दमक (झापा) : तीन दिन यता लगातार परिरहेको झरीका कारण झापाका खोला-नदीहरूमा पानीको सतह बढ्न थालेको छ। पानीको सतह बढेपछि केही स्थानका सर्वसाधारण विस्थापित भएका छन्।
झापाका कन्काई, विरीङ्, मेची, रतुवा र निन्दा नदीले बर्खायाममा निकै क्षति पुर्याउने गर्छन्। यस्तै, पश्चिमी सिमानामा रहेको मावा खोलाको कटानका कारण समेत क्षति पुग्ने गरेको छ। यस वर्ष वर्षा शुरुवात भएलगत्तै डुबान र कटानबाट क्षति हुन थालिसकेको छ।
शिवसताक्षी नगरपालिकाको वडा नं. ८ को सुकुमबासी बस्तीका १२ परिवार विस्थापित भइसकेका छन्। तीन परिवारको घर पनि कटान सुरू भएपछि उनीहरूलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिएका छन्। यस्तै मेचीनगर-७ मा पनि निन्दा खोलाले मलामी विश्राम स्थल कटान थालेको छ।
यी हुन् जोखिम क्षेत्र
जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वपश्चिम राजमार्ग दक्षिणका अधिकांश क्षेत्रलाई उच्च जोखिमको सुचीमा राखेको छ। जस अनुसार कचनकवल, बाह्रदशी, गौरीगन्ज र झापा गाउँपालिका जिल्लाका सबैभन्दा धेरै जोखिम रहेका क्षेत्र हुन्।
विपद् व्यवस्थापन समितिका सदस्य समेत रहेका नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार यी चार स्थानीय तहसँगै गौरादह, शिवसतासी, भद्रपुर नगरपालिका र कमल गाउँपालिकाको आधा भाग पनि उच्च जोखिमयुक्त क्षेत्र हो।
झापामा जोखिम मापनका लागि कन्काई नदीको पानीको बहावलाई विश्लेषण गर्ने गरिएको छ। मैनाचुलीमा रहेको बहाव मापन केन्द्रमा ३.७ पुगेपछि उच्च सतर्कताको अवस्थाको रुपमा लिने गरिन्छ। यस्तै, ४.३ मिटर पानी पुगे पछि भने खतराको अवस्था मान्ने गरिएको छ।
यस स्थानमा शनिवार विहानपानीको बहाव भने २.३९४ मिटर रहेको रेडक्रसले जनाएको छ। तर निरन्तर पानी परि रहेकाले यो तह बढ्नसक्ने र तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय तहहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिले आह्वान गरेको छ।
जिम्मेवारी स्थानीय तहमा
विपद् व्यवस्थापनको मुख्य जिम्मेवारी स्थानीय सरकारको हो। विपद् व्यवस्थापन ऐनले हरेक स्थानीय तहले विपद् व्यवस्थापनको जिम्मेवारी लिनु पर्ने व्यवस्था गरेको छ।
जस अनुसार सबै स्थानीय तहलाई सतर्कता अपनाउन र सजगताका साथ उद्धार र राहतका लागि तयारी अवस्थामा रहन भनिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए। उनले भने, ‘हामीले सवै स्थानीय तहलाई वडा तह सम्म विपद् व्यवस्थापन समितिलाई उच्च सतर्कतामा राख्न भनेका छौं र जिल्ला स्तरमा सवै सुरक्षा निकाय, प्रशासन र संघ-संस्थाहरूबीच समन्वय गरेर जोखिमको विश्लेषण तथा आवश्यक तयारीको काम भई रहेको छ।’
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले झापाका सबैजसो स्थानीय तहमा बाढी, कटान र डुबानको जोखिम रहेको बताए। जोखिमयुक्त र सुरक्षित स्थानको पहिचान, विस्थापित भई हालेमा उनीहरूको उद्धार र बसोबासको व्यवस्था, प्रारम्भिक राहत तथा खाद्यान्न लगायतको तयारी गरिएको उनले जानकारी दिए।
के गर्दैछन् स्थानीय तह ?
सबैभन्दा बढी जोखिमयुक्त मध्येको गौरीगन्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले सवै वडामा जोखिममा रहेका परिवारको लगत लिने काम भएको र जोखिमको अवस्था आए उनीहरूलाई स्थानान्तरण गर्न सुरक्षित स्थान पनि पहिचान गरिएको बताए।
विगतमा वर्षेनी दर्जनौ परिवार विस्थापित हुँदै आएको वडा नं. १ का जोखिमयुक्त क्षेत्रमा जनप्रतिनिधि र कर्मचारी समेत परिचालन गरिएको उनले जनाए। यस्तै पश्चिमतर्फ रतुवा खोलाको बाढीको जोखिममा रहेका बस्तीमा पनि सतर्कता अपनाइएको उनले जनाएका छन्।
दमक नगरपालिकामा हालसम्म कटान र विस्थापन नभए पनि उच्च सतर्कता अपनाइएको नगरप्रमुख रोमनाथ ओलीले बताए। दमकमा रतुवा र मावा खोलाको बाढीले वडा नं.१, २ र ३ नम्बर वडामा बढि क्षति पुर्याउने गरेको छ। कमल गाउँपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले पनि विपद् व्यवस्थापन समितिको बैठक बसि आवश्यक तयारी पूरा गरिएको जनाएका छन्।
विगतबाट पाठ सिक्न आवश्यक
झापामा तीन वर्षअघि आएको बाढी हालसम्मकै विनाशकारी मानिन्छ। २०७४ सालमा आएको बाढीका कारण झापामा १६ जनाको मृत्यु भएको थियो भने ३ जना बेपत्ताको अवस्था अझै अज्ञात छ। रेडक्रस झापामा सभापति ढकाल झापामा एक दर्जनभन्दा बढी साना-ठुला खोलाहरूको जोखिम भएकाले विगतबाट पाठ सिकेर तयारी अवस्थामा रहन आवश्यक भएको बताउँछन्।
तीन वर्षअघि जिल्लाका ३५ हजार नागरिक विस्थापित भएकाले पनि झापा उच्च जोखिममा रहेको पुष्टि गर्दछ। त्यसैले हरेक स्थानीय तहले वडा र टोल सम्म विपद् व्यवस्थापनको सञ्जाल चुस्त बनाउन आवश्यक देखिएको उनको ठहर छ।
सबै स्थानीय तहहरूलाई कम्तिमा एक सय परिवारलाई पुग्ने गरि राहत, आवश्यक स्थानमा बाढी नियन्त्रणका लागि तार, जाली, बोरा लगायतका सामाग्री, कम्तिमा एउटा रबरबोट तयारी अवस्थामा राख्न आग्रह गरिएको उनले बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।