|

डोल्पा : हिमाली जिल्ला डोल्पामा निर्माणाधीन शौचालय सेकेन्डमै खण्डहरमा परिणत भएको छ। ठूलिभेरी नगरपालिका–३ दुनेमा पर्ने नयाँ कारागार भवन नजिकै बन्न लागेको सार्वजानिक शौचालयको निर्माण कार्य सम्पन्न हुनुअगावै भत्किएको हो।

उक्त शौचालय कर्णाली प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट डिभिजन वन कार्यालयमा आएको बजेटबाट निर्माण हुन लागेको हो। ‘शौचालयको निर्माण कार्य सम्पन्न हुन दुई दिन मात्र बाँकी थियो, अरु बाहिरी संरचना निर्माण पूरा भइसकेको थियो, कामगर्दा गर्दै दिउँसो बाह्र बजेतिर भत्कियो’, कामको जिम्मा लिएका रुकुम आठबिसकोट नगरपालिका १४ का नरबहादुर मल्लले भने।

‘उपभोक्ता समितिबाट १० लाखमा जिम्मा लिएका हौँ, कार्यालयका प्राविधिकले भने अनुसार नै काम गरेका हौँ, कसरी भत्कियो हामीलाई थाहा छैन।’ ‘सबै गरेर नौ लाख बराबरको काम गरिसकेका छौँ, दुई लाख मात्र पेस्की लिएका थियौं, एक दुई दिनमै काम सम्पन्न गरेर अन्तिम भुक्तानी लिने सोच बनाएका थियौँ, गड्याङगुडुङ भत्कियो’, उनले थपे।

पेस्की दुई लाखबाहेक सबै लगानी आफूहरूले गरेकाले बाँकी रकम बिनाझन्झट पाउने पर्ने उनको तर्क छ। शौचालयको कुल बजेट १५ लाख रुपैयाँ भएको र यसको २० प्रतिशत मात्रै पेस्की दिइएको डिभिजन वन कार्यालयका प्रमुख जितेन्द्र महतले जानकारी दिए। भवन कसरी भत्क्यो भन्ने विषयमा प्राविधिकलाई बुझ्नुपर्ने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.