|

पर्वत : पर्वतको महाशीला गाउँपालिकाले पालिकाभित्रका प्रत्येक घरमा होमियोपेथी औषधि निःशुल्क वितरण गरेको छ। देशमा कोभिड १९ (कोरोना भाइरस) को संक्रमण जारी रहेको अवस्थामा आफ्ना क्षेत्रका नागरिकलाई यसको संक्रमण हुन नदिन हरेक घरमा ‘आर्सेनिक एएलबी–थर्टी’ नामक औषधि वितरण गरिएको गाउँपालिकाका प्रमुख राजु पौडेलले बताए।

महाशीला गाउँपालिका ४ पाखापानी घर भई कास्की पोखरास्थित रामबजारमा किरण होमियो फार्मेसीका सञ्चालक किरण गुरुङको सहयोग, तमु पेलु सङ्घ केन्द्रीय समितिको समन्वय तथा मिलन फाउन्डेसन नेपाल र पाइला फिल्मस् प्रालिको ब्यानरमा बनेको गुरुङ चलचित्र ङहेल्स्यो (सैना) को निर्माण युनिटको सहकार्यमा औषधि बाँडिएको हो।

औषधि वितरणका लागि कार्ययोजना तयार पारेर टोल विकास संस्थाका अध्यक्ष तथा महिला स्वास्थ्य स्वयंसेविकामार्फत बाँड्ने काम भइरहेको छ। सुरुमा वडा नं. ३ बालाकोट र वडा नं. ५ लुँखुमा बाँडिएको छ भने अन्य वडाहरूमा पनि बाँड्ने काम भइरहेको छ। 

महाशीला गाउँपालिकामा रहेको २२ सय ६० घरमा झन्डै ११ हजार जनसंख्या छ। ती सबैलाई पुग्ने गरी औषधि वितरण गर्ने गाउँपालिकाको तयारी छ।

कसरी खाने ?

यो औषधि ३ दिनसम्म बिहान र बेलुका २÷२ गोली खाली पेटमा चुसेर खानुपर्ने तथा त्यसपछि हप्तामा एक पटक गरी ३ हप्तासम्म ३ गोली खानुपर्ने गरी अल नेपाल होमियोपेथी एसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष डा. विष्णु चापागाईँ र उपाध्यक्ष डा. दिलीप पाण्डेले जानकारी दिए। 

पोखरामा एक कार्यक्रमको आयोजना गरेर औषधि सेवनबारे सिकाएपछि सोही अनुसार खाने गरी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उचैले बताए। उनका अनुसार ३ देखि १२ वर्ष उमेर भएकाले ३ दिनसम्म बिहान र बेलुका खाली पेटमा १/१ गोली र त्यसपछि ३ हप्तासम्म हप्ताको एउटा गोलीका दरले ३ पटक खान भनिएको छ।

२ वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती महिला र सिकिस्त बिरामीहरूलाई भने औषधि खानका लागि सिफारिस गरिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.