शुक्रबार मात्रै १३ ले ज्यान गुमाए, ४६ जना बेपत्ता

|

काठमाडौं : केही दिनेदेखिको अविरल वर्षाका कारण देशभर ठूलो संख्यामा मानवीय क्षति भएको छ। प्रि मनसुनकै क्रममा भएको वर्षाले गलेको धर्ती मनसुनकै केही दिनमा अत्याधिक वर्षा हुँदा पहाडी जिल्लामा बाढीपहिरोले वितण्डा मच्चाएको हो। 

बाढीपहिरोको कारण शुक्रबार मात्रै १३ जनाले ज्यान गुमाइसकेका छन्। बाढीपहिरोमा परेर शुक्रबार बिहानदेखि हालसम्म ४६ जनाभन्दा धेरै बेपत्ता छन्। 

बिहीबार मात्रै सिन्धुपाल्चोकका बाह्रबीसेमा आएको बाढीपहिरोमा परेर २ जनाको मृत्यु भएको थियो। त्यहाँ भोटेकोसी र स्थानीय खोलाको बाढीमा परेर चिनियाँ नागरिकसहित २२ जना बेपत्ता भएका छन्। 

कहाँ कति क्षति? 

शुक्रबार सबेरै बिहानदेखि बाढीपहिरोमा परेर देशका बागमती, गण्डकी र कर्णाली प्रदेशमा ठूलो क्षति भएको छ। 

मृत्यु 

बाढीपहिरोमा परेर कास्कीमा ७ जनाले ज्यान गुमाएका छन्। लमजुङको बेंसीशहरमा एकै परिवारका ३ को पहिरोले पुरेर मृत्यु भएको छ। रुकुममा पहिरोले नै घर पुर्दा २ जनाले ज्यान गुमाएका छन्। अर्कातिर प्रदेश ५ को गुल्मीमा पनि पहिरोमा परेर एकजनाको मृत्यु भएको छ। 

कास्कीको पोखरा महानगरपालिका-१८ सराङकोटस्थित गोठादीमा पहिरोमा पुरिएर एउटै घरका ५ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा ५० वर्षीय टंक बहादुर थापा, उनकी ४५ वर्षीया श्रीमती सोममाया थापा, ११ वर्षकी इशिका थापा मगर, ६ वर्षका सुबान थापा र ८ वर्षीय शितल श्रेष्ठ रहेका छन्।  

अन्य ८ जना घाइतेलाई उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास हमालले जानकारी दिए। 

त्यसैगरी पोखरा महानगरपालिका-२५ हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

पोखरा महानगरपालिका-२६ स्थित पैतेको डाँडामा पनि पहिरोमा पुरिएर ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको छ।  लमजुङमा गएराति पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। 

बेंसीशहर नगरपालिका-७ सातबीसेमा पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमाया तामाङ र नौ वर्षीय छोरा छेवाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। 

यस्तै रुकुम पश्‍चिममा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ। आज बिहानको पहिरोले रुकुम आठबीसकोट नगरपालिका-३ स्थित रेजेखोला बस्ने तुलबहादुर दमाईको एकतले घर पुरेको हो। 

घरमा पुरिएर उनकी श्रीमती २८ वर्षकी सीता दमाई र ६ वर्षीय छोरा हाविल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए। 

यस्तै गुल्मीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ फुस्रेका ६२ बर्षका यामबहादुर श्रीषको कुलोको भल काट्ने क्रममा आज बिहान माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको पुर्तीघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खिमानन्द खनालले जानकारी दिए। 

बेपत्ता

गण्डकी प्रदेशको म्याग्दीमा सबैभन्दा धेरै मानवीय क्षति भएको अनुमान छ। जहाँ पहिरोमा परेर  ३२ जना बेपत्ता भएका छन्। उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरले जानकारी दिएका छन्। 

जाजरकोटमा पहिरोमा पुरिएर १२ जना बेपत्ता भएका छन्। जाजरकोटको बारेकोट गाउँपालिका-४ सार्की गाउँमा गएराति पहिरोले घर बगाउँदा १२ जना बेपत्ता भएका छन्। 

बेपत्ता हुनेमा ५२ वर्षीय गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी, ११ वर्षीय छोरा अर्जुन रहेका छन्। त्यस्तै अर्को घरका कालु सार्की, उनका छोरा ११ वर्षीय कृष्ण, छोरी कमला र ६ वर्षीय छोरा सुवास रहेका छन्। 

कालुको घरमा पाहुना आएका कुशे गाउँपालिका-९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्की वेपत्ता भएको बारेकोट गाउँपालिका-४ का सचिव गोविन्द पुनले जानकारी दिए।

उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ पुगेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिएका छन्। 

उता म्याग्दीका विभिन्‍न ठाउँमा पहिरोमा पुरिएर ३२ जना बेपत्ता भएका छन्। जिल्लाको धौलागिरि, मालिका र मंगला गाउँपालिकाका विभिन्‍न स्थानमा खसेको पहिरोमा ३२ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 

जिल्लाभर लगातारको वर्षा र पहिरोका कारण उनीहरुको खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ। सबैभन्दा धेरै धौलागिरी गाउँपालिकामा २३ जना सम्पर्कमा नरहेका म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले जानकारी दिए।

उनका अनुसार वडा नम्बर ६ मराङमा २१ र ताकममा २ जना बेपत्ता भएका हुन्। त्यसैगरी मालिका गाउँपालिकामा ८ जना पहिरोमा र एकजना बाढीले बगाएर बेपत्ता भएका डिएसपी कुवँरले जानकारी दिए। 

बाग्लुङबाट विपद् व्यवस्थापन टोली, सशस्त्र, सेना, प्रहरी र जनप्रतिनिधि उद्दारका लागि गइरहेको भए पनि लगातारको वर्षाले बाढी र पहिरोका कारण समस्या भएको प्रहरीले जनाएको छ। 

सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गको लार्चामा पहिरो गएको छ। पहिरोमा परेर दुई जना बेपत्ता भएको स्थानीयले बताएका छन्।  लार्चाका अधिकांश नदी किनारका घरमा क्षति पुगेको छ। 

निरन्तरको वर्षा र भोटेकोशी नदीले दर्जनौ स्थानमा सडक कटान गरेकोले प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुग्न सकेको छैन। बिहीबारबाट सुरु भएको पहिरो जाने क्रम नरोकिएको भोटेकोशी गाँउपालिका अध्यक्ष राजकुमार पौडेल बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.