|

बैतडी : देशभर बाढी र पहिरोका कारण धनजनको क्षति भइरहेका बेला बैतडी पनि पहिरोको उच्च जोखिममा रहेको देखिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार ८ वटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन्। 

मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका हुन्। 

विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहसमेत जोखिममा रहेपनि ८ वटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।

अहिलेसम्म पहिरोले पुर्याएको क्षति, प्रकोपको स्तरीकरण र सम्भावित जोखिमको विश्लेषण गर्दा ८ वटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए। उनले भने, 'सुर्नया र पाटन बाहेक अरु स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन्, यी दुई स्थानीय तहमा पनि पहिरोको जोखिम कायमै छ।' 

जिल्लामा विभिन्न किसिमका प्रकोपहरूको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। उनले भने, 'गत वर्षहरूमा बाढी पहिरोले गराएको क्षती र अझै सम्भावना रहेको आधारमा उच्च जोखिममा राखिएको हो।'

जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर,गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, ल्वारीखेत र दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन्। यस्तै, पुर्चौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा छन्। 

मल्लादेहीको लामुनी पहिरोका कारण प्रत्येक बर्ष धनजनको क्षति हुने गरेको स्थानीय नरेन्द्र साउदले बताए। उनले भने, 'हरेक बर्ष पहिरो नियन्त्रण भनेर बजेट आउने गरेको भएपनि पहिरो नियन्त्रण हुन सकेको छैन।'

४ स्थानीय तहमा विपद् व्यवस्थापन योजना नै छैन

जिल्लाका ८ स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको भएपनि यहाँका स्थानीय तहमा अझै विपद् व्यवस्थापन योजना बनेका छैनन्। स्थानीय तहमा जनप्रतिनिधि आएको ३ वर्ष बढी भइसक्दा समेत विपद् व्यवस्थापन योजना नबन्दा विपदका बेला समस्या हुने गरेको छ।

प्रत्येक स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापन योजना हुनुपर्ने भएपनि बैतडीका ४ ओटा स्थानीय तहहरूले विपद् व्यवस्थापन योजना बनाउन नसकेका हुन् ।

जिल्लाको सुर्नया गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले अझै पनि विपद् व्यवस्थापन योजना बनाएका छैनन्। उनीहरूले कार्यविधि बनाएर काम गरिरहेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिकाले पनि योजना बनाएको भएपनि नगर सभाबाट पारित भने गर्न सकेको छैन्। चालु आर्थिक बर्षमा विपद् व्यवस्थापन योजना बनाएको नगरपालिकाले केही दिनमा पारित गर्ने तयारी गरेको नगरपालिकाका सूचना अधिकारी प्रबीन धानुकले बताए। 

स्थानीय तहहरूसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्को समयमा के गर्ने कसो गर्ने भन्ने अलमल हुने गरेको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए। उनले भने, 'विपद्का बेला व्यवस्थापन योजना नहुँदा विपद्मा परेका नागरिकलाई झन समस्या हुने गर्दछ।'

स्थानीय सरकारहरूसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्को समयमा राहत,उद्धार तथा अन्य कार्यहरू परिचालन गर्न समस्या हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। उनले भने, 'जिल्लाका प्रत्येक स्थानीय तहलाई विपद् व्यवस्थापन योजना बनाउन भनेका छौं।'

बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका गरि १० स्थानीय तह रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.