रोजीरोटी मेटिएपछि निराश छन् भरिया र मजदुर

|

काठमाडौंः बौद्ध गेटको सडक पेटीमा बिहानदेखि बेलुका एउटा अनुहार निराश मुद्रामा भेटिन्छन्। उनी बौद्ध घुम्न आउने पर्यटक होइनन्। मन्त्र पढ्न बसेका  भिक्षु पनि होइनन्। हरेक दिन भारी बोकेर जिविकोपार्जन गर्ने भरिया हुन्। नागरिकतामा उनको नाम हो, धनवीर तामाङ।  बौद्ध क्षेत्रमा वर्षौं देखि भरिया जीवन बाँचेका  धनवीरलाई यस क्षेत्रमा नचिन्ने सायदै कोही होलान्। भारी बोकेर जसोतसो जीवन बिताइरहेका धनवीरको जीवनमा कोरोनाले सकसपूर्ण बनेको छ। 

 बुधबार बौद्ध गेटमै बसिरहेका उनले भावुक हुँदै भने, 'कोरोनाले गर्दा भारी बोक्ने काम पनि पाउन मुस्किल भएको छ। जीवन पीडामाथि पिडा छ।' 

रामेछाप घर भएका उनी अहिले बौद्ध सिद्धार्थ हलमा बस्छन्। नजिकै भएकाले केही काम पाइन्छ कि भन्दै उनी उज्यालो नहुँदै झिसमिसमा बौद्ध पुग्‍छन्। तर, लकडाउनले काम नै पाउन छोडेपछि बसेर दिन बिताउनुबाहेक अरू विकल्प रहेन उनलाई। मलीन स्वरमा भन्छन्,‘काम पाइन्छ कि भनेर बिहानै बौद्धसम्म आउँछु। तर, काम नै पाइँदैन।’

सायद,विदेशीको झोला बोक्ने झल्कोले होला। उनी बौद्ध गेटमा बसिरहेका बेला अहिले पनि गेटबाट विदेशी पर्यटकले झोला बोक्दै आउँछन् कि भन्दै हेर्छन्। कहिले झस्किन्छन्। लकडाउनले विदेशी पर्यटक नै बौद्धमा आउन पाएका छैनन्। कसरी झोला नि देखिन्छ भन्दै मनमनै ती झल्को मेटाउँछन्। शान्त भएर बस्छन्। लकडाउन खुकुले भए पनि काम नपाएको उनले दुखेसो पोखे। ‘तरकारी खान पैसा हुन्छ भनेर आउँछु,’उनले भने,‘लकडाउन खुकुलो भए पनि त्यो पनि हुँदैन।’

परिवार पाल्नकै चिन्ता

अहिले उनको परिवारमा चार जना छन्। छोराले १२ पढेर छाडे। छोरी १२ मा पढ्दै छन। काम नपाएपछि उनलाई चिन्ता छ,‘एक रुपैयाँको पनि काम हुँदैन। यसरी कसरी परिवार पाल्ने? यस्तै हो भने कसरी छोरीलाई पढाउने?’ उनका छोरीले लकडाउन अघि होटलमा कुक काम गर्थे। थोरै भएपनि परिवार धान्न धनवीरलाई राहत मिलेको थियो। तर, लकडाउनले सबै होटल बन्द भएपछि छोरी पनि अहिले कामविहिन छिन।

‘चैतदेखि कोठाभाडा तिरेको छैन। अब कसरी रासन पानी जोहो गर्ने।  यही चिन्ताले राति निद्रा लाग्दैन’, उनको स्वर मलीन सुनियो।  निद्रा नलागे पनि बिहानै उठेर बौद्धमा आउनुपर्ने उनको बाध्यता त छँदैछ। 

१९ वर्षदेखि भरिया काम
कुनैबेला उनी गलैँचा बुन्ने काम गर्थे।  बिहे गरेलगत्तै ती गलैँचा कारखाना हट्यो। त्यसपछि अरूको भारी बोक्ने भरिया काम गरे। यसमा पनि पर्याप्त काम नपाएकाले भने जस्तै कमाई भएन। त्यसपछि भरिया पेसा छोडे। उनी विदेश जाने सोच बनाए। नभन्दै उनी २०७१ सालमा कतार गए। राम्रै काम पाउँछु होला भन्ने सोच लिएर विदेश हुइँकिएका उनी अन्तत: धुलोका कणहरु भएको ठाउँमा काम गर्नुपर्ने भयो।

‘धुलैधुलोमा काम गर्दागर्दै धुलोले मलाई असर गरेछ,’उनले ती दिन सम्झिए,‘घाँटी दुख्ने, खोकी लाग्ने जस्ता रोगले सताउँदै गयो। त्यसैले काम छोडेर नेपाल फर्किए।’ कतार गएको १२ महिनामै नेपाल फर्किए उनी। फेरी यही भरिया पेसामा उनले हात हाले। हाँस्दै भन्छन्,‘थाहै नपाईं अरूको भारी बोक्ने भरिया काम गरेको १९ वर्ष भएछ।’

कोरोनाले रोजीरोटी खोसियो  
लकडाउन अघिसम्म उनले थोरै भएपनि काम पाइरहेका थिए। जसोतसो परिवार पाल्न सकेका थिए। जब कोरोना महामारी आयो। लकडाउन भयो। धनवीरले भारी बोक्ने काम नै पाउन छाडेपछि सबै उनको रोजीरोटी खोसियो। ‘लकडाउन अघिसम्म भारी बोक्ने काम पाइएको थियो,’ उनले भने,‘बढी विदेशी पर्यटकको झोलाहरु बोक्न पाइन्थ्यो। अहिले कोरोनाको जताततै त्रास छ। काम दिँदैन। केही भारी बोक्न परे अनलाइनबाटै गाडीको व्यवस्था गर्छन्। हामी त यहाँ आएर बस्ने मात्रै अहिले काम भएको छ।’

उनी जस्तै बौद्धमा भेटिएका अर्का ओखलढुंगाका भरिया कृष्ण कार्कीको पनि त्यही समस्या छ। काम पाउन सकेका छैन। ‘अहिले कोरोना महामारी छ,’उनले भने,‘काम नै पाइँदैन। कहिले दुई सय कमाइन्छ। कहिले खाली हात टकटक्याउँदै कोठा जानुपर्छ।’ उनले काम नपाएको कारण घरबेटीले दबाब दिए पनि चार महिनादेखि कोठा भाडा तिर्न नसकेको सुनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.