|

पर्वत : बिहीबार साँझदेखि शुक्रबार बिहान अबेरसम्म भएको वर्षाले गण्डकी प्रदेशमा मानवीय र भौतिक दुवै क्षति भएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कास्कीमा ७, लमजुङमा ३ र म्याग्दीमा १ गरी कुल ११ जनाको मृत्यु भएको छ।

पोखरा महानगरमा ७ जनाको मृत्यु, केही घाइते

जिल्ला प्रहरी कार्यालय कास्कीलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी किरण रानाले दिएको जानकारीअनुसार कास्कीको पोखरा महानगरपालिकाका ४ ठाउँमा आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ। बिहीबार राति साढे २ बजेको समयमा आएको पहिरोले घर पुर्दा पोखरा महानगरपालिका १८ सराङकोटको गोठादीमा एउटै घरमा रहेका ५ जनाको मृत्यु भएको हो।

स्थानीय टङ्कबहादुर थापाको घर पुरिँदा सोही घरका सदस्य र पाहुना भई आएका ५ जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा ५० वर्षीय टङ्कबहादुर थापा, उनकी ४५ बर्सिया श्रीमती सोममाया थापा, ११ वर्षीया ईशिका थापा, मृतक टङ्कको दाइको नाति ६ वर्षीय सुवान थापा र ८ वर्षीय शीतल श्रेष्ठ रहेका छन्। 

टंकबहादुरकी २२ वर्षीया छोरी पिंकी, १८ वर्षीया आशा, पिंकीकी ५ वर्षीया छोरी पीरिशा, तनहुँको दमौली घर भएकी मृतक सोममायाकी बहिनी २८ वर्षीया सरस्वती श्रेष्ठ, सरस्वतीका १० वर्षीय छोरा सन्देश, टङ्कबहादुरको छिमेकी १९ वर्षीय अनीश तामाङ, १९ बर्सिया रशि थापा र १९ बर्सिया रश्मि थापा घाइते भई उपचाररत छन्।

यस्तै, कास्कीकै पोखरा महानगरपालिका २५ हेम्जामा गएको पहिरोमा परी एक ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु  भएको छ। उक्त पहिरोमा परेका ३० वर्षीय वासुदेव अधिकारी, उनकी श्रीमती २० वर्षीय सीता, १२ वर्षीय   अनिल र ८ वर्षीय अभिषेकको भने सकुशल उद्धार गरिएको थियो। पोखरा महानगरपालिका २६ स्थित पैतेको डाँडामा आएको पहिरोमा परी अन्दाजी ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको छ।

डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा दुर्गाबहादुरकी श्रीमती, १ छोरा र १ छोरीलाई राति नै सकुशल उद्धार गर्न सफल भएको थियो। बेपत्ता रहेका दुर्गाबहादुर भने शुक्रबार बिहान मृत भेटिएका हुन्। 

घरमा पहिरो झरेपछि पोखरा उपमहानगरपालिका १८ छोरेपाटनको सिमलटुँडामा ३ जना घाइते भएका छन्। स्थानीय चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते बने। पोखरा उपमहानगरपालिका ५ मालेपाटनको सुकुम्वासी बस्तीमा बस्दै आएका २ जना पनि घाइते भएका छन्। अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी र पोखरा ४ फिर्के थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको थियो।

लमजुङको बेसीसरहमा ३ जनाको मृत्यु, ३ जना घाइते

पहिरोले घर पुर्दा लमजुङमा पनि ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। राति करिब पौने १ बजेको समयमा बेसिशहर नगरपालिका ७ स्थित सातबिसेका दीपक तामाङको ब्लकको गाह्रो भएको एक तले घरमा पहिरो झरेको हो।

पहिरोमा परी अन्दाजी ३२ वर्षीय दीपक तामाङ, उनकी श्रीमती २६ वर्षीय बिमाया र ९ वर्षीय छोरा छेवाङको मृत्यु भएको हो। घाइते हुनेहरूमा २६ वर्षीय सन्तबहादुर गुरुङ, २३ वर्षीय अनिल गुरुङ र २३ वर्षीय सुमन गुरुङ रहेका छन्। दीपकको परिवारमा ६ सदस्य रहेको भए पनि बुबा, आमा र छोरी आफन्तकोमा बस्न गएका कारण उनीहरूको ज्यान जोगिएको छ।

म्याग्दीमा १ जनाको मृत्यु, ३३ जना बेपत्ता

म्याग्दीमा पनि वर्षाकै कारण उर्लिएर आएको रघुगंगा नदीले बगाउँदा १ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरका अनुसार रघुगंगा नदीले बगाउँदा रघुगंगा गाउँपालिकाका ५० वर्षीय नलीभन छन्त्यालको मृत्यु भएको हो।

म्याग्दीका धेरै स्थानहरूमा साना ठूला पहिरा गएका छन्। प्रहरीका अनुसार हालसम्म ३३ जना सम्पर्क विहीन रहेका छन्। उनीहरूको अवस्थाको बारेमा कुनै जानकारी खुल्न सकेको छैन। खोजीका लागि विभिन्न स्थानीय तहरुमा प्रहरी परिचालन गरिएको छ। बाढी र पहिरोले ठाउँमा पुल र सडकहरू भत्काएका कारण खोजी तथा उद्धारमा लागेको प्रहरी टोलीलाई समेत समस्या भएको छ। क्षतिका बारेमा गाउँ गाउँबाट विवरणहरू सङ्कलन गर्ने काम भइरहेको डिएसपी कुँवरले बताए। प्रदेश प्रहरी कार्यालयका अनुसार म्याग्दीमा बाढीले एउटा प्रहरी बिट समेत बगाएको छ।

माछापुच्छ्रे गाउँपालिकामा २१ जना विस्थापित

कास्कीकै माछापुच्छ्रे गाउँपालिकामा आएको पहिरोले खानेपानी आयोजना बगाएको छ भने स्थानीय ४ परिवारलाई विस्थापित गरेको छ।

राति २ बजेको समयमा आएको पहिरोले माछापुच्छ्रे गाउँपालिका २ भुज्रुङखोलामा निर्मित सार्वजनिक खानेपानीको टङ्की बगाएर झन्डै ३० मिटर तल रहेको खोलामा लगेको छ। सोही ठाउँको नजिकै रहेका ४ घर समेत खतरामा परेको थाहा पाएपछि प्रहरी चौकी सार्दीखोलाबाट गएको प्रहरी टोली र स्थानीयले ५ जना सदस्य रहेको अमर तामाङको परिवार, ७ जना सदस्य रहेको हिराबहादुर तामाङको परिवार, ४ जना रहेको राममाया तामाङको परिवार र ५ जना रहेको होमबहादुर गुरुङको परिवारलाई सुरक्षित स्थानमा सारेका छन्।

यस्तै, माछापुच्छ्रे गाउँपालिका ९ चुङडुङस्थित मनबहादुर क्षेत्रीको घर पहिरोले भत्किएपछि उनको परिवार विस्थापित भएको छ। बिहीबार राति ११ बजेको समयमा आएको पहिरोले कच्ची घर भत्किएपछि उनको परिवारमा रहेका ४ जना सदस्यलाई छिमेकीको घरमा सारिएको छ।

म्याग्दी हुँदै मुस्ताङ जाने सडक अवरुद्ध

वर्षापछि उर्लिएर आएको नदीले बेलिब्रिज नै बगाएपछि हिमाल पारीको जिल्ला जाने एक मात्र बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ। रघुगंगा नदीमा आएको बाढीले शुक्रबार बिहान म्याग्दीको राहुघाटस्थित रघुगंगा नदीमाथिको बेलिब्रिज बगाएको हो।

म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ राहुघाट जोड्ने गरी बनेको मोटरेबल पुल बगाएपछि रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकासहित मुस्ताङ जिल्ला पुग्ने सडक मार्ग बन्द भएको हो।

नदी कटान बढेपछि आसपास क्षेत्रमा रहेका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ। कोरोना जोखिमका कारण आन्तरिक हवाई उडान बन्द रहेको र बाढीले पुल नै बगाएपछि आवागमनमा समस्या भएको छ।

मनाङ जाने सडक पनि अरुद्ध

हिमाली जिल्ला मनाङ जोड्ने बेशीसहर–चामे सडक खण्डको विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेशीसहरदेखि चामेसम्म दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ।

बाढीले बेशीसहर नगरपालिका– ७ पुमाखोलामा कल्भर्डसहित सडक बगाएको छ। बेंसीसहर–६ बेलौतीबिसौनी नजिकै उत्तिसघारी खरखरेमा झरेको पहिरोले सडक पुरिएको छ। वर्षाले बेशीसहर–चामे सडकखण्ड अन्तर्गत पर्ने खरखरे भीर, सिमपानी, खुदी, अर्खलेबेंसी, घोप्टेभीर, काप्रेभीर, रामबजार, स्याँगे, शिरचौर, च्याम्चेलगायतका ठाउँमा पहिरो झरेको  मनाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जनाकारी दिए। पहिरोले सवारी आवागमन बन्द भएको छ। प्रमुख जिल्ला अधिकारी  शर्माका अनुसार पहिरो पन्छाउने सुरु भए पनि पूर्ण रूपमा सडक खुलाउन दुई दिन लाग्नेछ।  

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भौतिक क्षति

वर्षाका कारण लमजुङको मर्स्याङ्दी गाउँपालिका ८ भुलभुले २ परिवारमा गरी करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार घरभन्दा करिब १५ मिटर माथिबाट आएको पहिरोले ४९ वर्षीय नवराज तामाङको घरमा पूर्ण रूपमा क्षति भएको छ

। दुई ओटा घर भएकाले संयोगबस बिहीबार राती अर्को घरमा बसेका कारण ३ जना सदस्य रहेको परिवारमा मानवीय क्षति भने भएको छैन। भौतिक क्षति करिब ६ लाख बराबरको भएको प्रहरीको अनुमान छ।

सोही ठाउँकी आइतमाया तामाङको १ तले पक्की घर पनि आंशिक क्षति भएको छ। ३ जना सदस्य रहेको उनको परिवारलाई पन्च बिचार प्रा.बि.भुलभुलेमा सारिएको छ। आइतमायाको घरमा पनि करिब ६ लाख बराबरको क्षति भएको अनुमान छ।

लमजुङकै खुदीको बस्ती नै खतरामा

मर्स्याङ्दी गाउँपालिका २ घनपोखरामा पनि वर्षाका कारण बस्ती नै जोखिममा परेको छ।

बस्ती भन्दा तल खुदीबाट नायु जाने कच्ची सडकमा घरभन्दा ५ मिटर तलबाट पहिरो झरेका कारण बस्ती नै जोखिममा परेको हो। सडक भन्दा माथि रहेका ६ घरहरू पहिरोको उच्च जोखिममा रहेकोले पुन पहिरो झरेमा मानवीय क्षति नै हुन सक्ने खतरा भएपछि त्यस ठाउँमा प्रहरी परिचालन गरेर उद्धारको काम भइरहेको छ।

तनहुँको शुक्लागण्डकीमा बस्ती नै डुबानमा

रातभरको वर्षाका कारण तनहुँको शुक्लागण्डकी नगरपालिका अन्तर्गत सेती नदी तटमा रहेको बस्ती डुबानमा परेको छ। बाढी बस्तीमा पसेपछि शुक्लागण्डकी नगरपालिका ८ र ४ को पुलचोक क्षेत्र डुबानमा परेका हुन।

प्रहरीका अनुसार ८ नं. वडाका १४ र ४ नम्बर वडाका २८ गरी ४२ घर डुबानमा परेका छन्। ती घरमा बसोबास गर्दै १ सय ५० जनालाई सुरक्षित स्थानमा सारिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.