म्याग्दी : वर्षाका कारण विभिन्न स्थानहरुमा गरी ३२ जना बेपत्ता भएका छन् भने ३ जनाको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले दिएको पछिल्लो जानकारीअनुसार धौलागिरि गाउँपालिका ६ मराङमा २१,मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ दुखु खोलाले बगाएर एक जना महिला वेपत्ता हुनुभएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए।
यसैगरी, धौलागिरि गाउँपालिका ७ ताकमा पहिरोमा परी २ जनाको मृत्यु भएको उनले बताए। यता, रघुगंगा गाउँपालिका ६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको खोलाले बगाएर मृत्यु भएको छ।
पहिरोमा परी मराङमा २० घर, ताकममा ५ घर विममा १० घर पूर्णरुपमा क्षति पुगेको प्रशासनले जनाएको छ। राहत र उद्धारका लागि जिल्लाबाट सुरक्षाकर्मी सहितको टोली हिँडेको उनले जानकारी दिए। भौगोलिक अवस्थाका कारण उद्धारमा ढिलाई भएको छ। पहिरोमा परी घाइते भएकाहरूलाई उद्धार गर्न हेलीकप्टरको साहयता माग गरिएको सहायक प्रजिअ सुवेदीले बताए।
सहायक प्रजिअ सुवेदीका अनुसार मराङमा रिखका भिमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना बेपत्ता भएका हुन्। सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। ताजिमा केसी, उनका छोरा प्रकाश र सबिन पुन वेपत्ता भएका हुन्। परदेवी पुन र वीरबहादुर पुनको घर पनि बाढीले बगाएको छ। परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ।
यसैगरी मालिका गाउँपालिका–७ बिमको दुलेमा पहिरोले पुरिँदा बिष्णु शर्मा र इच्छा शर्मा वेपत्ता भएका छन्। वडा अध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलीसा शर्मा पनि पहिरोमा वेपत्ता भएकी छिन्। नौमानेको शिव आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ।
बिम तल्लो गाउका पूर्ण नेपाली र वीरबहादुर नेपालीको घर पुरिदा पाँच जना वेपत्ता भएका छन्। भारवाङस्थित शिवरात्रि खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताए। मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढा लगायत चार वटा गोठ पुरिएको र छ घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ।
विपद व्यवस्थापन तथा राहत र उद्धारका लागि जिल्लामा रहेका सवै सुरक्षा निकायलाई उच्च सर्तकतामा राखिएको छ।
ठाडाखानीको लापु खोलाले बगाएर एकको मृत्यु
त्यसैगरी रघुगंगा गाउँपालिका ६ ठाडाखानीमा गोठमा जाँदै गरेका एक पुरुषलाई खोलाले बगाएर मृत्यु भएको छ। ठाडाखानी गाउँबाट गोठतर्फ जाँदै गरेका ५० वर्षीय ललिमान छन्त्याललाई आज बिहान खोलाले बगाएर मृत्यु भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भववहादुर भण्डारीले जानकारी दिए। छन्त्यालको शव भेटिएको छ।
ठाडोखोलामा तर्ने क्रममा चिप्लिएर बेपत्ता भएको स्थानीयको भनाइ छ। बेपत्ता छन्त्यालको शव भेटिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी अन्त्येष्टि गरिने अध्यक्ष भण्डारीले बताए।
कुइनेमा दुई घर विस्थापित
यसैगरी रघुगंगा गाउँपालिका-८ कुइनेमा पनि पहिरोका कारण दुई घर विस्थापित भएका छन्। स्थानीय अमर छन्त्यालका अनुसार मनबहादुर छन्त्याल र नरेश छन्त्यालको घर पुरिएको छ भने कर्मन छन्त्याल,पदम छन्त्याल,मिम छन्त्याल,यमया छन्त्याल र भविलाल विकको खेत र खेलकुद मैदानमा क्षति पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।