धी ऐन, नियम र कानून पुरानै भए पनि विपद् विगत भन्दा यसवर्ष फरक ढङ्गले व्यवस्थापनको तयारी गरिएको केन्द्रले दावी गरेको छ। अवस्थी भन्छन्‌, 'यो पटक जोखिम बढी नै देखिएको छ, बाढी पहिरोसँगै कोभिड-१९ को महामारी पनि चलेकाले मनसुन पूर्वतयारी कार्ययोजना तयार गरी निकायगत जिम्मेवारीसहित किटान गरेर पठाइसकेका छौं।'

विपद व्यवस्थापनका लागि सरकारले केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न निकाय बनाएकोले ती सबै निकायले प्रभावकारी ढङ्गले काम गरे क्षति न्यूनिकरण गर्न सकिने केन्द्रले जनाएको छ। तर, भौगोलिक विकटताका कारण देशका धेरै ठाउँ बाढी पहिरो र डुबानको जोखिममा रहेपनि जोखिमयुक्त ठाउँको पहिचान हुन नसक्नु, विपद्को पूर्वसूचना नहुनु लगायतका कारण समस्या दोहरिरहेको अवस्थीले बताएका छन्‌। सरकारले जोखिम न्युनीकरणका लागि गरिरहेको प्रयास पर्याप्त नरहेको उनी स्वीकार्छन्।

नेपाल प्राकृतिक विपत्तिको जोखिममा रहेपनि बेलैमा सावधानी अपनाउन नसक्दा र सरकारले गरिरहेका काम पर्याप्त नहुँदा क्षति न्यूनीकरण गर्न सकिएको छैन। तर गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखा प्रमुख इन्दु घिमिरे पछिल्लो ५ वर्षयता बाढी पहिरोजस्ता विपद्का घटनामा कमी आएको दाबी गर्छिन्।  

केन्द्रका अनुसार २०७६ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म भएको ४ हजार २६५ वटा घटनामा ४१७ जनाको मृत्यु, ४० जना बेपत्ता, एक हजार २४७ घाइते भएका छन्‌। यहि वर्षको पछिल्लो ३ महिनामा भएका ३४१ वटा घटनामा ८७ जनाको मृत्यु हुनुका साथै ३ बेपत्ता र २०० जना घाइते भएका छन्। विपद्‌मध्ये नेपालमा पहिरो र बाढी र डुबानलाई मुख्य मानिन्छ। त्यसपछि चट्याङ, हैजा जस्ता महामारी र सर्प दंश प्रमुख विपद्‌मा पर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.